कुल गार्हस्थ उत्पादनमा गण्डकीको योगदान ९ प्रतिशत

जिडिपी वृद्धिदर सबैभन्दा धेरै गण्डकीमा ४ दशमलव ५५ र लुम्बिनीमा ४ दशमलव ०५ प्रतिशत बराबर रहने अनुमान

समाधान संवाददाता २०८१ जेठ ११ गते १२:०५


पोखरा ।
देशको कुल गार्हस्थ उत्पादनमा गण्डकी प्रदेशको योगदान ९ दशमलव शून्य ६ प्रतिशत रहने देखिएको छ । गत आर्थिक वर्ष र चालु आर्थिक वर्ष दुवैमा गण्डकीको योगदान समान रहने राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।

Advertisement


कार्यालयले बुधबार पोखरामा प्रादेशिक कुल ग्रार्हस्थ उत्पादन अनुमान सार्वजनिक गर्दै यस्तो जनाएको हो । तथ्यांक अधिकृत शिव श्रेष्ठले गण्डकीको कुल ग्रार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा चालु आर्थिक वर्षमा ५ खर्ब १७ अर्ब रहने जानकारी दिए । अघिल्लो आर्थिक वर्षको चार खर्ब ८४ अर्ब हुने संशोधित अनुमान छ । चालु वर्ष राष्ट्रिय वार्षिक कुल गार्हस्थ उत्पादन ५७ खर्ब ५ अर्ब रहने अनुमान छ ।


कार्यालयका निर्देशक डा ज्ञानेन्द्र बज्राचार्यले गत वर्ष उत्पादनको वृद्धिदर ३ दशमलव ३ प्रतिशत र चालु वर्ष ४ दशमलव ५ प्रतिशत रहने तथ्याङ्क प्रस्तुत गरे । गण्डकीको कुल गार्हस्थ उत्पादनमा कृषि, वन र मत्स्य क्षेत्रको योगदान २५ दशमलव ७२ प्रतिशत देखिएको छ ।


कार्यालयको तथ्याङ्क तीनै तहका सरकारलाई योजना निर्माण, कार्यान्वयन र भावी रणनीति निर्माणमा सहयोग हुने निर्देशक बज्राचार्यको भनाइ छ । आगामी वर्ष देशको कुनै एक स्थानीय तहको कुल गार्हस्थ उत्पादन निकाल्ने र त्यसलाई अरु स्थानीयहरुले पनि अनुशरण गरी योजना निर्माण गर्न सक्ने उल्लेख गरे ।


चालु आर्थिक वर्ष र गत आर्थिक वर्ष दुवैमा प्रतिव्यक्ति कुल ग्राहस्थ उत्पादन सबैभन्दा बढी बागमती प्रदेशको रहने देखिएको छ । ०७९÷०८० को संशोधित प्रतिव्यक्ति कुल ग्राहस्थ उत्पादन बागमतीको २ हजार चार सय ८४ अमेरिकी डलर र यो आर्थिक वर्ष २ हजार चार सय ८५ डलर रहने अनुमान छ । सातै प्रदेशमध्ये मधेश प्रदेशको प्रतिव्यक्ति कुल ग्राहस्थ उत्पादन सबैभन्दा कम छ ।

Advertisement


अघिल्लो आर्थिक वर्षको संशोधित र चालु वर्ष दुवैमा गण्डकी प्रदेशको प्रतिव्यक्ति कुल ग्राहस्थ उत्पादन प्रदेशमा दोस्रो छ । गण्डकीमा गत वर्ष १ हजार ४ सय ८८ डलर रहने प्रारम्भिक अनुमान गरिएकोमा संशोधित अनुमान त्यसभन्दा बढी १ हजार ४ सय ९९ डलर हुने प्रक्षेपण छ । यो वर्ष गण्डकीमा प्रतिव्यक्ति कुल ग्राहस्थ उत्पादन १ हजार ५ सय ५७ डलर हुने कार्यालयको तथ्यांक छ ।


देशमा प्रदेशको योगदान हेर्दा बागमती प्रदेशको सबैभन्दा बढी र कर्णालीको सबैभन्दा कम देखिएको छ । चालु आर्थिक वर्षको मुलुकको कुल अर्थतन्त्रमा बागमती प्रदेशले सबैभन्दा बढी ३६ दशमलव ४ प्रतिशत योगदान गर्ने अनुमान गरिएको छ । कोशीको १५ दशमलव ८, लुम्बिनीको १४ दशमलव ३, मधेसको १३ दशमलव १ र सुदूरपश्चिम प्रदेशको ७ दशमलव १ प्रतिशत योगदान रहने अनुमान गरिएको छ ।


जिडिपीमा सबैभन्दा कम योगदान कर्णाली प्रदेशको करिब ४ दशमलव ३ प्रतिशत बराबरमात्रै रहने अनुमान तथ्यांक कार्यालयले गरेको छ । २०७९÷८० को संशोधित अनुमान बमोजिम कुल गार्हस्थ्य उत्पादनमा प्रादेशिक योगदान सीमान्त रूपमा परिवर्तन भएको छ । ‘गत वर्षको तुलनामा कूल गार्हस्थ्य उत्पादनमा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिमको योगदान सीमान्त रूपमा घटेको छ भने बाँकी प्रदेशको योगदान सीमान्त रूपमा बढेको छ’, तथ्यांक कार्यालयले भनेको छ ।


देशको शासन प्रणालीमा भएको परिवर्तन पछि प्रादेशिक तहमा भएको आर्थिक गतिविधिको मापन गर्न र प्रदेशमा देखिएका सामाजिक तथा आर्थिक विभेदलाई न्यून गर्न आवश्यक नीति निर्माणका लागि तथ्यांक कार्यालयले यस्तो तथ्याङ्क सार्वजनिक गर्दै आएको छ । अर्थतन्त्रको प्रादेशिक अनुमान प्रचलित मूल्य र स्थिर मूल्य दुवैमा मापन गरी सार्वजनिक गरिएको छ । प्रचलित मूल्यको कूल गार्हस्थ्य उत्पादनबाट अर्थतन्त्रको आकार अनुमान गरिन्छ भने स्थिर मूल्यको कुल गार्हस्थ्य उत्पादनबाट आर्थिक वृद्धिदर अनुमान गरिन्छ ।


प्रादेशिक कूल गार्हस्थ्य उत्पादनको वृद्धिदर सबैभन्दा धेरै गण्डकी प्रदेशमा चार दशमलव ५५ र लुम्बिनीमा चार दशमलव ०५ प्रतिशत बराबर रहने अनुमान गरिएको छ । उपभोक्ताको मूल्यमा राष्ट्रिय कुल गार्हस्थ्य उत्पादन वृद्धिदर ३ दशमलव ८७ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएकोमा गण्डकी, लुम्बिनी र बागमती प्रदेशको राष्ट्रिय वृद्धिदरभन्दा धेरै र बाँकी प्रदेशको राष्ट्रिय वृद्धिदरभन्दा थोरै हुने प्रारम्भिक अनुमान छ ।

तपाईको प्रतिक्रिया