छाला रोग विशेषज्ञहरूको राष्ट्रिय सम्मेलन पोखरामा सुरु

समाधान संवाददाता २०८० चैत २३ गते १६:२७

पोखरा ।
छाला, यौन तथा कुष्ठरोगको विशेषज्ञहरुको सम्मेलन शुक्रबार पोखरामा सुरु भएको छ । पोखराका मेयर धनराज आचार्यले सम्मेलन उद्घाटन गरे ।


सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशेषज्ञ सहभागी छन् । नेपाल, भारत, बंगलादेश, साउदी अरब, पोल्यान्ड लगायत देशबाट झन्डै ३०० विशेषज्ञ सम्मेलनमा सहभागी भएको छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ समाज (सेडभेलोन) की केन्द्रीय अध्यक्ष प्राडा सरस्वती न्यौपानेले जानकारी दिइन् ।


सम्मेलनमा ४१ वो शोधपत्र, तथा विशेष वैज्ञानिकपत्र, ५ वटा कार्यपत्र १९ वटा पोस्टर प्रस्तुति हुने सम्मेलन आयोजक समितिका सचिव डा रमेश शर्माले बताए । सम्मेलमार्फत देश–विदेशमा छालारोग विशेषज्ञहरुबीच अन्तर्क्रिया तथा अन्वेषणलाई प्रोत्साहन गर्ने उद्देश्य राखिएको प्राडा न्यौपानेले जानकारी दिइन् । ‘सम्मेलन ज्ञानको आदानप्रदान र सम्पर्क तथा सम्बन्ध विस्तारको महत्वपूर्ण मञ्च हो,’ उनले भनिन् ।

Advertisement


सचिव डा शर्माका अनुसार छाला, यौन तथा कुष्ठरोगको पछिल्लो वस्तुस्थिति, उपचारका समस्या र उपायबारे सम्मेलनमा छलफल हुन्छ । यसले देशभरिका सम्पूर्ण छालारोग विशेषज्ञहरुलाई आफ्नो सीप र ज्ञान वृद्धि गर्ने अवसर प्राप्तमात्रै प्रदान नगरी पोखराको पर्यटन प्रवद्र्धनसमेत हुने डा शर्माले बताए ।


पोखरा सम्मेलन १८ औं संस्करण हो । डा अशोकुमार चौरसिया संयोजकत्वको आयोजक समितिले यसपालिको सम्मेलन पोखरामा आयोजना गरेको हो । प्रत्येक वर्ष सेडभेलोनले यस्ता सम्मेलन देशका विभिन्न सहरमा गर्दै आएको छ ।

Advertisement

सम्मेलनको एक प्रस्तुतिका क्रममा प्राडा द्वारिकाप्रसाद श्रेष्ठले नसर्ने रोगहरुको मात्रामा वृद्धि हुँदै गएको जानकारी गराएका थिए ।

भारतबाट आएका डा अन्कन गुप्ताले बायोलोजिक्स औषधि प्रयोगबारे प्रस्तुति दिए । महँगो र नेपालमा अप्राप्य उक्त औषधिको भने भारतमा प्रयोग हुँदै आएको छ । सम्मेलनकै क्रममा सौन्दर्य सम्बन्धी सीपमूलक तालिमसमेत राखिएको छ ।


उद्घाटनका अवसरमा सम्मेलन सफलताको शुभकामना दिँदै मेयर आचार्यले पर्यटन राजधानी पोखरामा हरेक पेसा, व्यवसायीहरुको सम्मेलन र भेला हुनुपर्ने बताए । उनले छालारोग विशेषज्ञहरुको पोखरा सम्मेलन भएकोमा खुसी प्रकट गरेका थिए ।

तपाईको प्रतिक्रिया