पहिले पार्क, अनि ‘ग्लास ब्रिज’
अनुप आत्रेय, पोखरा
सेती नदी वारपार गर्न अरु बाटो थिएन । साँघुको मुख (हालको महेन्द्रपुल) मुनि सिमलको काठ वारिपारि जोडिएको थियो ।
त्यसकै भरमा सेती वारपार गरिन्थ्यो । २०१८ सालमा राजा महेन्द्रको पालामा त्यहाँ पुल बनाउन सुरु भयो ।
२०२० सालमा पुल बन्यो । राजा महेन्द्रले पुल बनाइदिएपछि आवतजावत सहज भयो । पहिले साँघुको मुख भनेर चिनिने ठाउँले पुलसँगै परिचय फेरेर महेन्द्रपुल बन्यो । २०४५ सालमा त्यहाँ फेरि नयाँ पुल बन्यो । उक्त पुल अहिलेसम्म प्रयोगमा छ ।
हालको पुलमुनि गण्डकी प्रदेश सरकारले सिसाको पुल बनाउने घोषणा गर्यो ।
आर्थिक वर्ष २०७६/७७ को बजेटमा पोखरा महानगरपालिकाको वडा नम्बर ९ र ११ जोड्ने गरी उक्त पुल बनाउने प्रदेश सरकारको योजना थियो। तर पर्यटनमन्त्री विकास लम्सालले प्राविधिक नभएको बहाना पारेर बजेटिङमा धोका दिँदा ‘ड्रिम प्रोजेक्ट’ अघि बढ्नै पाएन ।
यो पनि पढ्नहोला – ‘ग्लास ब्रिज’ झर्याम्मै
सिसाका २३ सय पुल बनेको चीनमा विदेशी प्राविधिकले साथ दिइरहँदा पर्यटनमन्त्रीले ‘ड्रिम प्रोजेक्ट’ अघि बढाउन चाहेनन् ।
उनै मन्त्री लम्सालसँग उक्त क्षेत्रका सांसद विन्दुकुमार थापा र उपभोक्ता समितिका पदाधिकारी रुष्ट छन् ।
पार्कसहितको पुल बनाउन बजेट नै नपरेपछि झन्डै २ रोपनीमा स्थानीय हाललाई पार्कमात्रै बनाउन जुटेका छन् ।
रेडियो सराङकोटसँगको सहकार्यमा शनिबार त्यहाँ वृक्षारोपण गरेर पार्क बनाउने काम अघि बढाइएको छ । तर सिसाको पुल बनाउने योजनाबाट स्थानीयहरु पछि हटेका छैनन् ।
‘यो वर्ष बजेट परेन । सिसाको पुल बनाउन हामी निरन्तर प्रयास गर्छौं,’ पोखरा ९ का वडासचिव लोकदर्शन कोइरालाले भने, ‘कसै भएन भने त्यहाँ पुरानो पुलको जिप छ । त्यसमा जिआई पाइप जोडेर पुल बनाउँछौं । त्यति भएपछि यहाँ यस्तो छ भनेर आँखा पर्छ ।’
लकडाउनअघिसम्म हरेक हप्ता त्यहाँ सरसफाइ गरिन्थ्यो । ६ महिनादेखि त्यहाँ सरसफाइ हुन पाएको थिएन ।
शनिबारदेखि झाडी पन्छाउने काम सुरु गरेको र उक्त ठाउँलाई पार्ककको रुपमा विस्तार गरिने साँघुमुख वातावरणमैत्री उपभोक्त समिति अध्यक्ष इन्द्रकमल मानन्धरले बताइन् ।
सरसफाइ तथा वृक्षारोपण कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य विन्दुकुमार थापाले महेन्द्रपुलमा सिसाको पुल बनाउन आफूले निरन्तर पहल गरिरहेको बताए ।
‘पुल बनाउनुपर्छ भनेर ५० लाख छुट्टियो । तर निर्माणको काम अघि बढ्न पाएन । पुल बनाउने विषयमा मुख्यमन्त्रीज्यू पनि सकरात्मक हुनुहुन्छ,’ उनले भने ।
कास्कीबाट प्रदेशमा १ जना पनि मन्त्री नभएकाले विकास निर्माणमा चासो दिने कोही नभएको सांसद थापाले गुनासो गरे ।
‘कोही मन्त्री नभएपछि यो ठाउँको माया कसले मान्ने? । अहिले हुन नसकेको कामलाई अनुभवको रुपमा स्वीकार्दै अघि बढ्नुपर्छ,’ उनले भने ।
सरकारले नै बजेट छुट्याएर नेपालमै नभएको पूर्वाधार बनाउने भनेपछि स्थानीय हौसिए । फोहोर फाल्न रोक लगाए । त्यहाँ पुलसँगै अन्य भौतिक संरचना बनाउने गरी छलफल अघि बढाइएको थियो ।
सिसाको पुलसँगै कफी सप, सार्वजनिक शौचालय, कोसेली घर, पानीको फोहोरा(वाटर फाउन्टेन), पोखराका पर्यटकीय गन्तव्य झल्किने वालपेन्ट बनाउने योजना थियो ।
कोसेली घरमा पोखरेली मौलिकता झल्कने सामान बिक्रीमा राख्ने र नजिकैको भित्तामा पर्यटकीय क्षेत्रका चित्र बनाउने योजना बनाइएको थियो ।
५ वर्ष पहिलेसम्म महेन्द्रपुलको डम्पिङ साइटका रुपमा चिनिने सेती किनारको साँघु मुखले पछिल्लो समय रुप फेरेरको छ ।
‘माथि पुलबाट सेती हेर्दा नाक थुनेर फर्कनुपर्ने अवस्था थियो । यहाँ ढल मिसाइन्थ्यो । हामीले ४५ बढीभन्दा बढी घरलाई ढल मिसाउन रोक लगायौं,’ वडासचिव कोइरालाले भने ।
उक्त ठाउँलाई पर्यटकीय गन्त्वयको रुपमा विकास गर्न निजी क्षेत्र इच्छा देखाइरहेको उनले सुनाए ।
‘यो ठाउँलाई पर्यटकीय गन्तव्य बनाउन निजी क्षेत्रले पनि इच्छा देखाएका छन् । हामी सरकारसँग मिलेर काम गरौं भनेर लागेको । साथै पाइएन,’ कोइरालाले सुनाए ।
कोइरालाकै सक्रियतामा ६ वर्षअघि बनाइएको उपभोक्त समितिले हरेक हप्ता त्यहाँ सरसफाइ गर्दै आएको छ ।
तपाईको प्रतिक्रिया