टेनिसमा दर्शिललाई दोहोरो उपाधि

समाधान संवाददाता २०८० चैत २६ गते १६:४३

पोखरा ।


तेस्रो मनुश्री/भिग्नाजित जुनियर टेनिस प्रतियोगितामा दर्शिल श्रेष्ठले दोहोरो उपाधि जितेका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनमा आइतबार भएको फाइनलमा दर्शिलले यु १६ सिंगल्स र ओपन ब्वाइज डबल्सतर्फ गरी दुई उपाधि जितेका हुन् ।


उनले यु १६ सिंगल्सतर्फ सृजन भट्टराईलाई ६–२, ६–३ को सोझो सेटमा पराजित गरे भने ओपन डबल्सतर्फ साश्वत बज्राचार्यसँग जोडी बनाएका दर्शिलले स्पन्दन उदास र एड्रिन थापाको जोडीलाई फाइनलमा ६–२, ६–२ को सेटमा पराजित गरे ।

Advertisement


सिंगल्सतर्फ उपाधि जितेका दर्शिलले नगद २० हजार र उपविजेता सृजनले नगद १० हजारका साथमा मेडल तथा प्रमाणपत्र हात पारे । डबल्सतर्फ दर्शिल र शाश्वतको जोडीले नगद २० हजार र उपविजेता स्पन्दन र एड्रिनको जोडीको नगद १० हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरे ।


आइतबार भएको यु ८ ब्वाइज सिंगल्सको रोचक भिडन्तमा जिवाश भट्टराईले कायान चालिसेलाई सुपरटाइ ब्रेकमा ११–९, ६–१० र ११–९ ले पराजित गरी पहिलो हुन सफल भए ।

Advertisement

जिवाशले नगद ३ हजार र कायानले नगद १ हजार ५ सयका साथमा मेडल तथा प्रमाणपत्र हात पारे । यु ९ सिंगल्समा कायानलाई नै इभान भट्टराईले ४–२, ४–१ को सोझो सेटमा पराजित गरी नगद ३ हजारहात पार्दा कायानले नगद १ हजार ५ सयका साथमा मेडल तथा प्रमाणपत्र हात पारे ।


यु १४ गल्स सिंगल्समा शाल्भी शेरचनले सरिशा शेरचनलाई ६–१, ६–३ ले पराजित गर्दा ब्वाइज तर्फको फाइनलमा सन्दीप विकले दोजन गुरुङलाई ६–०, ६–४ को सोझो सृटमा पराजित गरे । प्रतियोगितामा पहिलो भएका खेलाडीले १५ हजार र दोस्रो हुनेले ७ हजार ५ सय नगदका साथमा मेडल र प्रमाणपत्र पाएका छन् । त्यस्तै यु १२ अन्तर्गत ब्वाइज सिंगल्समा विश्व विशेष डल्लाकोटीले अर्याशराज पौडेललाई ६–१, ६–४ ले पराजित गरे । विश्वले नगद १० हजार र अर्याशले ५ हजार प्राप्त गरेका छन् ।


विजेतालाई प्रतियोगिताका मुख्य प्रायोजक कुमार मोहनबहादुर शाही, उनकी नातिनी मनुश्री र नाती भिग्नाजित, प्रदेश टेनिस संघका अध्यक्ष विनोद कायस्थ, प्रतियोगिता संयोजक प्रिती बराल, कास्की टेनिसका कार्यवहाक अध्यक्ष राजकुमार गुरुङ, उपाध्यक्ष नवीन चालिसे, सचिव नवीन श्रेष्ठ लगायतले मेडल, नगद तथा प्रमाणपत्र वितरण गरेका थिए ।


प्रतियोगिता चैत २१ बाट सुरु भएको थियो । प्रतियोगितामा विभिन्न उमेर समूहमा करिब ७० खेलाडीले सहभागिता जनाएका थिए ।

तपाईको प्रतिक्रिया