‘मोटोखाना’ बाइक रेसमा ऋषभ र अनुष्का विजयी

समाधान संवाददाता २०८० चैत २५ गते १६:४९

पोखरा ।
मोटरसाइकल टुरिङ र रेसिङ अर्थात ट्रान्स–हिमालय एड्भेन्चर मुस्ताङको मुक्तिनाथ पुगेर पोखरा आएर समापन भएको छ । गत सोमबार काठमाडौंबाट प्रस्थान गरेका राइडरहरुको टोली पोखरा, बेनी हुँदै मुक्तिनाथ पुगेका थिए भने फेरि बेनी हुँदै पोखरा पुगेका हुन् ।


पोखरामा आयोजना भइरहेको मोटो इन्डुरो क्रस च्याम्पियनसिप २०२४ भ्रमण गरी सो राइड समापन गरियो । यो भन्दा पहिले मुक्तिनाथ नजिकै ३ हजार ५० मिटर उचाईमा रहेको सेल्फी डाँडामा राइडरहरुका बिच टाइम ट्रेल च्यालेन्ज ‘मोटोखाना’ बाइक रेस प्रतियोगिता समेत आयोजना गरिएको थियो । सो प्रतियोगितामा विजयी ऋषभ शर्मा र अनुष्का शर्मालाई पोखरामा पुरस्कृत गरिएको छ । त्यसैगरी सबै राइडरहरुलाई समेत प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्रदान गरियो ।


सो प्रतियोगितामा ऋषभ शर्मा र अनुष्का शर्माका साथै अपूर्व बैकडी, शान्त हरि आचार्य, सरोज महर्जन, सञ्जित राम श्रेष्ठ, रौनक अधिकारी, ईश्वर बल्लभ उप्रेती, दीपेन्द्रकुमार खड्का र सुनील श्रेष्ठ, सहभागी भएका थिए ।

Advertisement


उनीहरुलाई नेपाल अटोमोबाइल्स एसोसिएसन, मोटरसाइक्लिङ कमिसनका संयोजक अनिल बराल, गण्डकी अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष शिव श्रेष्ठ र मार्सल कमिसनका सदस्यद्वय प्रमोद श्रेष्ठ ‘गुफी’ र आशिष रौनियारबाट पुरस्कृत गरिएको छ ।


ट्रान्स–हिमालय एड्भेन्चर अन्तर्गत सेल्फी च्यालेञ्ज तथा सेफ राइडिङ र ट्यालेन्ट हन्ट सम्बन्धी विभिन्न क्रियाकलाप समेत आयोजना गरिएको छ । राइडरहरु एड्भेन्चर स्पोर्टस, टु ह्विल टुरिङ र सेफटी राइडिङ सम्बन्धी लाइभ स्ट्रिम, फोटोकथा, सेल्फी तथा भिडियो कन्टेस्ट, आर्टिकलसिप आदिमा सहभागी भएका छन् र विजेताहरुलाई केही समय पछि पुरस्कृत गरिने बताइएको छ ।

Advertisement


राष्ट्रिय खेलकुद परिषदले साहसिक खेलकुदमार्फत दिगो पर्यटन प्रवद्र्धनको हेतुले विगत लामो समयदेखि साहसिक खेलहरुलाई प्रवद्र्धन गर्दै आइरहेको सन्दर्भमा यस्ता गतिविधिले सरकारको दिगो लक्ष्य हासिल गर्न सघाउ पुर्‍याउने छ ।


माउन्टेन स्पोर्ट्स फेस्टिभल अन्तर्गत दिगो पर्यटनको लागि टु ह्विल टुरिङलाई प्रवर्धन गर्ने उद्देश्यका साथ साहसिक खेलकुदको रुपमा समेत यसलाई लिइएको छ । सेफ्टी राइडिङको सन्देश समेत फैलाउन सहयोग पुग्ने गरी सो राइड अन्तर्गत अन्य विभिन्न कार्यक्रम समेत आयोजना गरिएको छ ।


आगामी दिनमा समेत यस्ता कार्यक्रम आयोजना गर्दै जाने आयोजकको भनाइ छ । राष्ट्रिय खेलकद परिषद् र अन्तर्राष्ट्रिय मोटरसाइकल फेडरेसन (एफआइएम) को सहयोग तथा गण्डकी अटोमोबाइल्स एसोसिएसनको प्राविधिक सहयोगमा सो कार्यक्रम आयोजना भएको हो ।

तपाईको प्रतिक्रिया