र्‍यान्डम रिडर्समा ज्ञानु अधिकारीको निबन्ध संग्रह ‘संवेदनाको समायोग’

नारीलाई आदर्शमा देवी र यथार्थमा दासी बनाउने समाज

समाधान संवाददाता २०८० चैत २४ गते १४:४२

पोखरा ।


साहित्यकार ज्ञानु अधिकारीको निबन्ध संग्रह ‘संवेदनाको समायोग’ को शनिवार पोखरामा चर्चा गरिएको छ । कार्यक्रममा साहित्यकार रीता अधिकारी ‘ऋतु’ ले ज्ञानुका निबन्धले विशेष गरी महिलाहरूलाई उत्प्रेरणा दिने धारणा राखिन् ।


‘क्षमता भएर पनि गृहिणी मात्र भएर खुम्चिन विवश महिलाहरू जो आफूलाई कमजोर ठानेर निश्चित परिधिभित्रको सुखसयलका नाममा आफ्ना पखेटा आफैँले काट्दै सोसाइटीमा कम र सोसल मिडियामा बढी समय बिताएका छन्, तिनलाई उत्प्रेरणा जगाउने निबन्ध कृतिमा छन्,’ ऋतुले भनिन्, ‘नारीलाई आदर्शमा देवी बनाउने र यथार्थमा दासी बनाउने परम्परा र सामाजिक सोचप्रतिको रोचक कटाक्ष निबन्धमा प्रस्तुत गरिएको छ ।’

Advertisement


नेपाली लेखक संघ, कास्कीकी अध्यक्षसमेत रहेकी अधिकारीले विचार, दर्शन र अनुभूतिको त्रिकोणात्मक संवेदना अँगालेर वैचारिक चिन्तन, निजात्मक शैली, काव्यात्मक भाषा र आत्मपरक तथा संस्मरणात्मक शैलीमा लेखिएका निबन्धहरू पढ्दा ठाउँ ठाउँमा आख्यान पढिरहे झैँ लाग्ने भनाइ राखिन् । संग्रहमा ७ खण्डमा ३७ ओटा निबन्ध सङ्गृहीत छन् ।


निबन्धकार ज्ञानुले अग्रज निबन्धकारहरूको निबन्ध उच्च बौद्धिकताले थिचिँदा उत्पन्न भएको निरसताबाट मुक्त भएर आफूले निबन्ध लेख्ने प्रयास गरेको भनाइ राखिन् । ‘साहित्यकार व्यक्ति मात्र होइन समष्टि हो, साहित्यकारले आफ्नो व्यक्तिगत कुरा मात्र होइन, समग्र समाजको व्यथा र अवस्था लेख्ने गर्छ ।’ निबन्धकार अधिकारीले भनिन्, ‘महिलालाई पितृसत्ताले अघि बढ्न बाधा उत्पन्न गरेको कुरालाई नकार्न सकिँदैन ।’

Advertisement


निबन्ध संग्रहलाई आफूले आफ्नो परीक्षाका रूपमा समेत लिएका उनकोे भनाइ थियो । आफू निकै सचेत र इमानदार भएर निबन्ध लेख्ने प्रयास गरेको बताउँदै उनले निबन्धमा उल्लेख भएका ‘अमूक’ पात्रलाई निबन्ध संग्रह कुरियर गरेरै पठाइदिएको अनुभव सुनाइन् । पद्मकन्या क्याम्पसमा प्राध्यापनरत अधिकारी समालोचकका रूपमा बढी परिचित छिन् । यसअघि उनका करिब १ दर्जन समालोचनाका कृति प्रकाशित छन् ।


आयोजक ¥यान्डम रिडर्स सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा सुरज पौडेल, हसिना बस्नेत, कृष्ण देवकोटा, डा. ईश्वरमणि अधिकारी, हिममाया पौडेललगायते टिप्पणी गरेका थिए । सचिव नेपालप्रकाश अधिकारीको सञ्चालनमा भएको कार्यक्रममा उपाध्यक्ष गौरी तमुले स्वागत गरेकी थिइन् । सोसाइटीले हरेक महिनाको अन्तिम शनिवार कुनै पुस्तक वा विषयमाथि परिचर्चा गर्दै आएको छ । विश्व पुस्तक दिवसका अवसरमा आगामी वैशाख ११ गते पोखरामै पुस्तक आदानप्रदान कार्यक्रम आयोजना गरिने भएको छ ।

तपाईको प्रतिक्रिया