चेतन गाेतामेलाई नेपाल लाेक स्टारकाे विजेता बनाउन सहयाेगकाे अपिल

समाधान संवाददाता २०७६ असोज २९ गते १५:११

समाधान संवाददाता
पोखरा

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल अञ्चल कार्य समिति गण्डकीले आइएमई नेपाल लोक स्टारको टप ४ मा पुग्न सफल गण्डकी प्रदेशका कलाकार चेतन गोतामेलाई उपाधि दिलाउन सहयोगको अपिल गरेको छ ।

प्रतिष्ठानले योग्य र असल स्रष्टा चेतन भएको उल्लेख गर्दै सबै मिलेर जिताउन आग्रह गरेको हो । प्रतिष्ठानका अध्यक्ष सुरेन्द्र गुरुङले चलचित्रमा नायकको भूमिका पछाडि आए जस्तै प्रतिष्ठानले उनलाई जिताउन भूमिका खेल्ने बताए । ‘चेतन लोक स्टारको विजेता बन्न लायक कलाकार हुन्,’ अध्यक्ष गुरुङले भने, ‘सुमधुर स्वरको धनी गायक चेतनलाई जिताउन सबैको सहयोग आवश्यक छ ।’ अध्यक्ष गुरुङले अग्रजलाई सम्मान र नवप्रतिभालाई प्रोत्साहन प्रतिष्ठानको अभियान भएको बताए ।

Advertisement

चेतन गोतामे जिताऔं अभियानका संयोजक राजु गुरुङले स्याङ्जाको वालिङ नगरपालिका १२ को कालिका युवा क्लबबाट सुरुआत गरेको अभियान गण्डकी प्रदेशको सदरमुकाम पोखरासम्म आएको जनाए । गायक चेतन गोतामेले १० वर्षदेखि गायन क्षेत्रमा लागेको बताए । लोक स्टारको उपाधि जित्ने आत्मविश्वासका साथ अभियानमा लागेको जानकारी दिँदै उनले आफूले जितेमा ताज लगाउने र नजिते पनि मौलिक लोक संस्कृति जगेर्नामा लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकीका वरिष्ठ उपाध्यक्ष केशव देवकोटा, सचिव राजन कार्कीले गायक गोतामेलाई जिताउन सबैसँग आग्रह गरे । आइएमई नेपाल लोक स्टारको ग्रान्ड फिनाले कात्तिक ८ गते काठमाडौंमा हुँदै छ ।

Advertisement

तपाईको प्रतिक्रिया