पैसा र बैंस भइन्जेल सुन्दर हुन्छ जिन्दगी

समाधान संवाददाता २०७७ वैशाख १८ गते १८:०१

कञ्चन थापा

लेखन कतिका लागि काल्पनिक खेती हुन्छ । कतिका लागि आफ्नै भोगाइ । लेखनका मामलामा यी दुवै आधा आधा होलान् । मिठो त भोगाइकै लेखन हुन्छ होला । जीवनमा सबैथोक मान्छेले भोग्न सक्दैन । पाउँदैन । तसर्थ कल्पना पनि लेख्छ । देखेर पनि लेख्छ मान्छे । हुन पनि एउटा जीवनमा कतिथोक भोगेर साध्य होस् । अरुको भोगाइ अनुभूत गर्न अर्काकै लेखाइ पढ्नुपर्छ ।

त्यसैले त किताब पढ्छन् मान्छेहरु । जीवनको भोगाइ मान्छेले न सोचेजस्तो हुन्छ । न देखेजस्तो हुन्छ । दिनेश अधिकारीका शब्दमा तारादेवीको गीतले भनेजस्तै सोचेजस्तो हुन्न जीवन, सम्झेजस्तो हुन्न जीवन । जस्तो भोग्यो उस्तै हुन्छ, देखेजस्तो हुन्न जीवन ।

अहिलेको कोरोना कहर पनि कस्ले पो सोचेको थियो र कसले पो देखेको थियो र ? तर मान्छेहरु भोगिरहेका छन् र जीवन जस्तो भोग्यो उस्तै भइरहेको छ । न सम्झे जस्तो भएको छ न सोचेजस्तो भएको छ । सुनसान सहरभित्र अल्झिएका र बल्झिएका थुप्रैथुप्रै भोगाइ छन् जीवनका । जीवनका कथाहरु देशका सुनसान सहरमा छन् । रित्ता सडकमा छन् । ठप्प भएको व्यापारमा छन् । दुरदराजका ठाउँसम्म पुग्न हप्तौं लगाएर हिँडेका पैदलयात्रीका गन्तव्यभित्र छन् । अनि आज यति पैसा कमाएँ भने परिवारको मुखमा माड लगाउँला भनेर सपना देखेका मजदुरका रित्ता हातहरुमा छन् । ती सबै भोगाइका कथाहरु लेखिएको छैन । लेख्न बाँकी छ ।

यो कथा भने उमेरले ६० काटेकी आमाको अनुभव हो । उहाँको अनुभव भन्छ पैसा र बैंस भइन्जेल सुन्दर हुन्छ जिन्दगी । नत्र आफ्नो दुखका लम्बाइ चौडाइ आफैले नाप्नुपर्ने हुन्छ । लकडाउनले असर पारेको जिन्दगीलाई अझै सुनौलो बनाउनुपर्छ भन्ने एउटा सुन्दर सपना भने प्रस्ट छ यी आमामा ।

सेती नदी तीरमा बालुवा चालिरहँदा आफ्नै सपनाहरू पनि चालिरहन्छिन् उनी । पुराना सपनाहरु भने सायद बालुवाका कणहरुमा पो पाउँछ कि भन्ने लागिरहन्छ । तर पखेटा हाल्न दिएर उडेका तीन छोराछोरीलाई उनी सुनाउन र देखाउन चाहन्नन् । त्यसैले कुरा राखे पनि नाम ठेगाना लुकाइ दिन आग्रह गर्छिन् यी आमा । मोबाइलको मेमोरीमै सीमित राख्ने सर्तमा एउटा फोटो खिच्ने अनुमति भने दिइन् ।

पाखुरी बजारेर सन्तान हुर्काइन् । सन्तानले पखेटा हालेपछि उडेर गए । आफ्नै गन्तव्यमा रमाए । घर फर्किएनन् । आखिर बुढेसकालमा आफ्नै छायाँमात्र उनीको साथमा छ ।

