भारतीय पाहुनालाई क्वारेन्टाइनमा राखौं

समाधान संवाददाता २०७६ चैत १० गते १२:१५

कोरानो भाइरसको संत्रास विश्वभरि छ । भारतमा झनै हंगामा मच्चिएको छ । खुला सीमाको फाइदा उठाउँदै कतिपय भारतीय सुरक्षित ठाउँ खोज्दै नेपाल आइरहेका छन् । भारत बस्ने नेपाली, आफ्नै देश फर्कनु त स्वाभाविक मान्न सकिएला तर भारतीय नागरिक पनि कोरना आतंकबाट बच्न नेपाल प्रवेश गरेका छन् । शनिबार र आइतबार पनि केही भारतीय गाडी पोखरा आएका छन् । उनीहरु पोखरा र आसपासका घर होटलमा बसेको खबर छ । हाम्रो राज्यको संयन्त्रसँग कतिको संख्यामा भारतीय नेपाल पसेका छन् भन्ने तथ्यांक छैन । जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी दानबहादुर कार्कीका अनुसार रुट परमिट लिएर आएका भारतीय गाडी प्रवेशमा रोक लगाउने अधिकार प्रहरीसँग छैन ।

संक्रमित मुलुकबाट जहाजमार्फत आउने जो कोहीलाई पनि १४ दिन क्वारेन्टाइनमा राख्ने निर्णय नेपाल सरकारले गरेको छ । क्वारेन्टाइनमा पठाएको पनि छ । तर त्यही संक्रमित मुलुक भारतबाट गाडीमा आउनेका लागि सीमामा तापक्रम मापन गर्नेबाहेक अरु केही उपाय अपनाइएको छैन । लन्डनबाट फर्किएकी भारतीय गायिका कनिका कपुरका कारण सिंगो लखनउ लकडाउन भएको छ । ज्वरो आएको छैन क्यारे भन्दै उनी सेल्फ क्वारेन्टाइनमा नबस्दा र विभिन्न कार्यक्रममा सहभागी हुँदा भारतीय राष्ट्रपति, पूर्व मुख्यमन्त्री, बहालवाला मन्त्री, सांसदसहित लब्धप्रतिष्ठितहरु क्वारेन्टाइनमा बसेका छन् । लन्डनबाट फर्किएको १० दिनपछि मात्र उनमा कोरोना भाइरस भएको पुष्टि भएको थियो । यसले के देखाउँछ भने भाइरस फैलिएको ठाउको ट्राभल हिस्ट्रीलाई नदरन्दाज गर्नु घातक हुन्छ । त्यस्तै कमजोरी हाम्रोमा भइरहेको छ र गरिरहेका छौं ।

भारतबाट आएका हाम्रा पाहुना हुन् । हाम्रै होटल वा घरमा बसेका छन् । हो उनीहरु यहाँ भाइरस फैलाउन आएका होइनन्, भाइरसबाट जोगिन अर्थात ‘चलिए, नेपाल सेफ है’ भन्दै आएका हुन् । उनीहरुको अपमान गर्नु कत्ति पनि उचित हुँदैन तर उनीहरुलाई निर्वाध घुम्न दिइयो र कथमकदाचित कोही संक्रमित रहेछ भने उसले हाम्रो नौका डुबाउने छ । त्यसैले पछिल्ला २÷३ दिन यता जो पनि भारत हुँदै नेपाल आएका छन् उनीहरुलाई क्वारेन्टाइनमै राख्नुपर्छ । हाललाई स्थलमार्गबाट आएकाहरुलाई क्वारेन्टाइनमा पठाउने नीति सरकारले लिएको छैन, स्थलमार्गलाई बेवास्ता गरेको छ । यस्तो परिस्थितिमा हामी नागरिक आफै सचेत बन्नुपर्ने अवस्था आएको छ । पर्यटन व्यवसायीलाई अनुरोध छ, तपाईंको होटलमा भारत हुँदै आएका कोही पाहुना छन् भने कृपया १४ दिनसम्म आफ्नै होटलमा क्वारेन्टाइनमा राखिदिनु होला । उनीहरु हाल स्वस्थ हुन सक्छन् । र पनि बाहिर निस्कन नदिनु होला । भारतीयहरु जिद्दी, अटेरी गर्ने खालका पनि हुन्छन् । जबरजस्ती निस्कन खोजे ‘प्रहरीलाई खबर गर्छु’ भन्दै धम्क्याएर भए पनि क्वारेन्टाइनमै राख्नु होला ।

Advertisement

इटलीमा राज्यले मात्र होइन, जनताले पनि गल्ती गरेका हुन् । सरकारले सेल्फ क्वारेन्टाइनमा बस्न भनेका १० हजार मानिस घरबाट बाहिर ननिस्केको भए अहिले यो हालत नहुन सक्थ्यो । त्यहाँ सरकारले भनेको जनताले मानेनन् । यहाँ सरकारले भन्न जान्दैन, विषय वस्तुको गाम्भीर्यलाई बुझ्नै सक्दैन । त्यसैले जनताले विवेक पुर्‍याउन जरुरी छ ।

Advertisement

तपाईको प्रतिक्रिया