लगातारको दुर्घटनापछि बन्द प्याराग्लाइडिङ साेलाे उडान फुकुवा

समाधान संवाददाता २०७५ चैत १३ गते ८:३९

समाधान सम्वाददाता

दुर्घटनाको कारण देखाउँदै प्याराग्लाइडिङ सोलो (एकल उडान) माथि लगाइएको प्रतिबन्ध २० दिनपछि फुकुवा भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) केन्द्रीय कार्यालयको चैत १० गते बसेको बैठकले सोलो उडानको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको क्यान पोखराका सूचना अधिकारी काशिनाथ पौडेलले जानकारी दिए ।

सोलो उडानकै क्रममा पोखरामा फागुन तेस्रो साता ३ दिनसम्म लगातार भएका ४ दुर्घटनामा २ जना विदेशीको ज्यान गएको थियो भने २ जना घाइते भएका थिए । तोकिएको एयर स्पेस भन्दा बाहिर गई उडान भरेको भन्दै फागुन २१ गतेबाट सोलो उडानमा क्यान पोखराले रोक लगाएको थियो ।

Advertisement

दुघर्टनामा जिम्मेवार देखाउँदै पोखरा २ प्याराग्लाइडिङ कम्पनीलाई क्यानले हालसम्म पनि कालो सूचीमा राखेको छ । ब्लुस्काइ र फ्रन्टियर्स प्याराग्लाइडिङ कम्पनीलाई क्यानले कालो सूचीमा राखेको हो । सोलो उडानका लागि प्याराग्लाइडिङ कम्पनी मार्फत् सिफारिस लिई क्यानमा ५ हजार ६ सय ५० रुपैयाँ दस्तुर बुझाई १५ दिनका लागि उडान अनुमति लिन सकिने व्यवस्था छ ।

विभागले नेपालमा दर्ता सञ्चालनमा भएका सम्पूर्ण प्याराग्लाइडिङ कम्पनीलाई २०७५ जेठ ९ गते गरेको परिपत्र अनुसार सरकारले तोकेको सर्त बेगर उडान गरे पाइलटको लाइसेन्स खारेजीदेखि कम्पनीको इजाजत पत्र समेत रद्द गर्न सकिने छ । कास्कीमा पोखरा १८ स्थित सराङकोट, तोरीपानी र मान्द्रेढुंगा क्षेत्रबाट व्यावसायिक तथा एकल उडानका लागि अनुमति छ ।

Advertisement

सराङकोटबाट उडान अनुमति पाएका कम्पनीले खपौदी, तोरीपानीबाट अनुमति लिएका कम्पनीले चंखपुर र मान्द्रेढुंगा क्षेत्रबाट उडान अनुमति लिएका कम्पनीले पामेमा अवतरण गर्नुपर्ने नियम छ । तोकिएको क्षेत्रभन्दा अन्य क्षेत्रबाट उडान अवतरण गर्न अनिवार्य रुपमा प्राधिकरणबाट अनुमति लिनुपर्ने व्यवस्था छ । अधिकांश कम्पनीले प्राधिकरणको नियमलाई लत्याउँदै आएका छन् ।

मान्द्रेढुंगा र तोरीपानीबाट उडान अनुमति पाएका कम्पनीले समेत सराङकोट क्षेत्र नजिकै पर्ने भएको हुँदा त्यहींबाट उडान भर्ने गरेको पाइन्छ । पोखरा महानगरपालिकामा दर्ता भएर कर तिरेका ४७ प्याराग्लाइडिङ कम्पनीले हाल टेन्डम तथा सोलो उडान भर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया