पोविविमा झडप, १ घाइते

समाधान संवाददाता २०७६ वैशाख १६ गते १२:१४

समाधान संवाददाता, पोखरा

पोखरा विश्वविद्यालयको नियम विपरीत क्याम्पसले भर्ना लिएका ३ सय ४४ विद्यार्थीलाई परीक्षामा सहभागी गराउन सर्वोच्चले दिएको आदेशको विरोधमा विद्यार्थीले गरेको प्रदर्शनमा प्रहरीसँग झडप भएको छ ।

अनेरास्ववियु, अखिल (क्रान्तिकारी), नेविसंघका विद्यार्थी प्रदर्शनसहित केन्द्रीय क्याम्पसका सबै विभाग कार्यालयमा तालाबन्दी गर्न खोज्दा आइतबार प्रहरीको हस्तक्षेपबाट विद्यार्थी मुकेश मेहता घाइते भएका छन् । उनी अस्पतालमा सामान्य उपचार गरी घर फर्केका छन् ।

Advertisement

यसअघि शुक्रबार प्रशासन कक्ष र परीक्षा नियन्त्रणको कार्यालयमा तालाबन्दी गर्न खोज्ने ४ विद्यार्थीलाई प्रहरीले ८ घन्टा नियन्त्रणमा लिई छाडेको थियो । स्नातक तह व्यवस्थापन संकायमा भर्ना हुन न्यूनतम योग्यता ‘सी’ ग्रेड ल्याउनुपर्ने भएपनि ‘डी प्लस’ ग्रेड प्राप्त विद्यार्थीलाई रजिस्टे«सन लिई परीक्षामा सहभागी गराउन सर्वोच्च दिएको आदेशविरुद्ध विद्यार्थी आन्दोलित छन् । ग्रेड विवादले विश्वविद्यालयको परीक्षा ३ पटकसम्म स्थगित भइसकेको छ ।

अवैधानिक रुपमा ग्रेड मापदण्ड नपुगेका विद्यार्थीको परीक्षा लिन नहुने र सम्बन्धन प्राप्त ४२ क्याम्पसलाई कारबाही गर्नुपर्ने माग राखेर आन्दोलनमा उत्रिएको नेविसंघ नेता फिरोज सुवेदीले जानकारी दिए । विद्यार्थीको योग्यता मापदण्डको विषयमा गएको ७ गते शनिबार विश्वविद्यालय प्राज्ञिक परिषद् र कार्यकारी परिषद्को बैठकले ‘डी प्लस’ ग्रेड प्राप्त विद्यार्थीको रजिस्ट्रेसन नगर्ने निर्णय गरेको थियो ।

Advertisement

निर्णय सार्वजनिक भएपछि ग्रेड विवाद सर्वोच्च अदालतसम्म पुगेको थियो । विद्यार्थी मन्दिप खड्कासमेतले पोखरा विश्वविद्यालयलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।

खड्काको रिटमा सर्वोच्चका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले गएको १२ गते परीक्षाबाट विद्यार्थीलाई बञ्चित नगर्न आदेश गरेको थियो । विश्वविद्यालयले सोमबारदेखि ४ वटा संकायको परीक्षा कार्यक्रम तय गरिसकेको छ ।

विश्वविद्यालयका रजिस्टार गोविन्द शर्माले सर्वोच्चको आदेश कार्यान्वयन गर्नुपर्ने भएकाले ‘डी प्लस’ विद्यार्थीलाई परीक्षामा सहभागी गराउने निर्णय परीक्षा समितिले गरिसकेको जानकारी दिए । विद्यार्थीले अवरोध गर्न खोजे पनि परीक्षा नरोकिने उनले जनाए ।

तपाईको प्रतिक्रिया