स्थानिय तह निर्वाचन २०७९

उल्लेखनीय काम गरेका छौं, बाँकी अबको कार्यकालमा पूरा गर्छौं

मञ्जुदेवी गुरुङ उपमेयर उम्मेदवार, एमाले

समाधान संवाददाता २०७९ वैशाख १३ गते १०:२८

उपमेयरमा दोहोरिन्नँ भन्नुहुन्थ्यो, फेरि उम्मेदवार बन्नुभयो नि ?
म पहिला उपमेयर भइसकेकी थिएँ । यो अवधिमा एकचोटि कार्यवहाक मेयर बनेर काम गर्ने अवसर प्राप्त भयो । त्यस अवधिमा मैले धेरै अनुभव पनि बुटुलेँ । त्यस कारणले पनि मैले पार्टीमा आन्तरिक उम्मेदवारी दिएको थिइनँ । पार्टीबाट मेयरमा १२ जना र उपमेयरमा ११ जना आकांक्षी हुनुहुन्थ्यो । त्यो भएर पनि आकांक्षीलाई अवसर दिनुपर्छ भन्ने लागेको थियो । मलाई नसोधी पार्टीले उम्मेदवार बनायो । पार्टीले एकचोटि सोधेको भए पनि हुन्थ्यो भन्ने मलाई लागेको थियो तर सोधेन । ठीकै छ । म पार्टीको सिपाही भएकाले पार्टीले दिएको जिम्मेवारी पूरा गर्नु पर्छ भनेर उम्मेदवारी दर्ता गराएकी हुँ ।

राजीनामा त ३ दिनअघि नै दिनुभएको रैछ नि ?
यसो हो, पार्टीको निर्देशन त मैले भोलि मान्नैपर्ने हुन्छ । फेरि पनि कुरा कहाँनेर हो भने पार्टीले उम्मेद्वार बनाउँदा एकचोटि सोध्नुपर्ने थियो । अब पार्टीले जहाँ बस भन्यो, त्यही बस्नु पर्‍यो । म पार्टीको एक इमान्दार कार्यकर्ता भएकाले पार्टीले जे भन्छ, त्यही गर्नुपर्ने हुन्छ ।

चुनाव जित्ने आधार के के छन् ?
हामीले चुनाव जित्न धेरै आधार छन् । संघ सरकारमा एमाले हुँदा धरहरा, रानीपोखरीदेखि देशमा राम्रा काम धेरै हाम्रो पार्टीको सरकारले गरेका छन् । ती सबै जनतामाझ लोकप्रिय नै छन् । पोखरा महानगरपालिकाको हिसाबले मैले भन्नुपर्दा सुरुमा त हामी निर्वाचित भएर आउँदा असहज अवस्था थियो । ऐन, कानुन थिएनन् । निर्वाचित भएको ६ महिनापछि मात्र स्थानीय सरकार ऐन आयो, त्यसपछि प्रदेश सरकार बन्यो । त्यसपछि मात्र ऐन, कानुन बनाउन सुरु गर्‍यौं । फेरि कोभिड आयो, काम गर्ने तीव्र इच्छा आकांक्षा हुँदाहुँदै कोभिडको चपेटामा पर्‍यौं । जति सोचेका थियौं त्यति काम गर्न सकेनौं । तर, मलाई लाग्छ, हामीले जति गर्‍यौं, धेरै राम्रो गर्‍यौं । केही काम पूरा भएका छन् भने केही गर्न प्रक्रियामा छन् ।

Advertisement

जितेर आएपछि गर्व गर्न लायक के गर्नुभयो ?
निर्वाचित भएर आएपछि वडा कार्यालयहरु आवश्यकता अनुसारका बनाउनेतर्फ लाग्यौं । केहीँ ठाउँमा साह्रै सानो साँघुरा कार्यालय थिए, ती कार्यालयलाई स्तरोन्नति गर्‍यौं । अर्को कुरा संघ सरकार अन्तर्गतका जिल्ला तहका धेरै कार्यालय महानगर मातहत आए । वटा वडा कार्यालय पूरा गरिसक्यौं । १४ वडा कार्यालयलाई स्तरोन्नति गरेका छौं । ३ वटा निर्माण हुँदै छन् भने अरु बाँकी वडा कार्यालय बन्ने प्रक्रियामा छन् । यति धेरै असहज परिस्थितिमा पनि हामीले ती काम गर्‍यौं ।
पोखरामा खानेपानीको काम गरका छौं । पोखरेलीको घर घरमा ४ हजार ४ सय धारा जडान गरेर खानेपानी पुर्‍याएका छौं । एक घर एक धारा कार्यक्रमअघि बढायौं । अर्को कुरा भनेको महिलालाई सक्षम बनाउनका लागि उपप्रमुखसँग महिला कार्यक्रम सञ्चालन गर्‍यौं । यस्तै महिला हिंसा अन्त्य गर्न महिला हिंसा विरुद्ध पुरुषको एक्याबद्वता, महिला पुरुष समान हुन् भन्ने अभियान मेरो नेतृत्वमा सञ्चालन भयो । बालबालिकाको सवालमा महानगर बाल मञ्च बनेको छ । अपांगका लागि परिचयपत्र बनाएर वितरण गरेका छौं । यस्तै यस्तै धेरै काम भएका छन् । हामीले सुरुवात गरी बाँकी काम अबको कार्यकालमा गर्छाै ।

नेतृत्व महिलालाई दिन कन्जुस्याइ गरेको देखियो नि ?
नेतृत्वमा महिला जानुपर्छ भन्ने कुरामा दुई मत छैन । हाम्रो पार्टीमा पहिले पनि महिलाले आकांक्ष देखाउनुभएको थियो । अहिलेप नि केही महिलाले आकांक्षीमा नाम टिपाउनु भएको थियो । तर, केन्द्रबाट नाम सिफारिस हुँदा यस्तो भएर आयो ।

Advertisement

कति मतान्तरले जित्छु जस्तो लाग्छ ?
पहिले ६० हजार हारहारीमा मत ल्याएर कांग्रेस उम्मेदवारलाई हराएको थियौं । यस पटक मलाई लाग्छ ८० हजार भोट ल्याएर २० हजार मतान्तरले हामी चुनाव जित्छौं ।

तपाईको प्रतिक्रिया