स्याङजाकी कोरोना संक्रमित महिलालाई पोखरा ल्याइयाे

समाधान संवाददाता २०७७ जेठ १५ गते १२:३०

अनुप पौडेल, पोखरा

स्याङजाका १ जना कोरोना संक्रमितलाई उपचारका लागि पोखरा ल्याइएको छ । वालिङका ५ जनामध्ये आज बिहान संक्रमण पुष्टि भएका ३९ वर्षीय महिलालाई पोखरा पठाइएको वालिङ नगरपालिका स्रोतले जानकारी दियो ।

स्याङजामा महिलाका लागि छुट्टै आइसोलेसन नभएकाले उनलाई पोखरा ल्याइएको हाे । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा अर्जुन आचार्यले आइसोलेसनमा ल्याइएको र उनको पोखरामै उपचार गरिने जनाए ।

Advertisement

स्याङजामा हालसम्म ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबै वालिङ नगरपालिकाका हुन् । ती पाँचै जना संक्रमितलाई नगरपालिकाले सुनौली नाकाबाट उद्धार गरेर आफ्नो क्वारेन्टाइनमा राखेको थियो । स्याङजामा भेटिएका संक्रमितमध्ये अरु सबै पुरुष हुन् । आज भेटिएका अन्य २ पुरुषलाई भने जिल्ला अस्पताल लगिएको छ।

आज संक्रमण पुष्टि भएका ३ जनालाई नगरपालिकालाई चैत १२ गते उद्धार गरेर वालिङ ल्याइ क्वारेन्टाइनमा राखेको थियो । स्याङजामा पहिलोपटक मंगलबार २ जना पुरुषमा कोरोना देखिएको थियो । उनीहरुको जिल्ला अस्पताल स्याङजाको आइसोलेसनमा उपचार भइरहेको छ ।

Advertisement

गण्डकीमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ । अहिलेसम्म स्याङ्जाका ५, बागलुङका ८, नवलपुरका ३ जनामा कोरोना देखिएको छ । १६ मध्ये बागलुङका १९ वर्षकी युवती र ६५ वर्षकी वृद्ध निको भएर चैत दोस्रो साता नै घर फर्किसकेका छन् ।

तपाईको प्रतिक्रिया