विक्रमले सम्झिए अरुण थापा
विकास रोकामगर
पोखरा
‘गायक अरुण थापालाई अरुण थापा बनाउने मान्छे नै विक्रम गुरुङ हो,’ साहित्यकार सरुभक्तले भन्दै थिए, ‘भन्दा धेरै गुणगान गाको जस्तो हुन्छ होला । तर, ऊ प्रतिभा भएकै व्यक्ति हो । अहिले बाहिर गएर मेरो यत्रो गुणगान किन गाइस् भन्ला !’
सरुभक्त रोकिएनन् । ‘मलाई लाग्छ संसारमा २ प्रकृतिका मान्छे हुन्छन् । एउटा कम काम गर्छ र बढी प्रशंसाको भोको हुन्छ । अनि अर्को हुन्छ ‘काम गर्ने तर प्रशंसादेखि टाढा बस्ने,’ अघि भन्दै गए, ‘मलाई विक्रम दोस्रो प्रकृतिको मान्छे लाग्छ ।’
विक्रम गुरुङ अर्थात गीतकार, संगीतकार अनि गायक पनि । पछिल्लो पुस्ता प्राय यो नामसँग परिचित छैनन् । तर, एक समय उनले लेखेका र भरेका संगीतले संगीतिक बजार तताएको थियो भन्दा फरक नपर्ला । कुनैकुनै रिमेक भएर बजारमा आएका छन् त कुनै पुरानै धुनमा बजिरहन्छन् ।
गीतकार विक्रम गुरुङलाई नचिने पनि गायक अरुण थापाको नाम भने नेपाली पुराना आधुनिक गीत मन पराउने स्रोताका लागि नौलो होइन । ‘भूँलूँ लाग्यो मलाई’, आँखाको निद चोरी’ लाने लगायत गीतका गायक हुन् थापा । तर, धेरैलाई नहुन सक्छ यी गीत लेख्ने गीतकार हुन्, विक्रम गुरुङ । जो चर्चाबाहिर छन् ।
साहित्यकार सरुभक्त र गुरुङ मिल्ने साथी हुन् । उनीहरुबीच मित्रता गाँसिएकोमात्रै ५२ वर्ष भइसकेको छ । गुरुङ सरुभक्तलाई सरुभक्त होइन ‘भक्त’ मात्रै भन्न रुचाउँछन् । उनीहरुबीच मित्रता गाँसिदा भक्तबहादुर श्रेष्ठ ‘सरुभक्त’ भइसकेका थिएनन् । ‘विक्रम र मेरो भेट आदर्श आवासीय स्कुलको कक्षा ६ मा भएको थियो,’ सरुभक्तले सुनाए, ‘त्यसबेलादेखि युनिभर्सिटीसम्मको यात्रा सँगै ग¥यौं ।’ आदर्श अर्थात अहिलेको गण्डकी बोर्डिङ स्कुल ।
सरुभक्त र विक्रम स्कुले जीवनमा आफूपछि कुन क्षेत्रमा लाग्ने भन्ने निक्र्यौल गरिसकेका थिएनन् । तर, जब क्याम्पस आए त्यसपछि भने आफू हिँड्ने बाटो भेट्टाए । सरुभक्त साहित्यमा लागे विक्रम संगीतमा । सरुभक्त भन्छन्, ‘विक्रम मेरो पहिलो नाटकको पहिलो कलाकार पनि हो ।’
शनिबार पोखरा थियटरले तिनै गीतकार विक्रम गुरुङको जीवन गाथा सुन्ने बन्दोबस्त मिलायो, कार्यक्रम ‘जीवन वृत्तान्त’ मार्फत । उमेरको १ किनारमा उभिएर उनले सम्झिए, ‘बालापन, स्कुले जीवन, साथीसंगी, गुरु गुरुआमा, कला, संगीत, भारतदेखि पोखरा र पोखरादेखि हङकङसम्मको यात्रा…’
स्टेजमा उक्लिएर सबैभन्दा पहिले गुरुङले पर्दामा फेवातालको तस्बिर देखाए र भने, ‘यहीं किनाराबाट टाढाको एउटा पहाड देख्न सक्नुहुन्छ । हो, त्यही हो मेरो गाउँ ।’ उनको गाउँ अर्थात अहिलेको पोखरा २३ भदौरे तामागी । त्यसपछि उनले एउटा पुरानो घर देखाए र भने, ‘यही हो मेरो घर । तर, अहिले त्यो घर छैन । फेरि बनाउँछु भनेको सकिएन ।’
विक्रमका हजुरबा र बा दुवै भारतीय सेनामा जागिरे । बाको जागिरका सिलसिलामा उनको बालापन भारतको देहरादुनमै बित्यो । त्यहाँ उनले क्याम्ब्रिन हल स्कुलमा अध्ययन गर्ने मौका पाए । ‘भारतमै मैले नेपाली, अंग्रेजी र हिन्दी भाषा एकैचोटि जान्ने मौका पाएँ,’ उनले बालापन सम्झिए, ‘धेरै भाषा एकैचोटि सिक्दा पनि कुनै समस्या नहुँदो रहेछ ।’
क्याम्ब्रिन हलमा पढाइ ठीकै (उनकै भाषामा) र खेलकुद राम्रै हुँदै थियो । तर, त्यहीबेला बाको जागिरे जीवन सकियो । जागिर सकिएपछि उनीहरु नेपाल फिर्ता आउनुपर्यो । त्यतिबेला उनले कक्षा ५ पास गरिसकेका थिए । २०२३ तिरको कुरा हो, पोखरामा बाटो खुलिसकेको थिएन । जहाज चढेर पोखरा आए र पोखरामै बास बसेर अर्को दिनमात्रै फेवाताल पारि रहेको आफ्नो गाउँ पुगे ।
भारतमा राम्रो मानिने स्कुलमा पढेका विक्रमका बाले पोखरामा पनि राम्रै बोर्डिङ स्कुलमा भर्ना गर्ने सोच बनाएछन् । तर, त्यति बेला बोडिङ स्कुलको नाममा एउटा थियो, आदर्श आवासीय स्कुल । बासँगै हिँडेर पोखरा लामाचौरमा रहेको त्यो स्कुलमा पुगे । शिक्षक गोरो वर्णका थिए अर्थात विदेशी नागरिक ।
भारतमा अंग्रेजी माध्यम पढेका विक्रमलाई अलिअलि बोल्न आउँथ्यो । मास्टरको गोरो छाला देखेर बाले पनि तैं आफैं कुरा गर् भनेछन् । त्यसपछि उनी आफैं अघि सरेर अंग्रेजीबाट म यहाँ भर्ना हुन आएको भनेछन् । तर अचम्म ! अंग्रेजीबाट प्रश्न सोधेका सरले प्रष्ट नेपालीमै उत्तर दिएछन् । ‘पहिलो पटक कोही गोरे नेपाली बोलेको सुनें । कस्तो अचम्म लाग्यो,’ उनले सम्झिए, ‘पछि थाहा भो ती सर त कोलिन स्मिथ रैछन् ।’ (स्मिथ अहिले पुतली बाजेका नामले परिचित छन् ।)
कक्षा ६ मा भर्ना भए, त्यही कक्षामा पहिलो पटक भेटेका हुन् उनले साथी भक्तबहादुर श्रेष्ठलाई । अर्थात साहित्यकार सरुभक्तलाई । त्यही भेट नै उनीहरुबीच गहिरो अटुट मित्रता गाँस्ने माध्यम बन्यो । ‘त्यसपछि हामीले युनिभर्सिटीसम्म सँगै पढ्यौं । एउटै कोठा, एउटै ओछ्यान र एउटै भान्सा प्रयोग गर्यौं । अहिले पनि हामी एकदमै नजिकका साथी हौं,’ विक्रमबारे प्रकाश पार्न स्टेजमा उक्लिएका सरुभक्तले सम्झिए ।
अरुण थापासँगको त्यो भेट
बिएस्सी पढ्न काठमाडौं गएका विक्रमलाई त्यहाँको वातावरणले स्वीकारेन । गएको १ महिनामै फर्किए । पोखरा फर्किएको ६ महिनापछि १ दिन अचानक कसैले एउटा मीठो गीत गाइरहेको सुने, ‘हम दोनो दो प्रेमी….’
गीत मिठो थियो । कसले गाउँदैछ ? विक्रमलाई चिन्न उत्सुकता जागेछ । तर जब नजिक पुगे गीत बन्द भयो । ‘म नजिक पुग्दा किन गीत गाउन छोडेको होला भनेको त गाउनेले गीतको दोस्रो स्टान्जा नै बिर्सेको रहेछ,’ उनले सम्झिए । चोकमा उभिएर सुमधुर हिन्दी गीत गाउने अरुण थापा थिए । त्यही नै उनले पहिलो पटक अरुणलाई भेटेका थिए ।
अम्बर गुरुङसँग नजिक भए पनि विक्रममा संगीतको भोक जागेको थियो । त्यही भोकले पोखरेली सांस्कृतिक परिवार खोल्न मद्दत गर्यो । त्यही भोकले पाखराकै पहिलो ब्यान्ड अन्नपूर्ण ब्यान्ड खोल्न सघाउ पुग्यो । पछिका दिनमा पनि संगीतमा रुचि भएकै कारण अरुण र उनको भेट भइरहन्थ्यो । तर, दुवैको आफ्नै सिर्जना भने रेकर्ड भइसकेको थिएन ।
‘अरुण प्राय हिन्दी गीत गाउँथ्यो । जहिल्यै अरुको गाउने । आफ्नो गाऊ भन्नेबेला केही छैन । अरुले गीत गाउन रियाज गर्नुपथ्र्यो । तर, उसले गायकको भन्दा राम्रो गाउन सक्थ्यो,’ विक्रमले भने, ‘उसो त म पनि गीत लेख्थें, संगीत भर्थें । मेरो पनि रेकर्ड थिएन । उसको र मेरो भेट भएको धेरैपछि मात्रै मेरा गीत गाउन थालेको हो ।’
गीत संगीतमा जमिरहेकै बेला विक्रम हङकङको एउटा स्कुलमा शिक्षक भएर उडे । त्यहाँ उनले जीवनको लामो समय बिताए । हङकङमा अवकाश लिइसकेपछि नेपाल फर्र्किएका उनले केही समयअघि काठमाडौंमा प्लेंटीमा एकल प्रस्तुति दिइसकेका छन् । अहिले उनी भदौ २७ गते पोखरा उद्योग वाणिज्य संघको हलमा हुन लागेको तेस्रो एकल प्रस्तुतिको तयारीमा जुटेका छन् ।
जीवन वृत्तान्तमा यस अघि शिक्षाविद् जोर्ज जोन र कार्टुनिस्ट दुर्गा बरालले आफ्ना जीवन कथा सुनाइसकेका छन् । कार्यक्रमका परिकल्पनाकार तथा साहित्यकार तीर्थ श्रेष्ठले प्रत्येक महिना पोखरासँग सम्बन्धित व्यक्तित्वको कथा उनीहरुबाटै सुनाइने बताए । उनले भने, ‘हामीसँग आआफ्ना संघर्षका कथा छन् । तर ती डकुमेन्टेसनका रुपमा छैनन् । जीवन वृत्तान्तमा सुनिएका कथा हामीले कृतिका रुपमा प्रकाशन गर्ने योजना बनाएका छौं ।’
तपाईको प्रतिक्रिया