सौरु र सिर्कुमवासीलाई कहिलेसम्म सास्ती ?

समाधान संवाददाता २०७६ साउन १९ गते १७:१२

बाढीले बगाएका सौरु–सिर्कुम जोड्ने पक्की पुलका संरचना । तस्विरः सञ्जीव थकाली

एसके थकाली, जोमसोम

मुस्ताङको थासाङ २ को कालीगण्डकी नदीमा पुल नहुँदा स्थानीय सास्ती भोग्न बाध्य छन् । सौरु २३ र सिर्कुमका ९ घरधुरी कालीगण्डकी नदीकै कारण समस्यामा परेका हुन् ।

Advertisement

यी गाउँ कालीगण्डकी पारि छन् । बेनी जोमसोम मुख्य सडक र वडा तथा गाउँपालिका कालीगण्डकी वारि पश्चिममा पर्छन् । गाउँपालिका दुरीको हिसाबले ८ किलोमिटर पनि छैन तर कालीगण्डकीमा पुल नहुँदा समस्या छ । सिधै खोेलो तरे १५ मिनेटमै पुगिन्छ गाउँपालिका र मुख्य सडक । तर, बर्खायाममा १५ मिनेटको बाटो छाडेर ३ घण्टा लामो बाटो हिड्नुपर्छ ।

हिउँदमा नदीको बहाब कम हुँदा तर्न सकिन्छ । गाउँका केही युवा भने ज्यानकै बाजी लगाएर वर्खामा पनि नदी वारपार गर्छन् । बालबालिका, वृद्ध, अपांग र महिलाका लागि घुम्नुको विकल्प छैन । गाउँलेहरु वर्खा सुरु हुनुअगावै असोजसम्म चाहिने खाद्यान्न जोहो गर्छन् । माध्यमिक शिक्षा पढाइका लागि नदीवारि कोवाङ आउनु पर्छ । वर्खा याममा नदीकै कारण बालबालिका विद्यालयकै आश्रय लिएर पढ्नुपर्ने बाध्यता छ ।

Advertisement

लार्जुङ, कोवाङ र खन्तीका स्थानीयका पनि सौरुको लेकमा आधा दर्जन चौरी गोठ छन् । बर्खामा बाढी आउँदा चौरी खर्क पुग्न समेत यहाँका गाउँलेलाई कठिन रहेको खन्तीका गौतम शेरचनले बताए । सौरु सिर्कुम गाउँ र वडा तथा गाउपालिका र मुख्य सडकबीच कालिगण्डकी नदीको फैलावट करिब ८ सय मिटर छ । बस्ती र पालिकाको बीचमा नदीको क्षेत्रफल ठूलो भएकाले पुल बनाउनसमेत कठिनाइ छ ।

२०६७ सालमा साबिक जिविस मुस्ताङ र स्थानीय साधन, स्रोत र जनश्रमदानबाट पुल बनाइयो । पिल्लर उठाएर पुल बन्यो । पुल बनेर हौसिएका यहाँका बासिन्दाको खुसी निकै दिन रहेन । उद्घाटन हुन नपाउँदै भदौको बाढीले पिल्लर पुरिदियो, काही बगाइदियो । थासाङ २ का वडाध्यक्ष नरप्रसाद हिराचनले बर्खायाममा कालिगण्डकी नदीका कारण सौरु र सिर्कुमका स्थानीयले सास्ती भोग्नु परेको बताए । यी गाउँलाई जोड्न भौगर्भिक अध्ययन गरी पुल बनाउनुपर्ने उनले सुझाए । सौरुकै बासिन्दा हिराचनलाई आफ्नै वडा कार्यालय पुग्न बर्खामा ३ घण्टा हिड्नुपर्छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय पूर्वाधार विकास शाखाले थासाङ २ को कोवाङ र सौरु–सिर्कुम जोड्ने झोलुंगे पुल निर्माण गर्ने भएको छ । करिब ६ सय ५० मिटर लामो पुलको डिपिआरसमेत अन्तिम चरणमा पुगेको सस्पेन्सन ब्रिज डिभिजनका इन्जिनियर निरञ्जन अर्यालले जानकारी दिए । पुलका लागि सांसद प्रेमप्रसाद तुलाचनले पहल गरेका थिए ।

तपाईको प्रतिक्रिया