Advertisement

सायद यही कथा यही बेथा देशका धेरै बालुवाका मैदानमा जीवन संघर्ष गर्ने आमाहरुको छ । लकडाउनले असर पारेको अर्को फरक जिन्दगी मैले फेवा किनारको खपौदीमा भेटें । वर्षले ७० नाघेकी जलहारी परिवारकी आमा सोममायाका कुरा लेख्न लायक छन् ।

अहिलेसम्म यसरी थुनिएर बसेको चाहिँ थिइनँ कस्तो रोग आएछ मान्छेमान्छे बीच कोरामा बसेझै बार्नुपर्ने, आफ्ना काम पनि छोडेर पिँजडामा थुनिनुपर्ने हैन कलियुग को अन्त्य हो कि है ? आमाको प्रश्न थियो ।

Advertisement

उत्तर दिने कुनै आधार थिएन । मात्र मुन्टो हल्लाएँ र राहतको आस नगरेकी आमाका कुरा डायरीमा नोट गरिरहें । ‘हामीलाई हाम्रो हातमा तिम्रो राहत हैन हाम्रो जाल थमाइदेऊ, यहाँ जालले ताल खोजेको छ हाम्रो जिन्दगीले माछा,’ घतलाग्दा थिए आमाका कुरा ।

कति मिठा कुरा । मन छोयो । यस्तै स्वाभिमानी विचार भएका सबै भइदिए देश कति सुन्दर हुन्थ्यो होला ? फेवा किनारमा भेटिएकी आमाका कुरा सुन्दा मेरा हजुरबाका कुरा सम्झनामा आए । हजुरबाले भन्नुहुन्थ्यो हाम्रो पालामा नुन महिना दिन हिँडेर जानुपथ्र्याे ।

कि बटौली कि भोट । तर बटौली जाँदा ठूलो महामारीको त्रास हुने रहेछ । त्यति बेला पनि निस्कने ठूला रोगले धेरै गाउँले सखाप भएका कथा हजुरबाका मुखमा मैले सुनेकी छु । हजुरबाकै १९ सन्तानमध्ये ९ जना बाँकी रहे ।

पहिला औलो लागेर भकाभक मान्छे मरिरहन्थे । सहरतिर दिएकी छोरीलाई मानोचामलै हजुरबाले भरिदिने गरेको अहिले कथा जस्तो लाग्छ । ९०/१०० मुरी टन्न भकारीमा धान हुन्थ्यो रे । तर अहिले न भकारीमा धान छ त न हजुरबा नै ।

छ त केवल त्यो कथा । अनि बाझो खेतबारी । दन्त्यकथा झै लाग्छ त्यो बेलाका कुरा । यति बेला पनि फेरि गाउँका भकारीमा धान छ । सहर भने सुनसान । भोकाएका पेटहरु प्रशस्त छन् । अनि त्रासको रासभित्र निसासिएका मनहरु छन् ।

केही मन अबका दिन कसरी बिताउने योजनालाई आकार दिँदै व्यस्त होलान् । यतिखेर सहरतिर मुर्जाएको जिन्दगी गाउँतिर उर्जाएको छ । हप्तौं दिन लाएर आफ्नो ठाउँ र आफ्ना परिवारसित भेटन पाउँदाको खुसीले ती हिँडाइ ती तिर्खाइ र भोगाइलाई सबै बिर्साइदिएको छ ।

अब लाग्यो होला जहाँ जता गएपनि केही समय चर्न जाने रहेछ । आखिर एकदिन आफ्नै गोठमा फर्किनुनै रहेछ । आखिर जिन्दगी सोचाइमा हैन भोगाइमा रहेछ । आदरणीय तारा देवीका त्यही पंक्ति याद आयोः

पीडाहरु बटुलेर
रोइ रहूँ जस्तो लाग्छ
खुसीहरु समेटिँदा
हाँसी रहूँ जस्तो लाग्छ
आँसु आँसु हुन्न जीवन
खुसी खुसी हुन्न जीवन
रोजे जस्तो हुन्न जीवन
साँच्चै नै जस्तो भोग्यो उस्तै हुन्छ जीवन ।

(थापा रेडियो अन्नपूर्ण र फेवा टेलिभिजनमा आवद्ध छिन् ।)

तपाईको प्रतिक्रिया