कविताः मदुस

त्रिवेणी २०८० चैत २३ गते १७:०८

जहाँ इतिहासले बोक्यायो गुन्योको न्यानो
जस्ताको सुरक्षा र सन्तानको चेतना
माया पोको पारेर, त्यही मदुसभित्र
आउँदैछु तिम्रो आँगन
जो दुनियाँको सपना हो
र,
मेरो फगत बाध्यता !

मलाई शंका छ,
कोखिलामा सातु च्यापी ल्याउने सुदामाजस्तै सखा
तिम्रो पिँढीमा भेटिएला?
द्रव्यको मगजले बनेका तिम्रा छिमेकी
गुरुप्रसादका पात्रजस्तै होलान् त?
वा,
भेटिएलान् तिम्रा बगैंचामा
लोलिता खोज्ने ‘बा’हरु

बस् मलाई डर छ,
मेरा पुस्तकालयका गुरुलाई धोका दिई
कतै म पो हिटम्यानको साक्षी बन्छु कि
कतै पानामाको नहरमा बजारिएका पदचापले
कुल्चेका पुतलीका बतिला
म आङमा भिरी हिँड्छु कि
वा, अरबका बादशाहका लघुताभासले
किनेका नीला आँखाको आँसु
मैले पिउनुपर्ने हो !
बस् मलाई डर छ

Advertisement

अन्तेवासीबाट अन्तै बस्ने बन्न पुगेका हामी
खासमा इतिहासका गल्ती रहेछौँ !
र प्रेमको भोका पनि
यो द्वन्द्वको रंगमैदानमा
इतिहासलाई बन्धक बनाई, हामी प्रेमी बन्दा रहेछौँ !
त्यसैले त,
पुस्तकालयमा भोटे ताल्चा लगाई,
नैतिकताको गान्धारी नयन बोकी
संसारको पशिनामा उब्जेको रोटी खान
तयार भएकोछु म
र,
तयार भएको छु
छिमेकको रगतमा बनेको महलमा सुत्न
साहारा र साभनाको लासमाथी ठडिएको समृद्धि सुम्सुमाउन

ए…
हरथोक बिर्साउने, सबथोकको तिलाञ्जलि दिलाउने
आखिर प्रेमले नै रहेछ !
त्यसैले पनि,
गुरुकुलदेखि गरिमासम्म
सबथोक सुम्पी नीलो आकाशलाई
माया पोको पारेर मदुसभित्र
आउँदैछु तिम्रो आँगन
जहाँ जीवन्त बस् ‘तिमी’ मात्र छ्यौ !

Advertisement

तपाईको प्रतिक्रिया