गण्डकी सरकारलाई कांग्रेसको सुझाव : अबन्डा बजेट हटाऊ, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राख

समाधान संवाददाता २०७७ जेठ ५ गते १९:२१

भरत कोइराला
पोखरा, ५ जेठ

प्रदेशको बजेटमा स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकतामा राख्न नेपाली कांग्रेसले गण्डकी सरकारलाई सुझाव दिएको छ ।


गण्डकी प्रदेश सभा नेपाली कांग्रेस संसदीय दलले स्वास्थ्य र कृषिका साथै ससना घरेलु उद्योगबाट रोजगार जोड्ने विषयमा प्राथमिकतामा राख्न सुझाव दिएको हो । आइतबार संसदीय दलको बैठक बसेर छलफल गरी कांग्रेसले मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङलाई २२ बुँदे सुझाव दिएको छ ।

Advertisement


नीति तथा कार्यक्रम र बजेट १ वर्षको हो भन्ने सिद्धान्तमा आधारित भई कर्णप्रिय तर अवास्तविक योजना, नारामुखी कार्यक्रमभन्दा ठोस र यथार्थपरक योजना समावेश गर्न सुझाव दिएको दलका नेता कृष्णचन्द्र नेपालीले बताए ।

बजेट विनियोजन गर्दा स्पष्ट ढंगबाट विभाग, मन्त्रालय समेतको ढाँचामा शिक्षा, स्वास्थ्य, युवा तथा खेलकुद, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, अपांग तथा उद्योग, वन पर्यटन आदिमा छुट्टाछुट्टै बजेट निर्धारण गर्ने र अबन्डा र पोके बजेट कठोरताका साथ हटाउन प्रदेश सरकारसँग कांग्रेसले माग गरेको छ ।

Advertisement

विनियोजन विधेयकमा अबन्डा राख्ने, बास्केटमा बजेट राख्ने परम्परालाई यो आवमा निर्मम तरिकाले रोकी विनियोजन गर्न उसको सुझाव छ ।
राहत उद्धार कार्यक्रमममा पारदर्शितापूर्वक सबै वडाहरुमा सर्वदलीय सर्वपक्षीय समिति मार्फत वितरण गर्न कांग्रेसको माग छ ।

सार्वजनिक मावि तहसम्मको शैक्षिक अवस्था सुधार गर्न प्रदेर सरकोका पहलमा पालिका सरकारलाई शिक्षाविद्सहित योजना बनाई प्रभावकारी कार्यन्वयनमा जोड दिन माग गरिएको दलका उपनेता मेखलाल श्रेष्ठले बताए ।

दक्ष जनशक्ति पलायन हुनबाट रोक्ने, व्यवसाय बन्द हुन नदिने, अन्तर्राष्ट्रिय श्रम बजारमा रोजगारीको अवसर गुम्ने भएकाले प्रदेशमा रोजगारी सिर्जना गर्ने कार्यक्रमसहितको बजेट आवश्यक रहेको कांग्रेसको ठहर छ ।

प्रदेश सभा नेतृत्वसँग परामर्श गरी व्यवस्थापिका सञ्चालनमा पर्याप्त बजेट विनियोनज गर्न माग गरिएको उपनेता श्रेष्ठले बताए ।

नगदेबाली, कुखुरा, खसी, राँगा पालनमा जोड दिँदै कृषिमा उत्पादन तथा उत्पादकत्व बढाउने, उत्पादनको न्यूनतम समर्थन मूल्य तोकी बजारीकरण गर्ने वा खरिदको व्यवस्था गर्ने र उत्पादनका आधारमा कृषकलाई अनुदान दिनुपर्ने सुझाव दिइएको प्रदेश सभा सदस्य ललीतकला गुरुङले बताइन् । उनले भनिन्, ‘ससाना सिँचाइ योजना मल बिउ र विशेषज्ञ सेवाका लागि अनुरोध गरेको छौं ।’

प्रदेशलाई न्यूनतम ६ महिना पुग्ने खाद्यान्न तथा अत्यावश्यक सामग्री भण्डारणको व्यवस्था गर्ने, प्रत्येक स्थानीय तहमा आगामी आवमा सञ्चालन हुने गरी कोल्ड स्टोरेजको निर्माण गर्न पनि दलको सुझाव छ ।

महिलाहरुको सीप क्षमता विकास, व्यक्तिगत र समूहगत ऋण उपलब्ध गराइ विविध घरेलु उद्योगमा प्राथमिकता दिन दलको माग छ । सुझावपत्रमा भनिएको छ, ‘पिछडिएको वर्ग समुदाय र दलित आदिको परम्परागत पेसाको रोजगार प्रवर्द्धन गराइ घरेलु उद्योगमा प्राथमिकता दिइयोस् ।’

वैदेशिक रोजगारीबाट फर्केका र स्वदेशमै रोजगार गुमाएकाहरुलाई कृषि पेसामा लाग्ने वातावरण सिर्जना गर्ने र उत्प्रेरणाका कार्यक्रम ल्याउन सुझाव दिइएको प्रदेश सभा सदस्य ललीतकला गुरुङले बताइन् ।

पर्यटन र पर्यटनसँग सम्बन्धित सेवाहरुलाई बचाउने र तत्पश्चात पुनर्जीवित गरी चलायमान गराउने योजना बजेटमा समावेश गर्न दलले आग्रह गरेको छ ।

उद्योगी, व्ययवसायीले राहत महसुस गर्ने गरी बैंकको ब्याजदरमा कटौती, करमा छुट, ऋणको ब्याजलाई पुनर्तालिकीकरण गरी ब्याज, किस्ता तिर्न सरल समायवधि बढाउनेतर्फ संघ सरकार, राष्ट्र बैंक र अन्य सरोकारवालाहरुसँग समन्वय गरी बजेटमार्फत् सकारात्मक सम्बोधन गर्न कांग्रेसले सुझाव दिएको छ ।

ठूला आयोजनामा बजेट विनियोजन गर्दा यस आवमा खर्च हुनसक्ने परिस्थिति र सामथ्र्यलाई वैज्ञानिक रुपमा दृष्टिगत गरेर मात्र रकम छुट्याउन सुझाव दिएको दलका नेता नेपालीले बताए । उनले भने, ‘बजेट पास भएको २ महिनाभित्र डिपिआर सर्भे, टेन्डर प्रकाशित गर्ने, उपभोक्ता समितिसँग सम्झौता गर्ने वाध्यकारी व्यवस्था गर्न आग्रह गरिएको छ ।

स्वास्थ्य क्षेत्रलाई अत्यावश्यक साधानस्रोत, जनशक्तिको यथाशीघ्र व्यवस्था, गरी महामारी, दीर्घरोग र अन्य स्वास्थ्य समस्यासँग लड्न सक्षम स्वास्थ्य पूर्वाधार निर्माणलाई उच्च महत्वका साथ बजेटले सम्बोधन गरिनुपर्ने अडानमा कांग्रेस छ । सुझावपत्रमा भनिएको छ, ‘रोग लाग्नबाट बचाउने उपायलाई प्रोत्साहन गरी रोगसँग सरसफाइ, खाने पिउने जीवन पद्धतिलाई विशेषज्ञहरु मार्फत् प्रोत्साहन गरी रोक्न निरोधक क्षमता बढाउनेतर्फ ध्यान दिइयोस ।’


फेवाताललाई राजनीतिक नारामा मात्र सिमित नराखी सकारात्मक परिवर्तन हुने यथार्थपरक कार्यक्रममा बजेट विनियोजन गर्ने, अन्य पर्यटकीय गन्तब्य, धारोहरहरुको निर्माण् विकास संरक्षणका कार्यक्रम समेट्न कांग्रेसको माग छ ।


आर्थिक तथ्यांकलाई अध्यावधि गरी रोजगारीको वित्तीय संस्थाहरुको लगानी र निक्षेप, संघीय राजश्वबाट प्रदेशमा उपलब्ध सहयोग आयकर, भन्सार, मुअक, अन्तशुल्क, बहाल, उठाउने राजश्व, अनुदान र ऋणको अवस्था, विप्रेषण र समग्र आर्थिक गतिविधिको जानकारी पाउने प्रणालीको विकास गर्न कांग्रेसले सुझाव दिएको छ ।

प्रदेश पर्यटन व्यवसाय बचाउन मूल्य अभिवृद्धि कर घटाउने, व्यवसाय बचाउन कोष खडा गर्ने र राहत उपलब्ध गराउन गरी बजेट बनाउन सरकारलाई सुझाव दिइएको दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले बताए । उनले भने, ‘उत्पादन क्षेत्रमा अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा जानका लागि व्यवसायीहरुको साझेदारीमा सरकारी पक्षबाट लागत कम गराउने उपाय खोज्न हाम्रो सुझाव छ ।

कुन ठाउँमा के के अन्नबाली, के के फलफूल खेती गर्न सकिन्छ भनी सरकारी सुझाव किसानलाई दिने व्यवस्था गरी जमिनको अधिकतम उपभोग हुने व्यवस्था मिलाउन कांग्रेसको राय छ ।

सुझाव ग्रहण गर्दै मुख्यमन्त्री गुरुङले शिक्षा, स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्ने, मुर्झाएको पर्यटनलाई ब्युँझाउने गरी बजेट बनाउन लागेको र प्रमुख प्रतिपक्षी दलको सुझावलाई सकारात्मक रुपमा लिएको बताए ।

तपाईको प्रतिक्रिया