पोखरा महानगरमा कर्मचारी कै २ गुटकाकारण करोडौं नोक्शानी

समाधान संवाददाता २०७७ साउन ८ गते ८:३२

ईश्वर देवकोटा÷समाधान

पोखरा महानगरमा निजामति कर्मचारी र स्थानीय तहका कर्मचारीबीच मनमुटाव छ । महानगरमा राजस्व आम्दानीमा करोडौं रुपैयाको गडबडी र लापरवाही पनि यही कारणले भएको महानगरकै कर्मचारी बताउँछन् ।

२०७६ भदौ १५ सम्म महानगरको राजस्व प्रमुखको जिम्मेवारी छविलाल शर्माले पाएका थिए । शर्मा स्थानीय तहका कर्मचारी हुन् । भदौ १५ पछि सो शाखाको प्रमुखको जिम्मेवारी निजामति कर्मचारी गणेश पाण्डेलाई दिइएको छ । उनीहरुबीच मेलमिलाप कहिले भएन ।

Advertisement

घाटहरुको राजस्व नउठेको सवालमा आर्थिक प्रशासनबाटै तत्कालीन राजस्व प्रमुख छविलाल शर्मालाई नियमानुसार कारवाही गर्न माग भएको थियो । घाट सम्झौताअनुसारको राजस्व दाखिला गराउन नलगाइ ‘बद्नियत’ राखेकाले तत्कालीन राजस्व प्रमुख शर्मालाई कारवाही गर्न भन्दै महानगरका प्रमुख लेखा नियन्त्रक जयराम पौडेलले निवेदन दिएका थिए ।

रामघाटसहित अन्य घाटहरुको राजस्व उठाउन शर्माले समयमै पहल नगरेको, कार्यालयलाई जानकारी नदिएकोले कारवाही गर्न पौडेलले माग गरेका थिए । लेखा नियन्त्रक पौडेल निजामती कर्मचारी हुन् ।

Advertisement

राजस्व शाखाका कर्मचारी छविलाल शर्माले लेखाका पौडेल र राजस्व प्रमुख पाण्डे मिलेर आफूलाई फसाउन खोजेको दाबी गर्छन । ‘ठेक्का सम्झौता गर्दा म पनि साक्षी बसेको हुँ, जयराम पौडेल पनि साक्षी छन् । एउटा साक्षीले अर्को साक्षीलाई कारवाहीको निवेदन हाल्न मिल्छ र ’ उनले समाधानसँग भने, ‘त्यसो हो भने त मैले पनि निवदेन हाल्न सक्छु ।’

भदौ १५ यता गणेश पाण्डे राजस्व शाखा प्रमुख बनेपछि राजस्व उठाउने जिम्मेवारी आफूलाई नदिइएको शर्माले बताए । ‘राजस्व उठाउने जिम्मेवारी मलाई दिइएको थिएन, सबै फाइल पाण्डेसँगै थियो,’ उनले भने, ‘गल्ती आफ्नो भएपछि म माथि षडयन्त्र गरिएको हो ।’

राजस्व शाखा प्रमुख पाण्डेले भने आफूले ०७७ वैशाख ११ पछि मात्र राजस्व शाखा प्रमुखको जिम्मेवारी सम्हालेको समाधानलाई बताएका छन् । तर पाण्डेलाई भदौ १५ मै राजस्व शाखा प्रमुख तोकिएको पत्र समाधानलाई प्राप्त भएको छ ।


राजस्व शाखा प्रमुखमा गणेश पाण्डेलाई जिम्मेवारी दिइएको पत्र ।

कर्मचारीलाई कारवाही गर्ने सन्दर्भमा मेयर जिसीले प्रक्रियागत रुपमा अघि बढ्ने बताए । ‘गल्ती गरेका कर्मचारीलाई विभागीय कारवाही हुन्छ,’ मेयर जिसीले भने, ‘हामीले अध्ययन गरिसकेपछि अस्पष्ट लागेका कुराहरु सोध्नुपर्छ । कुनकुन समयमा कोको जिम्मेवार थिए, जानकारी लिन्छौं । त्यसपछि लिखित स्पष्टीकरण सोधिन्छ ।’

कर्मचारी शर्माको जवाफ आएपछि निचोडमा पुगेर मात्र कारवाहीको प्रक्रिया थाल्ने मेयर जिसीले बताए । राजस्व नउठ्नुमा समग्र संस्थाकै कमजोरी भएको मेयर बताउँछन् । ‘महानगरमा जसले जे गल्ती गरे पनि अन्तिममा जिम्मा लिने प्रमुखकै दायित्व हुन्छ । त्यस्तै झैं राजस्वमा जो प्रमुख थियो र छन् तिनीहरु नै जिम्मेवार हुन्छन्,’ उनले भने ।

तपाईको प्रतिक्रिया