बर्थिङ सेन्टरकाे अभावमा घरमै सुत्केरी हुन बाध्य माैजा गाउँका महिला

समाधान संवाददाता, पोखरा
बर्थिङ सेन्टर नहुँदा पोखरा महानगरपालिकाको वडा नम्बर २० मौजा गाउँका महिला घरमै सुत्केरी हुन बाध्य छन् । सोमबार रातिमात्रै उक्त गाउँकी नरमिला विक घरमै सुत्केरी भइन् ।
सोमबार राति नरमिला विक घरमै सुत्केरी भएको खबर मंगलबार एकाबिहानै थाहा पाएर वडाध्यक्ष सिम गुरुङ फेरि झसंग भए । आमा र बच्चा दुवै स्वस्थ भएको थाहा पाएर सन्तोषको सास त फेरे तर आफ्नै महानगरपालिकासँग उनमा ठूलो आक्रोश जाग्यो । हुन पनि आफ्नो वडाको मौजा गाउँमा बर्थिङ सेन्टर खोल्न प¥यो भनेर महानगरपालिकामा हारगुहार गर्न थालेको उनी निर्वाचित भएर आएदेखि नै हो ।
वडाध्यक्ष गुरुङ भन्छन्, ‘पोहोर नगरसभामा पनि बर्थिङ सेन्टर चाहियो भनेर कराएँ, कार्यपालिकामा पनि प्रत्येकपटक भनेकै छु तर न कर्मचारीले सुन्छन्, न मेयरसाबले सुन्नुहुन्छ ।’ विपन्न र दलित परिवारका महिला पोखरा झरेर अस्पतालसमेत आउन नसक्ने हुँदा गाउँमै बर्थिङ सेन्टर चाहिएको उनले बताए ।
नरमिला विकलाई सोमबार राति बेथा लागेपछि गाडी रिजर्भ गरेर पोखरा झार्न सक्ने आर्थिक अवस्थामा उनको परिवार थिएन । मौजा स्वास्थ्य चौकीका अहेब शिव गिरी मंगलबार बिहान सुत्केरीकै घर पुगेर आमा र बच्चाको स्वास्थ्य हेरेर फर्किएको बताउँछन् । ३ दशमलव ३ किलोग्रामको बच्चा र सुत्केरी आमाको स्वास्थ्य ठिकठाक रहेको उनले सुनाए । ‘सुत्केरीलाई आइरन चक्की र औषधीहरु अनि बच्चाको नाभीमा लगाउने मलम दियौं,’ उनले भने ।
एक त घरमै सुत्केरी हुँदा जोखिम हुन्छ भने अर्काेतिर बर्थिङ सेन्टर वा अस्पतालमा नआई घरमै सुत्केरी भएका महिलालाई सरकारबाट भत्ता पनि उपलब्ध हुँदैन । पोखराको बजार क्षेत्रबाट मौजा १५ किलोमिटर टाढा छ । तर बाटो कच्ची र जीर्ण भएको हुँदा सधैं गाडी आउजाउसमेत नहुने स्वास्थ्यकर्मी गिरी बताउँछन् । ‘सक्नेहरु त सुत्केरी हुनुअघि पोखरा झरेर बस्छन् अनि अस्पताल जान्छन्, नसक्नेहरुलाई गाउँमा बर्थिङ सेन्टर भएन,’ उनले भने ।
गिरीकै भनाइमा स्वास्थ्य चौकमा सुत्केरी गराउन सम्भव हुँदैन । प्रसूतिकर्मी र उपकरण तथा भौतिक संरचना पनि सुत्केरीका लागि चाहिने उनले बताए । स्वाथ्यचौकी प्रमुख विवेककुमार बर्माका अनुसार २०७४ सालदेखि अहिलेसम्म मौजाका १० जना महिला घरमै सुत्केरी भएका छन् । ती अधिकांश विपन्न र दलित परिवारका हुन् । कतिपय त बाटोमै पनि सुत्केरी भएको उनले सुनाए । वडाध्यक्ष गुरुङ पनि पोखरा ल्याउँदाल्याउँदै जीपमै महिला सुत्केरी भएको आफैंले देख्नुपरेको बताउँछन् ।
जनसंख्या थोरै छ भनेर महानगरपालिकाले मोजामा बर्थिङ सेन्टर खोल्न बेवास्ता गरेको वडाध्यक्षको गुनासो छ । उनी भन्छन्, ‘धेरै र थोरै भन्ने पनि हुन्छ र ? एकजना मान्छेको पनि ज्यान न ज्यानै हो नि । कसैको पनि ज्यान जोखिममा पर्नुभएन । यस्तो कुरामा महानगरपालिका संवेदनशील हुन सकेन ।’
महानगरपालिकाको स्वास्थ्य महाशाखा स्रोतका अनुसार पूरै महानगरपालिकाका विभिन्न वडामा २०७४ यता घरमै सुत्केरी भएका महिला ११० जना छन् । सरकारले भने घरमै सुत्केरी हुने महिला शून्य बनाउने नीति लिएको छ । तर पोखराजस्तो देशकै प्रमुख महानगरपालिकामा शून्य हुन सकेको छैन । महाशाखा प्रमुख हेमन्त शर्मा मौजामा बर्थिङ सेन्टर स्थापनाको योजना अब प्रस्ताव गर्ने बताउँछन् । उनले यसबारे छलफल भइरहेको पनि सुनाए ।
बर्थिङ सेन्टर हुँदा त्यहाँ अक्सिन र स्वास्थ्य उपकरणको व्यवस्था हुन्छ । सुत्केरी गराउन सिप भएका स्वास्थ्यर्कीले २४ सै घन्टा सेवा दिन्छन् । तर स्वास्थ्य चौकीमा मात्रै त्यस्तो सुविधा हुँदैन । स्वाथ्य चौकीमा सुत्केरी गराउन नमिल्ने नियम रहेको स्वास्थ्यकर्मी सुनाउँछन् । पोखरा महानगरपालिकाभित्र ठूला अस्पतालबाहेक ८ ठाउँमा बर्थिङ सेन्टर छ । दुर्गमका सबै ठाउँमा बर्थिङ सेन्टर स्थापना भएको छैन ।







सर्वोदय माविको ७४औं वार्षिकोत्सव
पोखरा विमानस्थलको २ अर्ब बेरुजु ठेकेदारकै भुक्तानीबाट कट्टा हुने
जेलबाट छुटेकै दिन पतिद्वारा पत्नीको हत्या
आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया