२२ गते ‘पोखरामा प्रमोद खरेल’

समाधान संवाददाता २०७५ चैत ७ गते ९:०८

समाधान संवाददाता

‘मबिना कसैकसैलाई मुस्किल छ पोखरामा
म छु आज धेरै टाढा मेरो दिल छ पोखरामा’

एकताका यो गीत पोखरेलीमात्रै होइन, पोखरा कहिल्यै नटेकेकाहरुको पनि ओठमै झुन्डियो । हजारौं युवाको रिङटोन बन्यो, रिङब्याक टोन बन्यो । ‘प्रणय’ एल्बममा समाविष्ट उक्त गीतले एल्बममात्रै हिट बनाएन गायकको ‘टर्निङ प्वाइन्ट’समेत बनिदियो ।

पोखरेली गीतकार शीतल गिरीले लेखेको यो गीत चर्चाको उत्कर्षमै पुग्यो । गीतमा संगीतकार महेश खड्काले संगीत भरेका छन् । उक्त गीतको शब्द र संगीतलाई न्यायिक आवाज दिएका थिए, गायक प्रमोद खरेलले ।

Advertisement

मबिना कसैकसैलाई… गीतमात्रै गायक खरेलको चिनारी गीत भने होइन । त्यसबाहेक उनले सयौं चर्चित गीतमा जीवन्त आवाज दिइसकेका छन् । ‘याद गर्न पनि कोही न कोही त चाहिँदो रहेछ, डुबायो पापी मायाले, मलाई जसले पनि किन रुवाउँछ ?, ओइ झुमा’जस्ता पाश्र्व, लोक, गजलमा गायकी जादू देखाइसकेका छन् । रसायनशास्त्रमा स्नातकोत्तर गरेर पनि उनले अन्य थुप्रै गीतमा समेत संगीत भरिसकेका छन् ।

चैत २२ गतेका दिन पोखरेलीले उनै गायक खरेलसँग आवाजमा आवाज मिलाएर गीत गाउन पाउने भएका छन् । एभिन्यू ग्रुप अफ कमर्सको आयोजना तथा मनिटरिङ पिस फाउन्डेसनको सहआयोजनामा पोखरामा ‘पोखरामा प्रमोद खरेल’ कार्यक्रम हुन लागेको हो । जस्को स्थानीय आयोजक बार्दली मिडिया प्राली छ ।
खरेलका लागि एकल गायनसहितको प्रत्यक्ष कार्यक्रम पहिलोपटक हुन लागेको आयोजकको दाबी छ । ‘पोखरा अनि प्रमोद खरेलबारे बुझ्न मबिना कसैकसैलाई गीत सुुने हुन्छ । उनको क्रेज पोखरामा धेरै छ,’ स्थानीय आयोजक मन क्षेत्रीले भने, ‘पोखराले संगीतलाई माया र सम्मान गर्छ भन्न पनि यो कार्यक्रम गर्न लागेका हौं ।’
कार्यक्रममा प्रमोदसँगै हास्यव्यंग्य कलाकार मनोज गजुरेल, अभिनेत्री केकी अधिकारी, मीना निरौला लगायत कलाकारको समेत प्रस्तुति रहने आयोजकले जनाएको छ । कार्यक्रममा प्रमोदले खण्डखण्ड गरेर आफ्ना विभिन्न ३० भन्दा गीत सुनाउने छन् । कार्यक्रम साँझ ४ बजेदेखि पोखरा सभागृहमा हुनेछ ।

Advertisement

‘कार्यक्रमको सुरुआत गायिका मीना निरौलाले गीत गाएर गर्नेछिन्, त्यसपश्चात प्रमोद स्टेजमा उभिनेछन् र बीचबीचमा मनोज गजुरेलको प्रस्तुती रहनेछ,’ स्थानीय आयोजक बार्दली मिडियाका मन क्षेत्रीले भने, ‘लाइभ संगीत र बाद्यवादनमा उनले आफ्नो प्रस्तुति दिनेछन् ।’

करिब २५ लाख खर्च हुने अनुमान आयोजकको छ । कार्यक्रममा प्रवेशका लागि आयोजकले २ सय र ५ सय रुपैयाँको टिकट व्यवस्था गरेको छ । डिजिटल मार्केटको लक्ष्य लिएर अघि बढेको ंआयोजक संस्था एभन्यू ग्रुप अफ कमर्शले कम्पनी तथा संगीत दुवैको विज्ञापनका लागि कार्यक्रम गर्न लागेको बताएको छ । सहआयोजक संस्थाले मानसिक रोगीका लागि काम गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया