कक्षामा सिद्धान्त, बारीमा प्रयोग

सुन्दरकुमार थकाली २०८१ वैशाख १२ गते १०:२०

जोमसोम ।
मुस्ताङमा कृषि विषय पठनपाठन गर्ने एकमात्र विद्यालय होः जनआदर्श अमरसिंह मावि । थासाङ गाउँपालिका वडा नम्बर २ मा पर्ने यो स्कुलका विद्यार्थीले सैद्धान्तिक शिक्षाका साथसाथै नियमित रुपमा कृषि सीपको व्यवहारिक अभ्यास गर्ने गर्छन् ।


२०१७ मा स्थापना भएको थासाङको जनआदर्श माध्यमिक विद्यालयले २०३९ मा माध्यमिक तहसम्मका कक्षा चलाउने अनुमति पायो । यो विद्यालयलाई मावि स्वीकृत गरिएसँगै अर्काे वर्षदेखि कृषिमा प्राविधिक धारतर्फको पढाइ सुरु गरिएको हो ।

माध्यमिक तहको कृषि विषय पढाउने जनआदर्शले २०७० देखि कक्षा १२ सम्म अध्यापन गर्न थालेको हो । स्कुलमा कक्षा १२ सम्म कृषि विषयको पठनपाठनका अलावा विद्यार्थीलाई आवासीय सुविधा दिएपछि जनआदर्शमा पढ्न जिल्ला र जिल्ला बाहिरका उल्लेख्य विद्यार्थी आएका छन् । यो विद्यालयबाट उच्च शिक्षा प्राप्त गरेका धेरैजसो विद्यार्थी अहिले कृषि विज्ञ, प्राविधिक र व्यावसायिक कृषि कर्ममा लागेका छन् ।

Advertisement


जनआदर्शमा कठिन परिस्थितिका बालबालिका कृषि शिक्षा प्राप्त गर्न आउने गरेको पाइएको छ । यो विद्यालयमा झन्डै डेढ दर्जन बढी जिल्लाका विद्यार्थी प्राविधिक शिक्षा पढिरहेका छन् । यहाँक विद्यार्थी कक्षागत रुपमा नियमित सैद्धान्तिक पढाइसँगै सामूहिक खेतीपातीसमेत लाग्छन् ।

मुस्ताङको जनआदर्श माविका विद्यार्थी कक्षामा सिद्धान्त सिक्छन्, सिद्धान्तलाई स्कुलकै खेतबारीमा प्रयोग गर्छन् र भविष्यमा कृषि उद्यमी/कृषि विज्ञ बन्ने सपना देख्छन्

Advertisement


स्कुलका कृषि प्राविधिक शिक्षकको निर्देशनमा विद्यार्थीले फलफूल तथा तरकारी लगाउने गरेका छन् । अरु बलाी लगाउने, पावर ट्रेलरबाट खेत जोत्ने र विद्यालयको स्वामित्वमा रहेको खेतबारी गोडमेल गर्ने अभ्यास यहाँ गराइन्छ । विभिन्न बाली नमूना परीक्षणका लागि विद्यालय हाताभित्रै कृषि ल्याब परीक्षणको सिकाइसमेत उपलब्ध गराउने गरिएको छ ।


विद्यार्थीलाई फिल्डमै लगेर कृषि तालिम दिने गरिएको छ । यसले विद्यार्थीको सिकाइ उपलब्धिका साथै कृषि कर्म गर्न र विद्यार्थीलाई नियमित कामकाजका लागि क्रियाशील राख्न सहयोग गरेको विद्यालयले जनाएको छ । विद्यालयमा कापी, कलम र किताब लिएर कृषि शिक्षा पढ्न आएका जनआदर्शका विद्यार्थीमा व्यवहारिक शिक्षाको अभ्यासका लागि हात हातमा कुटो, कोदालो, डोको, नाम्लो र कृषि उपकरण पनि हुन्छ ।


उनीहरु खेत खनजोत, गोडमेल र मल ओसार्ने काम पनि गर्छन् । नेपाल कृषिप्रधान देश भएकाले कृषि क्षेत्रलाई बलियो बनाउन कृषि पढेर कृषि उद्यमी बन्ने धोको रहेको विद्यार्थी सचिन विकले सुनाए । उनले विद्यालयले दिने कृषि शिक्षाको सीप लिएर गाउँठाउँमा गएर कृषि गरी जीविकोपार्जन गर्ने योजना सुनाए ।


यहाँ पढेर सैद्धान्तिक शिक्षाका साथै कुन बाली कसरी रोप्ने, कसरी भण्डारण गर्ने, रोग। संक्रमण कसरी रोक्ने लगायतका ज्ञान प्राप्त गरेको उनको भनाइ छ । विकले विद्यालयमा साथीहरुसँगै समूहमा काम गर्दा सजिलो र रमाइलो हुने अनुभूतिसमेत साटे ।


मुस्ताङको जनआदर्श माध्यमिक विद्यालयमा पढेर आफूले कृषि शिक्षाका साथसाथै कृषि कर्मका सबै अभ्यास सिक्न पाउँदा निकै खुसी लागेको अर्की छात्राले बताइन् । उनले विद्यालयमा खाने, बस्ने र निःशुल्क शिक्षा प्राप्त गरी कृषि विषयको सैद्धान्तिक र व्यवहारिक सीप सिकिरहेको उल्लेख गरिन् ।


विद्यालयमा एक पटक पढ्ने र अर्काे पटक फिल्डमा अभ्यास गर्ने सिकाइले उत्साहित बनाएको उनले सुनाइन् । विद्यालयमा विभिन्न फलफूल तथा तरकारी प्रशोधन गर्ने र खेतीपातीको सिकाईले पढाइ सकेर आफूमा कृषि उद्यमी बन्ने रहर पलाएको उनको भनाइ छ ।


कृषि र पशुपालन व्यवयायको ठूलो सम्भावना रहेको हिमाली जिल्ला मुस्ताङमा दक्ष कृषि प्राविधिक नहुँदा यहाँका किसानले भरपर्दो रुपमा कृषि व्यवसाय सञ्चालन गर्नसमेत समस्या पर्ने गरेको छ । जिल्लाकै एकमात्र कृषि धारको जनआदर्श माध्यमिक विद्यालयले बर्सेनि कृषि जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान गर्दै आएको छ ।


वद्यालयका कक्षा ८ देखि कक्षा १२ सम्म कृषि धारतर्फ पढाउने ८ शिक्षक छन् । जनआर्दशमा २०७० देखि कक्षा १२ सम्मको कृषि प्राविधिक शिक्षा कार्यान्वयनमा आएको विद्यालयका कृषि प्राविधिक धारतर्फका कोअर्डिनेटर प्रकाश भारतीले जानकारी दिए ।

यसअघि कक्षा १० पछि कृषि धारतर्फका विद्यार्थीलाई कक्षा ११ मा ३ महिना र कक्षा १२ मा ६ महिनामा कृषि अभ्यासका लागि फिल्ड प्रशिक्षण दिने गरेकोमा गत वर्षदेखि कक्षा ११ मा ३ सय घण्टा र कक्षा १२ मा ६ सय घण्टा नियमित फिल्ड सिकाइ हुने गरेको कोअर्डिनेटर भारतीको भनाइ छ ।


यहाँ पढाइ सकेर नयाँ कुरा सिक्न चाहने विद्यार्थीलाई अन्य कृषि फार्ममा विद्यालयले सिफारिस गर्ने गरेको छ । यहाँका विद्यार्थीलाई कृषिको सैद्धान्तिक शिक्षाका साथसाथै व्यवहारिक सीप दिलाउन फिल्ड अभ्यास गराउने र विभिन्न बालीको बिउँ उत्पादनका लागि ल्याब परीक्षणका गतिविधि पनि सिकाइने गरेको छ ।


कोअर्डिनेटर भारतीले पछिल्लो समय विदेश पलायन हुने युवा बढ्दै गएको चिन्ता व्यक्त गरे । उनले विदेश पलालयनलाई न्यूनीकरण गरी स्वदेशकै कृषि कर्मको प्रर्वद्धन गर्न विद्यालयले प्रवाह गर्ने कृषि शिक्षा महत्वपूर्ण र प्रभावकारी भएको दावी गरे ।


जनआदर्श माध्यमिक विद्यालयले ६२ जना विद्यार्थीलाई आवासीय सुविधा दिँदै आएको छ । जहाँ विद्यार्थी पढ्छन्, खेल्छन र नियमित कृषि कर्म सिकिरहेका हुन्छन् । कृषि धारतर्फको यस विद्यालयको स्वामित्वमा ६४ रोपनी जग्गा छ । जहाँ विद्यार्थीले नियमित खेतापाती गर्न सिक्ने गरेका छन् ।


जनआदर्श स्कुले आफ्नै स्वामित्वमा रहेको खेती योग्य जमिनमा टनेल बनाएर हरियो तरकारी उत्पादन गर्ने गरेको छ । यसका अलावा विद्यालयले विद्यार्थीकै श्रमदानबाट आलु, सिमी, बोडी, बन्दा, काउली, लसुन, प्याज लगायतका तरकारी र स्याउ लगायतका फलफूलसमेत उत्पादन गर्ने गरेको छ ।


विद्यालयमा खपत हुने तरकारी र फलफूल विद्यार्थीले नै उत्पादन गर्ने भएकाले छात्रावास खर्चमा समेत ठूलो सहुलियत हुने गरेको छ । चामलबाहेक तरकारी र फलफूल धेरैजसो स्कुलकै जग्गामा हुने उत्पादनले पुग्ने गरेको छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया