महोत्सवमा डकुमेन्ट्री र सांस्कृतिक कार्यक्रम

समाधान संवाददाता २०७६ माघ ६ गते १२:२४

समाधान संवाददाता
पोखरा

पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सव छैटौं दिनसम्म आइपुग्दा दर्शकको सहभागिता बढ्दै गएको छ । महोत्सवमा आवश्यक सामग्री किन्नेसहित सांस्कृतिक कार्यक्रम र डकुमेन्ट्रीले दर्शकलाई आकर्षण गरेको छ ।

माघ १२ गतेसम्म चल्ने दशौ संस्करणको महोत्सवमा शिक्षाको महोत्व बारे जानकारी दिने उद्देश्यले निर्माण गरिएको कखरा वृत्तचित्र प्रदर्शन गरिएको छ । वृत्तचित्र हेर्न महोत्सवमा विद्यार्थी, शिक्षक र अभिभावक आएका छन् । सत्य, तथ्य र अनुसन्धानात्मक डकुमेन्ट्री कखरामा राम्रो शिक्षाका लागि विद्यालय, विद्यार्थी, शिक्षक र अभिभावकको भूमिका कस्तो हुनुपर्छ भन्ने प्रकाश पारिएको छ । अभिभावक र विद्यालयका कर्मचारीको लापरवाहीका कारण विद्यार्थीले भोग्नुपर्ने समस्या डकुमेन्ट्रीमा देखाइएको निर्माता विनोद लामाले बताए ।

Advertisement

एक्स्ट्रा एंगल गर्बु फिल्म्स प्रालि काठमाडांैको ब्यानरमा निर्मित कखरामा नेपाली रंगमञ्च क्षेत्रमा ख्यातिप्राप्त कलाकार राजेश हमाल, भूपेन चन्द, गजित विष्ट, सौजन्य सुब्बा, सञ्चारकर्मी श्रीकृष्ण न्यौपाने लगायतले अभिनय गरेका छन् । यसमा गिनिज बुकमा सवैभन्दा कलिलो उमेरको निर्देशकका नाम लेखाउन सफल ८ वर्षीय सौगात विष्टले पनि अभिनय गरेका छन् ।

महोत्सवमा आइतबार चर्चित लोकदोहोरी गायक पुरुषोत्तम न्यौपानेको प्रस्तुतिमा दर्शकले भरपुर मनोरञ्जन लिए । जीवन दाहाल, कृष्ण सुवेदी, नेत्र गुरुङ, टेक क्षेत्री, लक्ष्मी मल्ल, सुनीता नेपाली, सविना गुरुङ, शान्ति डोटेल लगायतले पनि आफ्ना प्रस्तुति राखे । ममता कुमाल र कृष्ण सुवेदीको दोहोरीमा दर्शकले साथ दिए ।

Advertisement

आइतबार नेपाल पुनमगर समाजको सांस्कृतिक प्रस्तुतिले दर्शकलाई मगर संस्कृतिबारे जिज्ञाशु बनायो । साँझ पप कन्सर्र्टमा आशीष राना लाहुरेसँगै स्थानीय ब्ल्याक रोजको प्रस्तुतिमा युवा रमे । महोत्सवमा आयोजित विद्यालय स्तरीय खुला लोक नृत्य प्रतियोगितामा सूर्योदय बोर्डिङ स्कुल फाइनल प्रवेश गरेको छ । अल्फा बोर्डिङ स्कुल र अञ्जुुली आवासीय विद्यालयलाई पछाडि पार्दै सूर्योदय फाइनल प्रवेश गरेको हो । प्रतियोगिता अन्तर्गत सोमबार वेसलाइन एकेडेमी, लेखनाथ विभूति, सरस्वती सेकेन्डरी स्कुल र राइजिङ स्टारबीच प्रतिस्पर्धा हुनेछ ।

सोमबार लोकदोहोरीतर्फ रामजी खाँड, जीवन दाहाल, टेक क्षेत्री, कृष्ण अखेली, पार्वती जिसी, ज्योति लोहोनी, केशव देवकोटा, सरस्वती लामिछाने लगायतको प्रस्तुति रहनेछ । दर्शकलाई दीपक थापाले हसाउने छन् । तेर्सापट्टि तायामचा समितिले लाखे नाच देखाउनेछ ।

सोमबार साँझको पप कन्सर्टमा सुगम पोख्रेल एन्ड बाजागाजा ब्यान्डसँगै स्थानीय द फेयर मेसिनको प्रस्तुति रहने महोत्सवका सांस्कृतिक उपसमिति संयोजक राजु श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया