आहा रारा फुटबलको सान

समाधान संवाददाता २०७६ फागुन २३ गते १३:००

सहारा क्लबको आयोजनामा बिहीबारदेखि पोखरा रंगशालामा आरा रारा गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । यो प्रतियोगिताको १८ संस्करणसम्म आइपुग्दा धेरै उतारचढाव आयोजकले व्यहोरेका छन् । यसपालि पनि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसले पनि प्रतियोगिताका लागि केही न केही व्यवधान खडा ग¥यो । तर नेपालमा कोरोना आइनसकेको परिस्थिति हेरी प्रतियोगिता बिहीबार सुरु भयो । यति नै खेर विश्वका ८० भन्दा ज्यादा मुलुकमा कोरोना भाइरस फैलिरहँदा बेलायत लगायत मुलुकमा फुटबल प्रतियोगिता जारी नै छन् ।

आरा रारा गोल्डकप फुटबल प्रतियोगिताको आयोजक सहारा क्लब भए पनि यो पोखराकै सान र गौरवको प्रतियोगिता भएको छ । नेपाली फुटबल जगतमा यति लामो शृंखलासम्म निरन्तर चलेका फुटबल प्रतियोगिता एक त कम छन् भने पुरस्कार राशि प्रथमलाई १० लाख भएका प्रतियोगिता पनि दुर्लभै छन् । मुलुककै प्रतिष्ठित फुटबल प्रतियोगितामा आहा रारा दर्ज भएको छ । यो पनि पोखरेलीका लागि गर्वको कुरा हो । गैरनाफामूलक विशुद्ध सामाजिक संस्था सहारा क्लबले यो प्रतियोगिताका अलावा फुटबलर विकास गर्न एकेडेमी नै चलाएको छ । प्रतियोगिताको आर्जन एकेडेमीमा खर्च हुँदै आएको छ । सबैभन्दा सुन्दर पक्ष त यो क्लबमा जति पनि आवद्ध छन्, सबै निस्वार्थ भावले सेवामा समर्पित छन् । आर्थिक गतिविधि सधैं पारदर्शी छ । त्यसैले नै प्रतियोगिताका लागि, एकेडेमीका लागि सहारा क्लबले मनकारीहरुबाट साथ पाउँदै आएको छ । पोखराले प्रतियोगिताको अपनत्व ग्रहण गर्नुको मुख्य कारण पनि त्यही नै हो ।

सामाजिक संस्थाको अभाव मुलुकमा छैन । तर निरन्तरताको अभाव सबै क्षेत्रमा छ । यो क्षेत्रमा पनि छ । त्यस मामलामा सहारा क्लबलाई तारिफ गर्नुपर्छ । सामाजिक क्षेत्रमा पनि थुप्रै विसंगति र विकृति छन्, त्यसभन्दा माथि छ यो क्लब । व्यक्तिगत प्रतिष्ठाको भर्‍याङ बनाउन सामाजिक संघसंस्थामा लाग्नेहरु धेरै छन् मुलुकमा । यो क्लबका आजसम्मका पदाधिकारी र सदस्यहरु त्यस्तो कर्ममा लागेको उदाहरण छैन । उनीहरु दिनरात खटिएका छन् त केवल सामाजिक भावनाका साथ । वास्तवमै सामाजिक सेवा कस्तो हुन्छ भनेर दिने उदाहरणको प्रतिनिधि क्लब सहारा भएको छ ।

Advertisement

पोखराले आज पोखराबाट माछापुच्छ्रे देखिन्छ भनेर मात्रै गर्व गर्दैन, फेवाताल हाम्रो हो भनेरमात्रै गर्व गर्दैनन् । पोखरेलीले सगर्व भन्न सक्ने भएका छन्, हाम्रो सहरमा सहारा क्लब पनि छ । राज्यस्तरबाट सञ्चालित हुनुपर्ने फुटबल एकेडेमी सहारा क्लबले चलाउँछ । वास्तवमा कुनै पनि सहर सभ्य र सुसंस्कृत हुनुका लागि सहाराले जस्तै सांस्कृतिक गतिविधि हुनुपर्छ । तब मात्रै सहर जीवन्त बन्छ । घनाबस्ती र सुविधासम्पन्न सडक तथा गगनचुम्बी भवनहरु सहरका वास्तविक परिचायक हुन सक्दैनन् । मानवीय गतिविधिको परिचयभन्दा अग्लो परिचय र पहिचान अनि प्रतिष्ठा गगनचुम्बी घरहरुले दिन सक्दैनन् । जुन पहिचान सहाराले फुटबलका माध्यमबाट पोखरालाई दिएको छ, त्यो वास्तवमै स्तुत्य छ । सलाम छ, सहाराका सबै स्वयंसेवीहरुलाई !

Advertisement

तपाईको प्रतिक्रिया