आशीषः द बड्डा

समाधान संवाददाता २०७६ माघ २६ गते १४:४६

केही दिन अघिमात्र म क्यान्डन इन गएको थिएँ । त्यहाँ २ थोक विशेष थिए । गार्डेनमा फर्फराई रहेको झण्डा र रिसेप्सनमा मुस्काइरहको बड्डा ।

पोख्रेली रंगमञ्च सुस्ताउँदै गर्दा साथीहरुले नाटकको तयारी गरे । हामी नाटकमा जुट्यौं । सोही क्रममा करिब २ महिना लेकसाइडको होटल क्यान्डल इनको कोठा नम्बर २१६ मा हामीले आश्रय लिएका थियौं ।

प्रेम अनायास हुन्छ । मलाई कसैको प्रेमको आभाष पनि अनायास भएको थियो । होटलका व्यवस्थापक मेरा मित्र आशिषले मप्रति दर्शाएको प्रेमको महत्व म वर्णन गर्न सक्दिन । गहुँगोरो मुखमण्डल भएका उनि असाध्यै मीठो देउडा गाँउछन् । उनले भन्ने बड्डा शब्दको झयर मेरो अन्तस्करणमा झन्किरहेको हुन्छ । ती मासुम आँखा, पश्चिमेली लबज, मप्रतिको हार्दिकता, उनी साँच्चै प्रिय छन् ।

Advertisement

‘मेरा घरमा ५५ जना छन् ।’ उनले घरबारे कुरा सुनाए । ५५ जना ! सुन्नासाथ मेरो छोटो जिब्रो ह्वात्तै बाहिर निस्किएको थियो । विद्यालयको पाठ्यक्रममा मैले पढेको संयुक्त परिवारको परिभाषा नमिल्दो थियो उनको परिवारमा । संयुक्त भन्दा पनि अतिसंयुक्त लाग्ने, सोच्दै जाँदा मनमा एउटा विचार सिजना भयो ।

‘कोही मरिहाले पनि घरबाहिरका मलामी चाहिन्न होला है ।’ गम्दै म एक्लै हाँस्थें । उतिका सँख्यामा रहेका परिवारका सदस्यलाई पाल्न उनका बाबुआमा फिरन्ते जीवन बिताउँदै व्यापार गर्थे । बुबाआमाको फिरन्ते जीवनका कारण उनको पठनपाठनमा समस्या देखियो । गाउँमा २ कक्षा पढ्यो बाआमा नेपालगञ्ज झर्छन्, फेरी १ कक्षामा भर्ना । नेपालगञ्जको बोर्डिङमा अंग्र्रेजीका ठेली रट्दै गर्दा बा–आमा बाजुरा फर्किए । उनिहरुसँगै फर्कियो त्यो सानो बालक र फेरि कक्षा दोहोर्‍याएर बाजुरामा अध्ययन । जीवनले उनलाई उचाल्दै पछार्दै अहिलेको अवस्थामा पुर्‍यायो, म्यानेजर अफ क्यान्डल इन ।

Advertisement

नाटकको रिहर्सल राति हुन्थ्यो । मदिराले मन्सिएका साथीहरुसँगै मदिरादेखि पन्छिएको म मध्यरातमा होटल पुग्थें । भोको पेट, म सुतेको उनलाई उठाउन वाध्य थें । किचन बन्द, स्टाफ घर गइसकेका । उनले निकैपटक किचन खोली आफैंले खाना बनाएर मेरो भोक कटाएका छन् । सुतिसकेको होटलको म्यानेजर किचन खोली मध्यरातमा खाना पकाएर मलाई खुवाउँछ, प्रेमको त्योभन्दा विराट रुप के हुन सक्ला ?

त्यो २ महिना लामो बसाइमा महिनादिन त मेरो पोसाकप्रतिको जिज्ञाशाले उनलाई बारम्बार प्रश्न गर्ने बनायो । मैले उनलाई पछि भन्छु भन्दै भोलिवाद अँगालिरहें । हरदिन हररात पोसाके प्रश्नमात्र गरिरहेका कारण महिनादिनपछि मैले पोसाकको भेद उतारिदिएँ । कथा सकिँदा उसका आँखा भिजेका थिए मेरा जसरी । त्यसपछि त झनै हाम्रो सम्बन्धको इन्ट्रिगेसन भयो । सायद, प्रेमको गणित त्यहीँ कतै मिसिएको थियो ।

उनले मलाई र चे दाजुलाई आफ्नो गाउँ लाने भए । हामी जाने पक्का भो । यत्तिकैमा मेरो पर्स हरायो, २२ हजार क्याससँगै सुदुरपश्चिममा देउडा नाच्ने सपना समयले तुहायो । केही दिन आशिष मसँग बोलेन । उसलाई लाग्यो यसले जान मन नभएर बाहाना बनायो । तर सत्य तीतो थियो । तीतो सत्यलाई छर्लंग बुझेपछि ऊ शोकमा डुबेको बटुवाजस्तो देखियो ।

यस्तैमा १ साँझ उसले मलाई सुनायो– ‘त्रिवेणी, हाम्ले मार्ने भन्या तु घोरल चरिराहोला ।’ सपनासँगको पैसे महत्व उसले बुझ्यो सायद । उसो भा पैसानै सपना हो त ? पैसा सपनाको पर्याय बनिसकेको थियो । कागजको खोस्टोको तागत !

उस्ले मलाई कसै साथीसँग देख्यो भने साथी नजिक पुगेर सुनाइहाल्थ्यो । ‘आइ नोज हिज लभ स्टोरी, स्टोरी अफ दिस गडड्याम युनिफर्म ।’ यत्तिकैमा म उसलाई सच्याउँथे, ‘आशिष नोज होइन नो फर आई ।’ आजकल त उसको अंग्रेजी अंग्रेजको जस्तो भइसकेको छ । ऊ फररर बोल्छ, व्याकरण मिलेका वाक्य । उसले प्रयोग गर्ने शब्द पनि ओजिला हुन्छन् आजकल । अस्तिमात्र उसले १ वाक्य बोलेको थियो– ‘इभ्रीवान ह्याज वान टेरेन, आइ ह्याभ टु क्रियट माइन वोन । वोल्र्ड अफ लभ एन्ड प्रोस्पिरिटी ।’

नाटक मञ्चनका दिनमा साथी तथा अग्रज कलाकार नाटक हेर्न आउनुहुन्थ्यो । सो क्रममा कहिले रुम खाली हुन्थेन र हामी २१६ मा कोचिनुपर्ने बाध्यता हुन्थ्यो । यस्ता बाध्यताको घडीमा उसले मलाई निकै पटक आफ्नो कोठामा सुताएको छ । त्यो हार्दिकता मैले कमै मानिसमा पाएको छु । साँच्चै ऊ हार्दिकताको उदाहरण हो । अझ विशेष गरिकन मप्रतिको उसको हार्दिकता जो कोहीलाई लोभ्याउने खालको । म उसलाई बारम्बार प्रश्न गर्थें –‘आशिष ह्वाइ डु यु लभ मि मोर ?’

उस्ले खिस्स हाँस्दै उत्तर दिन्थ्यो– ‘कज यु डोन्ट डियर । एन्ड विकज अफ योर स्टोरी टु’ त्यसपछि ऊ १ हलको मेलो हाँस्थ्यो । क्यान्डल इन आशिषको हाँसोले झंकृत ।

होटलमा सानो गार्डेन छ । गार्डेनमा ४ कुर्सी र एउटा टेबलले हरबखत उपस्थित जनाइरहन्छन् । हामीले कयौं रात त्यो गार्डेनमा आगो तापेर कटाएका छौं, आगोसँग उसले गाएको देउडा तापेर पनि । यत्तिकैमा मैले उसलाई भनें– ‘आशिष ह्वाइ डोन्ट यु किप ए नेसनल फ्ल्याग ओभर हियर ?’ उसले अनुहारमा अमिलो पोखिएको भावभंगीमा मलाई भन्यो– देशले दाइ खायो, झन्डाको रङ देख्दा उसको रगत सम्झिन्छु ।’ उसले आसु चुहायो । मैले अँगालेर सम्झाएँ । त्यसपछि मेरो अँगालोमा रुँदै उसले जनयुद्धले डढाएको गाँउको कथा सुनायो । त्यो डढेलोबाट उसको परिवार पनि अछुतो रहन सकेन, दाइ क्रान्तिको लागि सहिद भए तर सहिद परिवारको सूचीमा उनीहरुको नाम अटेको छैन । ‘बाजुरामा मेराजस्ता सयौं परिवार छन् त्रिवेणी, राज्यले सपना खोसिदिएका परिवार,’ उसले सुनाएको थियो ।

भोलिपल्ट बिहान मैले उठेर हाइ काढ्दै झ्याल खोलें । गार्डेनमा राष्ट्रिय झन्डा फर्फराइरहेको थियो । मेरा आँखा एकाबिहानै रसाए । मैले दौडेर तल आएर उसलाई सोधें– ‘झन्डा किन राखेको ?’ उसले मुस्काएर उत्तर दियो– ‘तिम्रो वचनले छोएर ।’ मभन्दा तिम्रो अतीत महत्वपूर्ण छ आशिष भन्डाले दाइ सम्झाउँछ तिमी पिरोलिन्छौ । भो हटाऊ’– मैले सुझाएँ । ‘सँगै नभएको दाइभन्दा सँगै रहेको साथी महत्वपूर्ण होला । हो, झण्डामा दाइ देख्छु म र फेरी तिम्रो प्रेम पनि’ – ऊ मुस्कायो र मलाई अँगाल्यो ।

आजकल म लेक जाँदा १४ औं गल्ली छिर्न बिराउन्न । किनकि त्यही गल्लीमा ऊ हुन्छ । मेरो बड्डा । हरक्षण हँसिलो देखिने फरासिलो ऊ मलाई देखेपछि खुसी हुन्छ र अँगाल्न दौडिन्छ । मलाई पनि उसलाई भेट्दा निको लाग्छ । केही दिन अघिमात्र म क्यान्डन इन गएको थिएँ । त्यहाँ २ थोक विशेष थिए । गार्डेनमा फर्फराइरहेको झण्डा र रिसेप्सनमा मुस्काइरहको बड्डा ।

तपाईको प्रतिक्रिया