प्रतिभामा विद्यार्थीले देखाए प्रतिभा

समाधान संवाददाता २०८२ साउन २९ गते १०:४७

पोखरा ।
प्रतिभा माविका कक्षा १ मा अध्ययनरत बालबालिकाले नेपालकै विविधता र एकताको सन्देश दिने विविध सिर्जनात्मक प्रस्तुति देखाएका छन् । विद्यालयमा भएको सिपिआरएस अन्तर्गतको आवर कम्युनिटी थिम सेलिब्रेसन कार्यक्रममा उनीहरुले विद्यालय, घर र बगैँचाभन्दा पर पूरै नेपाल र नेपाली समाजको बहुरंगी रुप स्टेजमा देखाए ।


कार्यक्रममा बालबालिकाले ¥याम्प वाकमार्फत आफ्नो परिचयसँगै हिमाल, पहाड र तराईका संस्कार, चाडपर्व, रीतिरिवाज तथा धर्म–संस्कृति झल्किने पोशाक, पेशा–व्यवसाय जनाउने गतिविधि र भावनात्मक प्रस्तुति दिए । विद्यालयका प्रधानाध्यापक किरण सापकोटाले ‘जग बलियो भए घर बलियो हुन्छ’ भन्ने सन्देशसहित विद्यालयमा शैक्षिक गतिविधि सञ्चालन गरिएको बताए ।


उनले विद्यालयमा गरिने विभिन्न क्रियाकलापले विद्यार्थीको व्यक्तित्व विकासमा पुर्‍याउने योगदानबारे चर्चा गरे । उनले भने, ‘यो कार्यक्रमले बालबालिकामा आफ्नै संस्कृति, पेशा र परम्पराप्रतिको जानकारी मात्र होइन, विविधतामा एकताको पाठ पनि सिकाएको छ ।’

Advertisement


विद्यालयकी मन्टेसरी ब्लक कोअर्डिनेटर निर्मला सुवेदीले प्रतिभा माध्यमिक विद्यालयले स्थापना भएदेखि नै शिक्षामा नयाँ आयाम थप्दै आएको बताइन् । यसै अन्तर्गत सञ्चालित प्रतिभा मन्टेसरीले बालबालिकाको चौतर्फी विकासलाई लक्षित गर्दै यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्दै आएको उनको भनाइ छ ।


कार्यक्रममा बालबालिकाले टोल भेला, हाट बजार र मोबाईल फोन विषयक नाटक, नेत्र चिकित्सक सन्दुक रूइतको प्रेरणादायी जीवनी वाचन, कवितावाचन, विद्यालयमा अध्यापन हुने दिनहरूको तुलना प्रस्तुति, नृत्य लगायतका प्रस्तुति राखे ।

Advertisement


कार्यक्रममा शिक्षकहरु सुस्मिता श्रेष्ठ, जमुना गिरी, कमला शर्मा, मिना रानाभाट, होलशोभा गुरुङ, पवित्रा पुन लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया