विक्रमको एकल गायन

समाधान संवाददाता, पोखरा
गायक विक्रम गुरुङको एकल गायन कार्यक्रम ‘लयमा विक्रम’ तयारी भएको छ । भदौ २७ गते शुक्रबार पोखरा उद्योग वाणिज्य संघको सभाहलमा हुने आयोजक पोखरेली युवा सांस्कृतिक परिवारले जनाएको छ । कार्यक्रममा गुरुङलाई पोखराका आधा दर्जन सांगीतिक संस्थाले अभिनन्दन गर्ने छन् ।
पोखरेली युवा सांस्कृतिक परिवार, हिमाली सांस्कृतिक परिवार, संगीत प्रशिक्षण केन्द्र, सप्तरंगी सांस्कृतिक परिवार, पोखरा सांगीतिक कलाकार संघ र हार्मोनीले सामूहिक सम्मान गर्ने संस्थाका अध्यक्ष प्रकाश ज्ञवालीले जानकारी दिए । ‘भुलूँ भुलूँ लाग्या मलाई सपनीमा मीठो लाग्दैन विपनी….आँखाको निद चोरी लाने ह्रदयको तरङ छेडी जाने…’ जस्ता कालजयी गीतका स्रष्टा विक्रम गुरुङले कार्यक्रममा १७ वटा गीत प्रस्तुत गर्ने छन् । पोखरेली युवा सांस्कृतिक परिवारका संस्थापक सदस्य विक्रम गुरुङलाई संस्था स्थापनाको ४२ वर्षपछि परिवारले नै एकल गायनमा प्रस्तुत गर्नु संस्थाको गौरव भएको संस्कृतिकर्मी तीर्थ श्रेष्ठले बताए ।
हङकङमा लामो समय शिक्षण पेसा गरेर रिटायर्ड भएका गुरुङले गत वर्ष हङकङमा ‘विक्रम गुरुङ संगीत यात्रा’ सम्पन्न गरे भने गत महिना नेपालयको ‘आर’ शालामा पलेटी शृंखलामा आफ्नो गायन प्रस्तुत गरेका थिए । चर्चामा आउन नचाहने गुरुङले गायक अरुण थापालाई ‘अरुण थापा’ बनाएको दावी गर्छन् उनका सहपाठी साहित्यकार सरुभक्तले । ‘कतै टाढा तिमीबाट पुगें भने, कल्पेर नबस्नु’ गायक थापाको आवाजमा रेकर्डड भएको पहिलो गीतमा उनैले संगीत भरेका थिए ।
पोखरा सहर र फेवातालभन्दा पश्चिम तामागी गाउँमा जन्मिएका विक्रम गुरुङले दीपेन्द्र प्रहरी स्कुल, पृथ्वीनारायण क्याम्पस हुँदै हङकङसम्म पुगेर लामो समय शिक्षण पेसामा आवद्ध भए । उनको रहर नै गीत संगीतमा रहेकाले शिक्षणबाट रिटायर्ड भए पनि लयमा फर्किएका छन् विक्रम गुरुङ । पोखरेली युवा सांस्कृतिक परिवारका कोषाध्यक्ष मोती भुजेलले ‘लयमा विक्रम’ कार्यक्रम सम्पन्न गर्न ३ लाखभन्दा बढी खर्च लाग्ने हुँदा पोखरा महानगरपालिका र लक्ष्मी गु्रप पोखराले आर्थिक सहयोग उपलब्ध गराउने जानकारी दिए ।
तपाईको प्रतिक्रिया