ऋषिङका किसानलाई हाते ट्याक्टर

समाधान संवाददाता २०७६ वैशाख १० गते १९:२३

राजन उपाध्याय दुलेगौंडा

तनहुँको ऋषिङ ८ पल्ट्याङकी सीता श्रेष्ठले यस वर्ष छिमेकी कहाँबाट हाते ट्याक्टर ल्याएर मकै लगाइन् । गोरुले जोत्दा महंगो र गोरु पाउनै मुस्किल भएपछि उनको रोजाइ ट्याक्टर पर्‍यो ।

उनले २ हलको मेलो एकै दिनमा भ्याइन् । ‘गोरुले जोतेको भए २ हजार ५ सय खर्च हुन्थ्यो’, उनले भनिन, ‘ट्याक्टरमा ८ सय रुपैयाँको पेट्रोलले पुग्यो ।’ हिजोआज गोरु र मानिसको पारिश्रमिक दैनिक २ हजार छ । अनि खाजा र खाना पनि खुवाउनुपर्छ । यसमा थप करिब ५ सय रुपैयाँ लाग्छ ।

Advertisement

आइतबार गाउँपालिकाले ५० प्रतिशत अनुदानमा वितरण गरेको हाते ट्याक्टर लिन वडा कार्यालय पुगेकी उनले समूहका सदस्यलाई अब खेती लगाउन सजिलो हुने बताइन् । अन्नपूर्ण कृषि समूहकी अध्यक्षसमेत रहेकी सीताले गोरुलाई घाँस काट्ने झन्झटबाट मुक्त भइने उल्लेख गरिन् ।

‘छोराछोरीलाई घाँस काट्न पठायो जादैनन्, आफैंले काट्दै आएकी थिएँ,’ उनले थपिन, ‘अब हल गोरु बेच्छु ।’ हाते ट्याक्टर उपलब्ध गराउन गाउँपालिकामा निवेदन दिएका कृषक समूहलाई ट्याक्टर उपलब्ध गराइएको हो ।

Advertisement

काहुँस्थित धनुवास कृषि समुहका अध्यक्ष दुर्गाबहादुर सिञ्जालीले गाउँमा पछिल्लो समयमा हली र गोरु पाउन समस्या भएको बताए । ‘गोरुसँगै काम गर्ने हलीसमेत छैनन्,’ उनले भने, ‘कतिपय वैदेशिक रोजगारका लागि गए, कोही सहर झरे ।’ अबको विकल्प सबैले चलाउन सक्ने हाते ट्याक्टर भएको उनले उनले सुनाए ।

रानीपोखरीका अर्का कृषक महेन्द्रकुमार श्रेष्ठले १ हल गोरुको मूल्यभन्दा ट्याक्टरकै मूल्य सस्तो भएको बताए । ‘३५÷४० हजार त एक हल गोरुकै पर्छ,’ उनले भने, ‘५० प्रतिशत अनुदानमा लिंदा ट्याक्टरकै मूल्य सस्तो पर्‍यो, घाँस काट्न र पाल्न पनि परेन । त्यसैले हाते ट्याक्टर रोजें ।’

गाउँपालिकाले विभिन्न वडाका कृषक समूहलाई आइतबार र सोमवार गरी १० हाते ट्याक्टर प्रदान गरेको अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए । ‘अरु मुलुकमा यान्त्रिकरणमार्फत उत्पादन धेरै सस्तो हुने गरेको छ,’ उनले भने, ‘पालिकाले आवश्यक सहयोग गर्नेछ ।’ उनले १ हाते ट्याक्टरको ६५ हजार रुपैयाँ परेको बताए ।

वडा नं. ८ का कावा अध्यक्ष भरतकुमार श्रेष्ठले ट्याक्टरको सही ढंगले उपयोग गर्न कृषकलाई आग्रह गरे । ‘हुन त आगामी १५÷२० वर्षपछि हलो जोतेकै नदेखिने हो कि भन्ने पनि चिन्ता लागेको छ,’ श्रेष्ठले भने, ‘समयको मागसँगै प्रविधिलाई पनि पछ्याउनु जरुरी छ ।’ ट्याक्टर जोत्न सिकाउन पुगेका होन्डा कम्पनीका अर्जुन पौडेललेसमस्या आए गाउँमै आएर सेवा दिने प्रतिवद्धता जनाए ।

तपाईको प्रतिक्रिया