गोरखा भूकम्पको ४ वर्ष बितिसक्दा पनि पुननिर्माण अपुरै

समाधान संवाददाता २०७६ वैशाख १२ गते १२:३९

गैरआवासीय नेपाली संघ (एनआरएन)ले लाप्राकमा निर्माण गरेको एकीकृत बस्ती ।

मोहसिन अली मियाँ
गोरखा

विनाशकारी गोरखा भूकम्प गएको ४ वर्ष भएको छ । २०७२ साल वैशाख १२ गते बिहान ११ः५६ बजे गोरखाको वारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पले गोरखामा ७१ हजार निजी घर, ४ सय ३३ विद्यालय, ७७ स्वास्थ्य चौकी, सयौं धार्मिक एवं ऐतिहासिक स्थल, सयौं खानेपानीका स्रोतमा क्षति पुर्‍यायो ।

४ सय ७२ जनाले ज्यानैसमेत गुमाए भने हजारौं घाइते भए । ४ वर्षलाई फर्केर हेर्दा गोरखामा पुनर्निर्माणको काम अन्य जिल्लाको तुलनामा सन्तोषजनक नै देखिए पनि सोचे अनुसार र पीडितको भावना अनुसार भने हुन सकेन । विद्यालय र स्वास्थ्य चौकी भवन निर्माण सन्तोषजन भए पनि निजी आवास, धार्मिक स्थल पुनर्निर्माणमा भने सरकारले सोचे अनुसार उपलब्धि भएन ।

Advertisement

लाप्राक र बगुवामा एकीकृत बस्ती निर्माण सम्पन्न नहुँदा झण्डै ७ सय ११ घरधुरी अहिलेसम्म पनि अस्थायी टहरामै छन् । जिल्लामा ४ बस्ती पहिरोको उच्च जोखिमका रहेको भन्दै भूगर्वविदले स्थानान्तरण गर्नुपर्ने सुझाए पनि त्यसो हुन सकेको छैन । पछिल्लो समय प्रवलीकरणको सूचीमा रहेका अधिकांश घरले पुन गुनासो फारम भरेपछि घर मर्मत गरी बस्नेको संख्या निकै कम छ ।

भूकम्पलगत्तै सयौं एनजिओ तथा आइएनजिओ जिल्लामा ओइरिए पनि कमैले मात्रै पुनर्निर्माणको काममा सघाए । जिल्लामा बनेका अधिकांश विद्यालय र स्वास्थ्य चौकी भवनमा गैरसरकारी संस्थाले लगानी गरेका छन् ।

Advertisement

७० प्रतिशत घर बने
जिल्लामा ४ वर्षको अन्तरालमा ७० प्रतिशत घर पुनर्निर्माण भएका छन् । ७१ हजार ५ लाभग्राही रहेको गोरखामा हालसम्म ४९ हजार ७० जनाले घर निर्माण गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ गोरखाको तथ्यांक छ । उनीहरुले घर पुनर्निर्माण सकी तेस्रो किस्ता पनि बुझिसकेका छन् । ६४ हजार ७ सय ३ भूकम्प पीडितले पहिलो किस्ता लिएकोमा ५७ हजार ९ सय ८ भूकम्प पीडितले दोस्रो किस्ता लिएका छन् ।

पहिलो किस्ता बुझेका ६ हजार ७ सय ९५ लाभग्राहीको घर निर्माण कार्य पूरा नभएकाले उनीहरुको खातामा दोस्रो किस्ता गएको छैन । ‘पहिलो किस्ता लिएकामध्ये कतिपयले अहिलेसम्म घर बनाउनुभएको भएको छैन’, इकाइ गोरखाका प्रमुख रामशरण आचार्यले भने, ‘कतिले डिपिसीसम्म गर्नुभएको छ तर दोस्रो किस्ताका लागि पहल गर्नुभएको छैन ।’ पहिलो किस्ता बुझेकामध्ये केही लाभग्राहीले आर्थिक अभावका कारण घर नबनाएको र कतिपय अनावश्यक व्यक्तिले समेत रकम बुझेकाले सत प्रतिशत प्रगति निस्कन समस्या भएको प्राधिकरणले बताएको छ ।

दोस्रो किस्ता बुझेकामध्ये पनि ८ हजार ८ सय ३८ लाभग्राहीले घर निर्माण नसकेका कारण तेस्रो किस्ता पाएका छैनन् । ‘घर आवश्यक नपरे पनि सरकारले पैसा दिइहाल्यो भनेर डिपिसी गरेका कतिपयले त्यसपछिको कामलाई निरन्तरता दिनुभएन’, आचार्यले भने ।

लाभग्राहीको सूचीमा समावेश भएकामध्ये पनि ६ हजार ३ सय २ जनाले अहिलेसम्म पनि पहिलो किस्ता नै बुझेका छैनन् । यसमध्ये कतिपय भूमिहीनसमेत छन् । ५ हजार ३ सय १९ प्रवलीकरण लाभग्राहीको सूचीमा छन् । प्रवलीकारणमा नाम समावेश भएकामध्ये १ हजार ३ सय ७९ ले मात्र अनुदान सम्झौता गरेका छन् ।

लाभग्राहीको सूचीमा नाम भएका र पहिलो किस्तासमेत लिएका १९ जनाले रकम फिर्ता गरेका छन् । घर बनाउन नचाहेका र आर्थिक र पारिवारिक जटिलताका कारण घर बनाउन असमर्थ १९ जनाले रकम प्राधिकरणको खातामा जम्मा गरेका छन् ।

२९० स्कुल भवन बने
जिल्लाभर भत्किएका ४ सय ३३ विद्यालयमध्ये २ सय ९० का भवन बनेका छन् । ४० माध्यमिक र २ सय ५० आधारभूत विद्यालय भवन बेनका छन् । ५९ माध्यमिक र ६० आधारभूत गरी १ सय १९ विद्यालयका भवन निर्माणाधीन छन् ।

जिल्लाका १८ वटा विद्यालय प्रवलिकरणको सूचीमा सिफारिस भएका छन् । तर निर्माण हुन र स्रोतसमेत जुट्न बाँकी रहेका केही विद्यालय भने ‘मर्ज’ हुने प्रक्रियामा छन् । विद्यालय पुनर्निर्माणमा इकाइसँगै जाइका, एडिबी, युनिसेफ, जिएनआई, लायन्स क्लब, सेभ द चिल्ड्रन, नेपाल युथ फाउन्डेसन र भारत सरकारले सहकार्य गरेका थिए ।

चुम्चेतबाहेक सबै स्वास्थ्य चौकी भवन बने
जिल्लामका ५५ वटा स्वास्थ्य चौकी पूर्ण ध्वस्त भएका थिए भने २२ वटा क्षतिग्रस्त थिए । तीमध्ये उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाको चुम्चेत स्वास्थ्य चौकीबाहेकमा भवन निर्माण सम्पन्न भइसकेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । भूकम्प गएका ४ बर्ष बित्दासमेत जिल्ला अस्पताल गोरखाको भवन पुनर्निर्माण सुरु नै भएको छैन । ध्वस्त भएको पुरानो भवनलाई भत्काएर सोही स्थानमा नयाँ भवन बनाउने भनिए पनि अहिलेसम्म बोलपत्रसमेत आह्वान हुन सकेको अवस्था छैन । जर्मनको केएफडब्लुको सहयोगमा ५० बेडको ४ फ्ल्याटको भवन बन्ने स्टिमेटसम्म बनेको छ ।

गोरखा दरबार अपूर्ण
भूकम्पले क्षति पुर्‍याएको गोरखा दरबारको पुनर्निर्माण सुरु भएको १ वर्ष भयो । गएको वर्ष वैशाख ७ गते विधिपूर्वक जगपूजा गरी पुनर्निर्माणसुरु भएको थियो । तर यो अवधिमा पुनर्निर्माण करिब २० प्रतिशतमात्रै भएको गोरखा दरबार हेरचाह अड्डाले जनाएको छ । ठेकेदार कम्पनीको लापरवाही र आवश्यक निर्माण सामग्री समयमै जुटाउन नसक्दा पुनर्निर्माण सुस्त भएको हो । श्री पचली भैरव ÷शिवाको जेभीले आगमी मंसिर मसान्तसम्म सक्ने गरी कामको जिम्मा लिए पनि काम सक्ने छेकछन्द छैन ।

पुनर्निर्माणका लागि ऐतिहासिक दरबार जगैसम्म भत्काइएको छ । पुनर्निर्माणका लागि ठेकेदार कम्पनीसँग ४ करोड ३२ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको हो । जिल्लामा भूकम्पले भत्काएका अन्य धार्मिक एवं ऐतिहासिक स्थलसमेत पुनर्निर्माण हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया