आँबुखैरेनीमा बिषादी जाँच्ने प्रयोगशालाकाे स्थापना

समाधान संवाददाता २०७६ वैशाख ८ गते १३:३७

कृष्ण न्यौपाने
दमौली

गण्डकी प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशको प्रवेश नाका तनहुँको आँबुखैरेनीमा विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला स्थापना गरेको छ । तरकारी लगायत खाद्यान्नमा हुने विषादी न्यूनीकरण गर्दै विषादीरहित तरकारी प्रदेशभित्र भित्र्याउने उद्देश्यले मन्त्रालयले प्रदेशको नाका आँबुखैरेनी गाउँपालिका ३ मा विषादी अवशेष दु्रत विश्लेषण प्रयोगाशाला स्थापना गरेको हो ।

प्रयोगशाला शनिबार गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले उद्घाटन गरे । मन्त्री गुरुङले खाद्यान्न जीवन र स्वास्थ्यसँग जोडिएकोले सबैले स्वच्छ खाद्यान्न उपभोग गर्न पाउनुपर्ने बताए ।

उत्पादनको लाभ लिन बढी विषादी प्रयोग हुने गरेको भन्दै मन्त्री गुरुङले प्रदेशभित्र भित्रिने तरकारी लगायत खाद्यान्न स्वच्छ र स्वस्थ बनाउन प्रयोगशाला स्थापना गरिएको बताए । उनले भने, ‘राम्रा देखिने तरकारीमा कति विषादी छ भनेर थाहा पाउन सकिँदैन । त्यसैको लागि परीक्षणको लागि दु्रत विश्लेषण प्रयोगशाला स्थापना गरिएको हो ।’

सुरुवाती चरणमा बाहिरबाट प्रदेश भित्रिने तरकारी मात्रै परीक्षण हुने र निकट भविष्यमा प्रदेशभित्रकै तरकारी लगायतका खाद्यान्न समेत परीक्षण गर्ने व्यवस्था मिलाउन सरकार लागिपरेको उनले जानकारी दिए । मन्त्री गुरुङले कृषि क्षेत्र व्यावसायिक हुन नसकेको भन्दै सीप, ज्ञान र उन्नत प्रविधिको कमीका कारण अझै पनि निर्वाहमुखी कृषि रहेको टिप्पणी गरे ।

Advertisement

कृषिलाई आधुनिकीकरण बनाउन सरकारले अर्बाै अनुदान दिए पनि प्रभावकारी हुन नसकेको बताउँदै मन्त्री गुरुङले भने, ‘अनुदानले मात्रै कृषि अगाडि नबढ्ने देखिएको छ ।’

भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले स्वच्छ र स्वस्थ खाद्यान्न सर्वसाधारणलाई उपभोग गराउने उद्देश्य बमोजिम प्रदेशको दुई वटा नाकामा प्रयोगशाला स्थापना गरिएको बताए । स्वच्छ तरकारी उत्पादनका लागि कृषकलाई प्रोत्साहिन गर्ने नीति सरकारले लिएको बताउँदै उनले कृषि पेशालाई सम्मानित पेशा बनाउन आवश्यक रहेकोमा जोड दिए । उनले ३ वर्षभित्र उत्पादनमा आत्मनिर्भर गराउने सरकारको लक्ष्य रहेको भन्दै भने, ‘दूध र कुखुरामा हामी आत्मनिर्भर छौं, अन्य खाद्यान्नमा समेत आत्मनिर्भरताको बाटोतर्फ अग्रसर छौं ।’

आँबुखैरेनी स्थित इलाका प्रहरी कार्यालय अगाडि भाडाको घरमा सञ्चालित प्रयोगशालामा गण्डकी प्रदेश भित्रिने कुखुरा, माछा, मासु तरकारी लगायतका खाद्य पदार्थ परीक्षण गरिनेछ । परीक्षणले अखाद्य देखिएका खानेकुरा भित्र्याउन रोक लगाइने भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव दुर्गाप्रसाद दवाडीले जानकारी दिए ।

प्रयोगशालामा अखाद्य पदार्थ पहिचान गर्ने उपकरण जडान गरिनेछ । प्रयोगशालामा ७ जना कर्मचारी रहनेछन् । कार्यालयमा शाखा अधिकृत, प्राविधिक सहायक, नायब प्राविधिक सहायक लगायतका कर्मचारी रहने मन्त्रालयले जनाएको छ । यसअघि सरकारले स्याङ्जाको गल्याङ नगरपालिकाको मालुङ्गामा समेत प्रयोगशाला स्थापना गरिसकेको छ ।

सचिव दवाडीका अनुसार प्रयोगशालालाई आन्तरिक क्वारेन्टाइनको रुपमा विकास गर्ने लक्ष्य राखिएको छ । उनका अनुसार प्रयोगशालाका लागि आफ्नै भवन निर्माणका लागि जग्गाका खोजीसमेत भइरहेको छ ।

तपाईको प्रतिक्रिया