गण्डकी बोर्डिङमा योगसँगै संस्कारयुक्त शिक्षा

समाधान संवाददाता २०८२ जेठ १ गते १७:१६

गण्डकी आवासीय माध्यमिक विद्यालय (राष्ट्रिय विद्यालय), लामाचौरले नयाँ शैक्षिक सत्रसँगै आवासीय विद्यार्थीका लागि हरेक हप्ताको शनिबार योगाभ्यास सुरु गरेको छ ।

‘जीवन केवल किताबी ज्ञानमै सीमित हुनु हुँदैन । प्रयोगात्मक कार्यहरूले दैनिक जीवन सुखमय बनाउँछन् । ध्यान र योगले ज्ञानलाई विज्ञानसँग जोड्न सकिने हुँदा हाम्रो जीवन साँच्चिकै उत्तम बन्न सक्छ,’ भन्दै होस्टेल सुपरभाइजर राजकुमार ढकालले विद्यार्थीहरूलाई योगाभ्यासमा सहभागी हुन आग्रह गरे ।

ढकालका अनुसार ध्यान र योगले विद्यार्थीलाई सिर्जनात्मक र रचनात्मक क्रियाकलापमा सक्रिय गराउँछ । शरीरका बाह्य विकार साबुन–पानीले सफा गरेजस्तै, मनका विकार योगाभ्यासले हटाउँछ भन्ने धारणा पनि उनले व्यक्त गरे । होस्टेल नम्बर ६ का होस्टेल अभिभावक झलकनाथ आचार्यले गण्डकी विद्यालयले योगाभ्यासमार्फत संस्कारयुक्त शिक्षामा पनि जोड दिएको जानकारी दिए ।

Advertisement

विद्यालयमा छात्र र छात्रा गरी १० ओटा होस्टेलमा करिब ६५० विद्यार्थी आवासीय रूपमा बस्दै आएका छन् । हाल कक्षा ४ का बालबालिकाहरू बिहान पौने ६ बजेबाट घरायसी गतिविधि—जस्तै बिस्तारा मिलाउने, ड्रेसमा आइरन लगाउने, भित्री वस्त्र आफैँ धुने, जुत्ता पालिस गर्ने—आया दिदीहरूको सहयोगमा सिकिरहेका छन् ।
‘विगत ५७÷५८ वर्षदेखि यस्ता कार्यहरू हुँदै आएका हुन् तर आफ्ना सन्तानलाई आमाबाबुले आफैँ झोला बोकेर गेटमा छोड्ने चलनको विपरीत यी नानीहरू स्वावलम्बी बन्ने अभ्यासमा लागेका छन्,’ अभिभावकहरूले होस्टेल अभिभावकहरूलाई जानकारी गराएका छन् ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरूमा सुसंस्कारको विकास, बानी–व्यवहार तथा आचरणमा सुधार, मोबाइल र ल्यापटपजस्ता सामग्रीबाट टाढा रहने, अनुशासित र आत्मविश्वासी बन्ने उद्देश्यले विविध गतिविधि सञ्चालन हुँदै आएका छन् । गत शनिबार जीवन विज्ञान प्रशिक्षक सन्दीप थापा, महेन्द्र पौडेल, रामचन्द्र पौडेल र सुस्मिता पौडेलले आवासीय विद्यार्थीहरूलाई योग र ध्यानसम्बन्धी प्रशिक्षण दिएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया