लक्ष्मण थापाको एकल कवितावाचन

समाधान संवाददाता २०७६ माघ २ गते ११:४९

पुष्पराज चापागाईं
पोखरा

लक्ष्मण थापा आफैं स्वीकार्छन्, अलि ढिला लेख्न सुरु गरें । २०५८ पछि अर्थात ४० कटेपछि मात्रै लेख्न थालेका उनी स्थापित कवि तथा गजलकार भइसकेको अर्का गजलकार दीपक समीप बताउँछन् । कहिले गजल त, कहिले मुक्तक लेख्छन् अनि कहिलेकाहिँ कविता पनि कोर्छन् ।

कविताका किताब भने निकालेका छैनन्, गजल र मुक्तकका गरी ४ कीर्ति भने प्रकाशित भइसके । तिनै थापाको कवि अवतार माघे संक्रान्तिका दिन पोखरा जिरोकिलोमिटरको दुरान रेस्टुरेन्टमा प्रकट भयो ।

Advertisement

पुछारसिटे अभियानको चाँजोपाँजोमा थापा एकल कविता वाचनमा उभिएका थिए । सुरुमा उनी पुछारसिटैमा थिए । ‘राष्ट्रलाई महत्वपूर्ण मस्तिष्क पुछारसिटमा भेटिन सक्छः एपिजे अब्दुल कलाम’ लेखिएको ब्यानर मुन्तिरको कुर्ची खालि नै थियो । जब गजलकार दीपक समीपले कवि लक्ष्मण थापालाई डाके तब उनी मञ्च सोझिए । कविता भन्दैभन्दै उनी मञ्चमा उक्लिँदै गर्दा अग्रज साहित्यकार सरुभक्तले माला पहिर्‍याई दिए ।

नवनीत साहित्य सागर स्थापनासँगै साहित्यमा कलम चलाउन थालेका लक्ष्मण थापाले पोखरेली युवा सांस्कृतिक परिवार, कविहरु सरुभक्त, तीर्थ श्रेष्ठ र प्रकट पँगेनीको प्रभावका कविता लेख्न थालेको सुनाए । सँगै उनले सम्झिए, अक्षरयात्रा, गजल सन्ध्या र मुक्तक मञ्चलाई पनि ।

Advertisement

गजलकार समीपले थापाका सिर्जना सरल तर बिम्बात्मक हुने गरेको सुनाए । ‘उहाँ पानीजस्तै स्वच्छ र सफा हुनुहुन्छ,’ समीपले भने, ‘जत्रो भाँडामा राखे त्यत्रै र जस्तो भाँडामा राखे त्यस्तै, जोसँग पनि मिल्नसक्ने ।’ समाजका जुनसुकै विषयमा पनि थापाका सिर्जनामा समेटिने गरेको समीपले सुनाए ।

थापाले डेढ दर्जनजति कविता वाचन गर्दै गर्दा बाल्यकालमै स्कुलमा कविता लेखेर फस्ट भएको पनि सम्झिए । गाउँमा छिमेकी दिदीले लोककथा सुनाउने गरेको र त्यसदेखि नै काव्य रसको अनुरागी बनेको प्रसंग पनि कोट्याए । कलेजका दिन पनि सम्झिए । कलेजका दिन सम्झिँदा प्रेमिल कविता वाचन गरे । अघिल्तिर बसेका प्रकट पँगेनीले बौद्धिक कविताको संज्ञा दिइहाले । थापाले भने, ‘मैले त प्रेमिल भनेको दाइले बौद्धिक भन्नुभयो ।’ फेरि प्रकटले भने, ‘प्रेमिल पनि र बौद्धिक पनि ।’

साहित्यकार सरुभक्तले थापालाई छिटै कविता कृति प्रकाशन गर्न शुभकामना दिए । साहित्यकारद्वय सरस्वती श्रेष्ठ सरु र अमृत सुवेदीले लक्ष्मण थापालाई कविता वाचनमा सघाएका थिए ।

तपाईको प्रतिक्रिया