बन्दीपुरकाे केबुलकार स्टेसनमा ४ तारे होटल बन्ने

समाधान संवाददाता २०७६ पुष ७ गते १३:४८

कृष्ण न्यौपाने
दमौली

तनहुँको बन्दीपुर गाउँपालिकामा बनिरहेको केबुलकारको माथिल्लो स्टेसनमा स्तरीय होटल निर्माणका लागि सम्झौता भएको छ । ४ तारे होटल निर्माणका लागि आरकेडी रियल स्टेट एन्ड कन्स्ट्रक्सन लिमिटेडले काठमाडौंको चन्द्र निर्माण सेवासँग सम्झौता गरेको हो ।

२५ महिनाभित्र निर्माण सक्ने गरी सम्झौता भएको आरकेडी रियल स्टेट एन्ड कन्स्ट्रक्सन लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले बताए । होटल निर्माणका लागि ८० करोड लाग्ने अनुमान छ । कलात्मक शैलीमा निर्माण गरिने होटलको काम केही दिनभित्रै सुरु गरिने शर्माले जानकारी दिए ।

Advertisement

होटल निर्माणका लागि नेपाल एसबिआई बैंकसँग ऋण सम्झौतासमेत भइसकेको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट व्यावसायिक प्रमुख विनोद ढुंगेल र कम्पनीको तर्फबाट शर्माले हस्ताक्षर गरेका छन् । केबुलकार परियोजनाका लागि बैंकले ९७ करोड ऋण दिने सहमति भएको छ ।

केबुलकार परियोजनाको परामर्शदाताका रुपमा काठमाडौंको केज कन्सलट्यान्ट प्रालि, मेकानिकल परामर्शदाता भारतस्थित सिआरएस र ब्रिको इङ्ग्ल्यान्ड छन् । आरकेडी रियल स्टेट एन्ड कन्स्ट्रक्सन प्रालि, पञ्चासे केबुलकार एन्ड टुर्स प्रालि, टुरिजम इन्भेस्टमेन्ट फन्ड लिमिटेड, बन्दीपुर गाउँपालिका र स्थानीयको लगानीमा केबुलकार परियोजना निर्माण भइरहेको छ । लगानी गर्ने कम्पनी नेपाल र विदेशमा बस्ने नेपालीको कम्पनी हो । यसमा १ हजार १ सयभन्दा बढी लगानीकर्ता छन् ।

Advertisement

केबुलकारको माथिल्लो स्टेसनमा १० तले होटलसहितको भवन निर्माण गरिनेछ । उक्त भवनमा आधुनिक भ्यु टावर, बेनक्युट हल र ८० कोठा हुने छन् । ‘होटल निर्माणका लागि सम्झौता भएकाले अब यसलाई निर्माणको चरणमा लैजान्छौं,’ शर्माले भने । केबुलकार भने १ वर्षभित्र सञ्चालनमा ल्याउने गरी काम भएको छ । परियोजना अन्तर्गत अहिले बटम स्टेसनको काम चलिरहेको छ । बन्दीपुर गाउँपालिका ४ ठूल्ढुंगामा निर्माण भइरहेको बटम स्टेसन भवनको लागत १८ करोड ५५ लाख छ । बन्दीपुर पर्यटन पूर्वाधारयुक्त परियोजनाको कुल लागत १ अर्ब ५६ करोड छ ।

‘केबुलकार १ वर्षभित्रै सञ्चालनमा आउनेछ, अन्य संरचना पनि साढे २ वर्षभित्र सक्ने लक्ष्यसहित काम थालेका छौं,’ उनले भने । प्रारम्भमा ५६ करोड लागतमा केबुलकार बनाउने योजना रहेकोमा कम्पनीले केबुलकार प्रविधिलाई आधुनिक ‘मोनोकेबल डिटाचेबल प्यासेन्जर सिस्टम’ जडान गर्ने र सुरक्षाको पक्षलाई महत्व दिएर सुरक्षा उपकरण जडान गर्ने योजना थप गरेको थियो । साहासिक पर्यटनको मज्जा दिन बन्दीपुरदेखि छिम्केश्वरी फेदीसम्म माउन्टेन जंगल सफारी सेवा पनि सञ्चालन गर्ने कम्पनीको तयारी छ ।

कम्पनीले केबुलकार पूर्वाधार निर्माणका लागि आवश्यक पर्ने जग्गा प्रयोग गरेबापत जग्गाधनीलाई ४५ लाख बराबरको सेयर दिइसकेको छ । केबुलकार कम्पनीमा २ सय २५ जनाभन्दा बढी स्थानीयले सेयर हालिसकेका छन् । केबुलकार निर्माणका लागि बन्दीपुर गाउँपालिकाले ५० लाखको सेयर किनेको छ । ‘परियोजनामा सबै क्षेत्रको लगानी सुनिश्चित गर्नका लागि निजी, सामुदायिक, सहकारी, सरकारी र संस्थागत साझेदारी एवं व्यवस्थापनको मोडेलमा पुँजी निर्माण गरिनेछ,’ शर्माले भने ।

ठूल्ढुंगास्वाँराबाट बरालथोकसम्म जोडिने केबुलकारबाट घण्टामा २ सय जना वारपार गर्न सक्ने छन् । एसियाकै ठूलो दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा र प्राकृतिक दृश्यावलोकनका लागि उपयुक्त बन्दीपुर घुम्न आउने पर्यटकका लागि केबुलकार आकर्षणको केन्द्रविन्दु बन्ने विश्वास लिइएको छ । ठूल्ढुंगास्वाँराबाट सुरू हुने केबुलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ । केबलकारले १ किलोमिटर ६ सय मिटर यात्रा गर्नेछ ।

तनहुँको डुम्रे बजारदेखि बन्दीपुर पुग्न ७ किलोमिटरको उकालो बसमा करिब २० मिनेट लाग्छ । केबुलकार निर्माण भएपछि केबुलकारमा ९ मिनेटमा बन्दीपुर पुग्न सकिन्छ । केबुलकारमा २ वटा सामान बोक्नेसहित १७ वटा बाक्सा रहने छन् ।

तपाईको प्रतिक्रिया