लेखनाथमा सुरु भयो महोत्सव

समाधान संवाददाता २०८१ पुष १८ गते २०:२९

लेखनाथ । कास्कीको लेखनाथमा बिहीबारदेखि २० औं संस्करणको लेखनाथ महोत्सव सुरु भएको छ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा भएको महोत्सव गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे ।

Advertisement

‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र सम्मृद्धि’ भन्ने नाराका साथ भएको महोत्सवमा मुख्यमन्त्री पाण्डेले मेला, महोत्सवलाई पर्यटन र स्थानीय उत्पादनसँग जोड्नुपर्ने बताए । उनले स्थानीय क्षेत्रका आर्थिक गतिविधि बढाउन महोत्सवको योगदान महत्वपूर्ण रहने उल्लेख गर्दै पर्यटनलाई पनि सँगै समेटेर लानुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश धेरै पर्यटकीय सम्भावना बोकेको स्थल भएको जनाउँदै प्रदेशको समृद्धिका लागि स्थल र हवाइ सम्पर्क चुस्त हुनुपर्नेमा जोड दिए । यस क्षेत्रमा निर्माणधीन सडकहरु आगामी वर्षभित्र सम्पन्न भइसक्ने विश्वास व्यक्त गर्दै उनले त्यसपछि सडक मार्गबाट आवतजावत गर्न कुनै असुविधा नहुने जनाए ।

पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि सबै तहमा लबिइङ भइरहेको उनको भनाइ छ । मुख्यमन्त्री पाण्डेले विदेशी वस्तु ल्याउने र बेचेरमात्र आर्थिक अवस्थामा सुधार नआउने भएकाले अब उत्पादनतर्फ लाग्नैपर्नेमा जोड दिए ।

गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज आधिकारीले निजी क्षेत्रबाट ञ्ंचालन गरिएका यस प्रकारका मेला तथा महोत्सवले आर्थिक क्षेत्रलाई चलायमान बनाउँदै युवालाई स्वदेशमा नै केही गर्न सकिने सन्देश प्रवाह गर्ने जनाए । उनले सानो पुँजीले पनि केही गर्न सकिन्छ भन्ने भावनाले अगाडि बढ्ने हो भने राज्यको तर्फबाट पनि सहयोग हुने विश्वास दिलाए ।

Advertisement

पोखरा महानगरपालिकका प्रमुख धनराज आचार्यले यस प्रकारका मेला, महोत्सवले स्थानिय उत्पादनलाई प्रवद्धन गर्नेदेखि स्थानहरुको पहिचान स्थापिन गराउन पनि सहयोग पुगेको विचार राखे । कवि शिरोमणि लेखनाथको नामबाट परिचिय यस क्षेत्रको विकासका लागि साझा अवधारणको खाँचो उनले औल्याए ।

लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले संघले २०५८ देखि सुन्तला प्रदर्शनीबाट सुरु गरेको महोत्सवलाई समयानुकूल परिष्कृत गर्दै २० औं संस्करणसम्म आईपुगेको स्मरण गरे । उनले अनेक चुनौतीका बाबजुत पनि अवसरका रुपमा महोत्सव गर्दै आएको र यसले लेखनाथ क्षेत्रको पहिचान, त्यहाँ उत्पादीत वस्तुहरुको बजारीकरण र पर्यटन विकासमा समेत सहयोग पुगेको दाबी गरे ।

गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले बैंक तथा वित्तीय क्षेत्रमा देखिएको तरलतालाई लगानीको क्षेत्रमा बढावा दिनका लागि राज्यले लगानीमैत्री वातावरण सृजना गर्ने कार्ययोजना ल्याउन लागेको बताए । राष्ट्रिय बाणिज्य बैंकका उपकार्यकारी अधिकृत विमल डंगोलले महोत्सवले लिएको नाराले आर्थिक तथा सामाजिक क्षेत्रको विकासमा सहयोग पुग्ने धारणा राखे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य ताराबहादुर कार्की, म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष सुमित श्रेष्ठ, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक विश्वप्रकाश लामिछाने, झाँकी ¥याली व्यवस्थापन उपसमिति संयोजक बुद्धिकुमारी थापामगर, संघका उपमहासचिव भरतराज ओझा, महासचिव जानुका पराजुली अधिकारी र वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले बोलेका थिए ।

माघ १ गतेसम्म चल्ने महोत्सवले स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन, आवश्यक ज्ञान, सीप, उद्यमशीलता र प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा अन्तराष्ट्रिय मुलुकहरुमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ । महोत्सव ३ सय ३६ स्टल छन् ।

तपाईको प्रतिक्रिया