गण्डकीमा मुद्दा दर्ता धेरै

समाधान संवाददाता २०७५ पुष २६ गते १३:०८

विकास रोकामगर
घटना १
कास्की माछापुच्छ्रे गाउँपालिका ८ की कौशल्या गुरुङ (७९) को कात्तिक ११ गते मध्यरातमा हत्या भयो । प्रहरीका अनुसार गुरुङको गरगहना चोरी पश्चात हत्या भएको थियो । हत्या भएको लामो समय भइसक्दासमेत प्रहरी हत्यारासम्म पुगेको छैन । उत्तरमा भन्छ, ‘हत्या नै भइसकेको भन्ने एकिन भइसक्यो । अब हत्यारा पत्ता लगाउनमात्र बाँकी छ ।’

घटना २
सिराननचोक गाउँपालिका खामबारी, गोरखामा भदौ ८ गते राती सबल भण्डारीकी ११ दिने छोरी कोठाबाटै हराइन् । आमा रश्मि गुरुङले हजुरआमासँगै सुताएर छोडेको बच्चा पछि फर्केर आउँदा गायब थिइन् । पछि प्रहरी अनुसन्धानमा आमाले नै छोरीलाई मारेर खाल्डोमा पुरेको भन्ने खुल्न आयो ।

घटना ३
असोज ८ गते साँझको समयमा पोखरा २२ कोदीकी १० वर्षीया श्रेया मृत अवस्थामा फेला परिन् । रातभर अनुसन्धानमा खटिएको प्रहरीले २४ घण्टाभित्रै नतिजा निकाल्यो र भन्यो – ‘छिमेकी २७ वर्षीय कुसुम पौडेलले बलात्कार पश्चात हत्या गरेका हुन् ।’ पौडेल अहिले परिवर्तित मुलुकी ऐन अनुसार जन्मकैद सजाय भोगिरहेका छन् ।

Advertisement

माथिका घटना गण्डकी प्रदेशमा महिलामाथि घटेका केही जघन्य अपराधका नमुनामात्र हुन् । गण्डकी प्रदेशमा अन्य प्रदेशको तुलनामा धेरै महिलासम्बन्धी हिंसा हुने गरेको तथ्य नेपाल प्रहरी गण्डकी प्रदेशले पेस गरेको छ ।

बुधबार गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयमा गरेको लैंगिक हिंसा तथा मानव बेचबिखन सम्बन्धी अन्तक्रिया कार्यक्रममा प्रदेश प्रहरी कार्यालय प्रवक्ता गोविन्द पुरीले यस्तो तथ्यांक प्रस्तुत गरेका हुन् । ‘अन्य प्रदेशको तुलनामा गण्डकीमा अपराधका घटना धेरै बढेको र दर्ता भएको पाइएको छ,’ उनले भने, ‘सबैको तुलनामा हेर्ने हो भने यहाँ मानव बेचविखन भने ह्रास भएको देखिन्छ ।’

Advertisement

पुरीले गण्डकी प्रदेशमा ०७३/७४ भन्दा गएको आथिक वर्षमा अपराध बढेको जानकारी दिए । उनले भने, ‘पहिलेको वर्षभन्दा गएको आथिक वर्षमा गण्डकीमा २४ प्रतिशतले अपराध बढेको छ ।’ उनले अपराध बढ्नुमा केही सार्वजनिक अपराध, आत्महत्या, जघन्य अपराध र सवारी दुर्घटना आदि मुख्य कारण रहेको पनि सुनाए ।

गण्डकी प्रदेशमा जघन्य अपराध २०७३/७४ भन्दा गएको आर्थिक वर्षमा वृद्धि भएको पनि पुरीले जानकारी दिए । ‘प्रदेशमा ०७३/७४ मा अत्याधिक जघन्य अपाराध भएको देखिन्छ,’ उनले भने, ‘त्यसमा लागुऔषध ओसारपोसार, जबरजस्ती करणी, विष्फोटक पदार्थ, डाँका, अपरहण तथा शरिर बन्धक आदि छन् ।’ तथ्यांक अनुसार गत आर्थिक वर्षमा सबैभन्दा बढी विष्फोटक पदार्थमा ४ सय प्रतिशतले वृद्धि भएको छ । मानव बेचबिखनमा भने १२ प्रतिशतले ह्रास भएको तथ्यांकमा उल्लेख छ ।

गण्डकी प्रदेशमा सबैभन्दा धेरै मुद्दा दर्ता हुने जिल्लामा कास्की ठहरिएको छ । लागुऔषधदेखि जघन्य अपराधसम्म कास्की जिल्लामा धेरै मुद्दा दर्ता भएको देखिएको हो । मुद्दा दर्ता कम हुनेमा मनाङ जिल्ला परेको छ । ‘आर्थिक वर्ष ०७४÷७५ मा कास्कीमा सबैभन्दा १६ सय ९५ मुद्दा दर्ता भए भने ११ वटामात्रै दर्ता भएको छ,’ पुरीले भने । उनका अनुसार कास्की प्रदेशको राजधानी र आवादी पनि धेरै भएकाले अपराध पनि धेरै देखिएको हो ।

प्रवक्ता पुरीले गएको अर्थिक वर्षमा सबैभन्दा कम मुद्दा मंसिर महिनामा दर्ता भएको र धेरै जेठ महिनामा भएको जानकारी दिए । ‘प्रदेशमा आएको तथ्यांक अनुसार मंसिर महिनामा २ सय ३४ वटा मुद्दा भएका छन् भने जेठमा सबैभन्दा बढी ३ सय ९७ भएको देखिन्छ,’ उनले भने । गत वर्ष ३ हजार ७ सयभन्दा बढी मुद्दा दता भएको थियो ।

गण्डकीमा चालु आर्थिक वर्षमा अझै मुद्दा दर्ता बढ्ने देखिएको छ । पुरीले हिंसा हिजोका दिनभन्दा घटेको तर सबैमा जनचेतना फैलिएकाले हुनाले घटना बाहिरमात्रै आएको दाबी गरे । गण्डकी प्रदेश प्रहरी कार्यालयले हुने लैंगिक हिंसा न्यूनीकरण गर्न लैंगिक हिंसा नियन्त्रण समिति गठन प्रक्रिया अघि बढाइसकेको पुरीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया