संस्कारमा परिमार्जन

समाधान संवाददाता २०७५ फागुन २३ गते ८:४६

मन्त्री रवीन्द्र अधिकारीको काजकिरिया ७ दिनमा सकियो । १५ गते उनी बितेका थिए । परिवारले २१ गते शुद्धशान्ति गरेर भ्याए । १३ दिनसम्म किरिया बस्ने परम्परा विपरीत ७ दिनमै अम्किएपछि त्यसमाथि सकारात्मक र नकारात्मक दुवैखाले क्रिया प्रतिक्रियाहरु आएका छन् । यस्ता प्रतिक्रिया नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छोरा प्रकाशको निधनमा काजकिरिया नगर्दा पनि आएका थिए । त्यसो त नेपाली राजनीतिका शिखर पुरक्ष बिपी कोइरालाले आफ्ना बाबु कृष्णप्रसाद कोइरालाको किरिया बसेनन् । उनकै किरिया छोराहरुले गरेनन् । गिरिजाप्रसाद कोइरालाको किरिया छोरी सुजाताले गरिनन् ।

पछिल्लो समय अरु सर्वसाधारणले पनि काजकिरियाको समयावधि १३ दिनको साटो ७ वा ५ बनाइसकेका छन् । चर्चित व्यक्ति र तिनका परिवारबाट पनि त्यस्तै हुँदा चर्चा चुलिने गरेको मात्रै हो । बितिसकेका व्यक्तिको उद्धार गर्ने प्रेतबाट आत्मा बन्ने प्रक्रियामा सहयोग गर्ने लगायत विधिविधान १३ दिन गर्दामात्रै पूरा हुने तर्क केही पण्डितहरुले गरेका छन् । एक त वैज्ञानिक रुपमा व्यक्तिको निधनपछि आत्मा हुन्छ हुँदैन भन्ने प्रमाणित भएको छैन । त्यो रहस्यकै गर्भमा छ । व्यक्ति बाँचुन्जेल उसका लागि गर्नुपर्ने कर्तव्य परिवारले पूरा गर्नु सबैभन्दा महत्वपूर्ण कुरा हो । बाबुआमा बाँचुन्जेल सुखी राख्ने र खुसी राख्ने सबैभन्दा ठूलो दायित्व छोराछोरीको हो । बितिसकेपछि पनि आफ्ना जनकजननजीप्रति कृतकृत भइरहनु स्वाभाविक छ । सम्झना गरिरहनु एउटा कुरा तर जो संसारमै छैनन्, उनीहरुका लागि भनेर दुखपीडा र कष्ट व्यहोर्नुपर्छ भन्ने स्वाभाविक छैन । विज्ञानसम्मत छैन । बरु बितेर गएकाहरुको सकारात्मक पक्षलाई आफ्नो जीवनमा पनि व्यवहारमा उतार्न सके साँच्चैको श्रद्धा हुन्छ ।

शोकलाई शक्तिमा बदलेर जीवनलाई थप सुखी र खुसी बनाउनु साटो पीडा र कष्ट थोपर्ने गरी १३ दिने किरियाकर्म भएको देखिन्छ । तसर्थ पनि यसलाई घटाउनुपर्छ । नानाभाँती खर्च गर्नु हुँदैन भन्ने पनि हो । दिवंगतको सम्झनामा दानै गर्ने भए खास गुरुपुरोहितलाई होइन दुखीगरिब र असहायहरुलाई गर्नु उचित हुन्छ ।
जति पनि विधिविधान र संस्कृति छन् । ती मानव जीवनका लागि बनेका हुन् । मानव जीवनलाई कष्ट हुने विधिविधान परिमार्जन हुन जरुरी छ । समय सधैं एउटै हुँदैन । आजको युगको मानिस र हिजोको मानिसको जीवन शैली बदलिएको छ । आवश्यकता बदलिएको छ । हिजो खेतीपातीको युग थियो आज औद्योगिक र सूचना प्रविधिको युग छ । मान्छेहरु कामकाजमा व्यस्त छन् । खेतीपातीकै युगमा पनि १३ दिन लामो समय हुन्थ्यो भने आजको दिनमा त झन् लामो हुनु स्वाभाविक हो ।

Advertisement

तपाईको प्रतिक्रिया