सबैको सोच फेरिनुपर्छः मन्त्री बस्नेत

समाधान संवाददाता २०७६ भदौ ६ गते १४:४२

फेदीखोला गाउँपालिका २ सम्मोचौरमा बहुद्देश्यीय सभा हलको शिलान्यासमा गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण । तस्बिरः अर्जुन काफ्ले

समाधान संवाददाता
स्याङ्जा

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले जनताले विकासको अनुभूति गर्न थालेको बताएका छन् ।

Advertisement

फेदीखोला गाउँपालिका २ सम्मोचौरमा बहद्देश्यीय सभा हल शिलान्यासपछि मन्त्री बस्नेतले एउटा शासन व्यवस्था अन्त्य गरेर फेरि नयाँ संरचना बनाउँदा काममा ढिलाइ भए पनि सरकारको बाँकी कार्यकालमा विकास देख्ने दाबी गरे । पुरानो सोंचले देशको परिवर्तन हुन नसक्ने बताउँदै मन्त्री बस्नेतले राजनीतिक नेता, नागरिक अभियन्ता सबैको साेंचमा परिवर्तन हुनुपर्नेमा जोड दिए ।

विगतमा पोखरा, काठमाडाैं, विराटनगर, चिवतन लगायतका निश्चित ठाउँको विकास हुने गरेको बताउँदै मन्त्री बस्नेतले गाउँको विकास र विभेदको अन्त्य गर्न संघीयताको खाँचो परेको बताए ।

Advertisement

अबको १ वर्षमा सबै घरधुरीमा आधारभूत खानेपानी पुर्‍याउने लक्ष्य प्रदेश सरकारले लिएको बताउँदै मन्त्री बस्नेतले १ वर्षमा हरेक घरमा बिजुली पुग्ने बताए । काठको पोल भाँच्चिएर महिनौं अँध्यारोमा बस्नुपर्ने बाध्यता नागरिकमा रहेको बताउँदै मन्त्री बस्नेतले आफ्नो कार्यकालमा काठको पोल अन्त्य गर्ने प्रदेश सरकारको दोस्रो निर्णय भएको सुनाए ।

हिउदँमा डोजर चलाएर ६ महिना सवारी साधन चल्ने र बाँकी समय हातमा जुत्ता लिएर हाफ पाइन्ट लगाएर हिँड्नुपर्ने बाध्यता रहेको बताउँदै मन्त्री बस्नेतले त्यसको अन्त्य गर्न प्रदेश सरकारले हरेक वर्ष हरेक प्रदेशमा १ बाटो पिच गर्दै अघि बढेको बताए ।
विकास गर्न राजनीतिक दलबीच एकता आवश्यक रहेको भन्दै मन्त्री बस्नेतले सरकार जसको भए पनि प्रतिपक्षको रचनात्मक सहयोग हुनुपर्ने बताए । मन्त्री बस्नतेले भने,‘ विकासका लागि मिल्नुुको विकल्प छैन ।’

संस्थागत भ्रष्टाचारको अन्त्य गर्नुपर्ने बताउँदै मन्त्री बस्नेतले गाउँमा आएको रकमको रेखदेख गर्न सबैलाई आग्रह गरे ।

मासु, तरकारी लगायत कृषि उत्पादनमा ध्यान दिनुपर्ने बताउँदै मन्त्री बस्नेतले सरकारको मात्र भर पर्न नहुने बताए । गाउँको विकासका लागि मोडेल फर्म र होमस्टे बनाउन आग्रह गर्दै मन्त्री बस्नेतले प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताए ।

५८ वटा गाउँपालिका रहेको गण्डकी प्रदेशमा विगतमा चौतारो, सहकारी भवन र विद्यालयमा टेन्ट टाँगेर कार्यक्रम गर्नु परेको बताउँदै मन्त्री बस्नेतले त्यसको अन्त्यका लागि गापासँग साझेदारी गरी सामुदायिक भवन बनाउन सक्रिय बनेको बताए ।

प्रदेशसभा सदस्य मीनप्रसाद गुरुङले हरेक समय विकासमा हातेमालो गर्न प्रदेश सरकार तयार रहेको बताए । उनले काम गर्न रकम अभाव नहुने भन्दै रकम व्यवस्था गर्न प्रदेश संसद तयार रहेको उल्लेख गरे ।

नेकपाका गापा अध्यक्ष खड्कबहादुर रानाभाट, नेकाका सभापति महेन्द्र श्रेष्ठ, गाउँपालिका अध्यक्ष घनश्याम सुवेदी, उपाध्यक्ष देवी थापा लगायतले बोलेका थिए ।

बहुद्देश्यीय भवन प्रदेश सरकारको ६० र गाउँपालिकाको ४० प्रतिशत साझेदारीमा बन्न लागेको हो ।

भवनका लागि ९६ लाख १६ हजार ८ सय १ रुपैयाँ २७ छुट्याइएको छ । आगामी वैशाख २८ गतेसम्म निर्माण सक्ने गरी आकृति मालिका कन्स्ट्रक्सन कुपनडोल ललितपुरले ठेक्का लिएको हो ।

तपाईको प्रतिक्रिया