
जोमसोम । मुस्ताङको घरपझोङ गाउँपालिका ३ स्याङ गाउँमा उन्नत जर्सी जातको गाईपालन व्यवसाय फस्टाउँदै जान थालेको छ । उन्नत गाईको दूधबाट मनग्ये आम्दानीका साथै किसानको फलफूल तथा तरकारी बगैँचामा गोबरबाट बनेको मल प्रयोग गर्नका लागि उन्नत जर्सी गाईपालन व्यवसाय अपनाइएको हो ।
डेढ दशकअघि मुस्ताङको जोमसोम लगायत आसपासका पर्यटकीय गाउँका होटल तथा रेष्टुरेन्टले सहरिया सिलबन्द गरिएका पाउडरको दूध प्रयोग गर्ने गर्थे । जब मुस्ताङको स्याङ गाउँबाट उन्नत जर्सी गाईपालन सुरु भयो त्यसपछि भने यहाँ प्रयोग गरिने प्याकेटका पाउडरको दूध विस्थापित हुँदै जान थालेको स्थानीय बताउँछन् ।
अहिले मुस्ताङमा बजारिया पाउडर दूध ९० प्रतिशत विस्थापित भइसकेको घरपझोङ ३ का वडाध्यक्ष फलेन्द्रप्रसाद थकालीले जानकारी दिए । जिल्लामा पाउडरको दूध विस्थापित हुनुको मुख्य कारण स्याङ गाउँको उन्नत जर्सी गाईपालन हो । गाउँमा सुरुआती चरणमा थकालीले उन्नत जर्सी गाईपालन सुरु गरेका थिए ।
मुस्ताङमा स्याङ गाउँबाट सुरु भएको उन्नत गाईपालन ठिनी, मार्फा, टुकुचे र कागबेनीसम्म पुगेको छ
हिमाली क्षेत्रमा परीक्षणका रूपमा गाईपालन सुरु गरेको बताउँदै यो व्यवसाय प्रभावकारी देखिन थालेपछि स्याउ गाउँका अन्य किसानले पछ्याउन थालेका वडाध्यक्ष थकालीले उल्लेख गरे । स्याङ गाउँका वडाध्यक्षले तत्कालीन समयमा उन्नत जर्सी गाईपालन जिल्लामा भित्र्याएपछि त्यस बेला साविक पशुसेवा कार्यालय र साविक जिल्ला विकास कार्यालयले दूध उत्पादनलाई बढाउने तथा प्रवद्र्धन गर्ने उद्देश्यले उन्नत जर्सी गाईपालन खरिदका लागि अनुदानका कार्यक्रम ल्याएको स्मरण गरे ।
स्थानीय हिमाली लुलु गाईले भन्दा उन्नत जर्सी गाईले मनग्ये दूध दिने भएकाले मुस्ताङका किसान उन्नत जर्सी गाईपालनतर्फ आकर्षित हुन थालेका हुन् । ‘एक दशकअघि हिमाली उपआयोजनाले मुस्ताङमा उन्नत जर्सी गाईपालन कार्यक्रम ल्यायो । त्यस समय उक्त आयोजनाले जिल्लाका किसानलाई ८० प्रतिशत अनुदानमा उन्नत जर्सी गाईपालन गर्न प्रोत्साहित ग¥यो । त्यसपछि भने यहाँ उन्नत पालन व्यवसाय झाङ्गिँदै गएको हो’, उनी भन्छन् ।
स्याङ गाउँमा उन्नत गाईपालनसँगै मुस्ताङ डेरी उद्योगसमेत स्थापना भएको छ । सहकारीमार्फत अनुदान पाएका किसानले उन्नत गाईको दूध डेरी उद्योगमा लगेर बिक्री गर्न पाउने भएका छन् । कतिपय किसानले डेरीमा बिक्री नगरी मोटरसाइकलमार्फत घरघरमा पु¥याउने गर्छन् । स्याङमा अहिले ४० घरधुरीले १ सयभन्दा बढी उन्नत जर्सी गाईपालन गरेका वडाध्यक्ष थकालीले जानकारी दिए । उनी मुस्ताङमा उन्नत जर्सी गाईपालन गर्ने पहिलो व्यक्ति हुन् ।
वडाध्यक्ष थकालीले स्याङ गाउँ कृषिमा आधारित गाउँ भएकाले दूध बिक्री गर्न र गाईको मलमूत्र खेतबारीमा प्रयोग गर्न निकै सजिलो भएको सुनाए । स्याङ गाउँमा अहिले दैनिक चार सय लिटरभन्दा बढी दूध उत्पादन हुने गरेको छ ।
घरपझोङ ३ स्याङका स्थानीय निमा फन्चोक गुरुङले ४ उन्नत जर्सी गाईपालन गरेका छन् । दश वर्षअघि ११ वटा गाई र एउटा गोरुबाट पशुपालन व्यवसाय सुरु गरेका गुरुङले अहिले दूधको बजारमा प्रतिस्पर्धा भएको, पशु आहारा र घाँसको मूल्य वृद्धि भएकाले संख्या घटाएको बताए ।
दूधको मूल्य वृद्धि हुन नसकेको तर दाना र घाँसको मूल्य महँगो भएकाले कृषि प्रयोजनका लागि मात्रै गाईपालन गरिरहेको गुरुङ बताउँछन् । ‘पहिले दूध बिक्री गर्दा मनग्ये आम्दानी हुन्थ्यो, अहिले गाउँमा उत्पादन बढी हुँदा आम्दानीको स्रोत खुम्ँिचएको छ’, गुरुङले भने, ‘फलफूल बगैँचा र तरकारी बारीमा मल चाहिने भएकाले गाईपालनलाई निरन्तरता दिँदै आएको छु ।’ सुरुआती चरणमा ११ गाईबाट ३ सय लिटरभन्दा बढी दूध उत्पादन गर्ने गरेकामा अहिले दैनिक ४० लिटरमात्रै बिक्री भइरहेको उनी बताउँछन् ।
बर्खा याममा दूधको माग अत्यधिक हुने गरेको भए पनि किसानमा समन्वय नहुँदा मूल्य वृद्धि हुन नसकेको गाईपालक कृषक जीवन थकालीले सुनाए । मुस्ताङको स्याङ गाउँबाट सुरु भएको उन्नत गाईपालन अहिले फैलिँदै जिल्लाको ठिनी, मार्फा, टुकुचे र कागबेनीसम्म पुगेको छ ।
पर्यटकीय यामबाहेक हिउँदको तीन महिना उन्नत गाईको दूध बिक्री गर्न समस्या हुने गरेको किसान बताउँछन् । हिउँद याममा पर्यटकको उपस्थिति कम हुने र जिल्लाका नागरिक बेँसी झर्ने भएकाले दूधको खपत कम हुने गरेको किसानको भनाइ छ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
तपाईको प्रतिक्रिया