खाद्यान्न भनेर मदिरा ओसार्ने पक्राउ

समाधान संवाददाता २०७७ भदौ ६ गते २२:१२

तनहुँ रासस ।

निषेधाज्ञाका समयमा तनहुँमा अत्यावश्यक वस्तुका नाममा मदिराको कारोबार गर्ने एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बन्दिपुर–१ डुम्रेस्थित भट्ट किराना पसलका सञ्चालक नन्दलाल भट्ट छन् । डुम्रेबाट मदिरा लैजाने क्रममा उनलाई भानु नगरपालिका–१३ चन्द्रावतीबाट प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

खाद्यान्न भन्दै मदिराको कारोबार गरेको खुलेपछि सवारी साधनसहित उनलाई पक्राउ गरिएको चन्द्रवती प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक रामबहादुर गुरुङले जानकारी दिनुभयो ।

आवश्यक कानूनी कारवाहीका लागि सवारी साधनसहित भट्टलाई इलाका प्रहरी कार्यालय डुम्रेमा पठाइएको उहाँले बताउनुभयो ।

Advertisement

आज शनिबार परेकाले कानूनी कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय दमौलीमा पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो ।

भानु नगरपालिकामा कोरोनाको सङ्क्रमण समुदायस्तरमा फैलिएको र अझै पनि जोखिम कायमै रहेको भन्दै सरकारले यही भदौ १ गतेदेखि निषेधाज्ञा गरेको छ ।

तपाईको प्रतिक्रिया