घरमा आफै‌ं आगो लगाएपछि …

समाधान संवाददाता २०७७ जेठ ८ गते १४:४४

गलकोट, ८ जेठ (रासस)

बागलुङकाे बडिगाड गाउँपलिकाको वडा नं २ सिमलचौरका शिव भनिने सुरजबहादुर कुमालले मदिरा सेवन गरी आफ्नै घरमा आगो लगाएका छन् ।

ज्याला मजदुरीमा धानिएको परिवार घर र गोठ जलेर नष्ट भएपछि परिवारको बिचल्ली भएको छ । बुधबार राति ९ः०० बजेपछि प्रहरी र स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा आएको थियो । गोठमा बाँधिएका पशु भने फुकाइएको थियो ।

Advertisement

घरगोठ जल्दा २ लाख ४५ हजारबराबरको क्षति भएको खर्बाङ प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक गुरुप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

घरधनी सुरजले रातिको समयमा मदिरा सेवन गरी श्रीमती राधिका र छोराछोरीलाई पिट्न थालेपछि उनीहरु भागेका थिए । त्यही सयममा कुमालले आफ्नै घरमा आगो लगाएको प्रहरीले जनाएको छ ।

Advertisement

श्रीमानले आफूहरुलाई कुट्न थालेपछि छोराछोरी लिएर ज्यान बचाउन छिमेकीको घरमा पुगेका बेला श्रीमान्ले आफ्नै घरमा आगो लगाएको पीडित राधिकाले बताउनुभयो । श्रीमानले अत्यधिक मदिरा सेवन गर्दै आएका कारण आफू समस्यामा पर्दै आएको उहाँले गुनासो गर्नुभयो । घरभित्रै बसेका सुरजलाई तत्कालै जुटेका स्थानीयवासीले घरभित्रैबाट निकालेका थिए ।

आगो नियन्त्रणमा आएपछि प्रहरीले सुरजलाई नियन्त्रणमा लिई प्रहरीचौकी खर्बाङमा राखेको छ । खरको छानो विस्थापित गरी टिनको छाना लगाउने गरी तयार गरिएका सबै काठसहित सिङ्गो घर गोठ नै जलेपछि परिवार बिचल्लीमा परेको छ ।

परिवारमा श्रीमान् श्रीमतीसहित तीन छोरा र एक छोरी छन् । बन्दाबन्दीको समयमा घर गोठ जल्दा खाने बस्नेको समस्या भएको छ । घर जलेपछि छिमेकीको घरमा आश्रय लिएको परिवारलाई नेपाल रेडक्रस सोसाइटी उपशाखा खर्बाङले त्रिपाललगायतका अत्यावश्यक वस्तु सहयोग गर्ने सभापति होमनाथ अर्यालले जानकारी दिनुभयो ।

आगलागीपीडित कुमालको परिवारलाई गाउँपालिकाले समेत राहत प्रदान गर्ने बडिगाड गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया