संगीतमा डुबुल्की मार्दा मनमा शान्ति हुन्छ

समाधान संवाददाता २०७७ भदौ १२ गते ६:४०

जमुना वर्षा शर्मा
पोखरा

‘करोडौँ मुटुहरुको एउटै ढुकढुकी नेपाल ’

नवराज कार्कीका शब्दमा प्रसिद्ध गायक सरोजगोपाल बज्राचार्यले संगीत दिएको यो कर्णप्रिय गीतकी गायिका हुन् बाबा राणा ।

Advertisement

मधुर स्वरकी धनी राणा नेपाली संगीत आकासकी एक अब्बल साधकको नाम हो । ९ वर्षको उमेरदेखि गायनप्रतिको लगावले गीतसंगीत क्षेत्रमा पहिचान बनाउन सफल गायिका राणाले यी राष्ट्रभावका मात्र नभएर प्रेम र विछोडका समेत थुप्रै गीत गाएकी छन् । उनले नेपाली संगीत क्षेत्रमा ठूलो योगदान गरेकी छन् ।

रचना, संगीत र लयको त्रिवेणीबाट कालजयी गीतहरु पस्कन सफल राणाको संगीतप्रतिको पृष्ठभूमि खोज्दै जाने हो भने उनको पारिवारिक योगदानसम्म नै पुग्न सकिन्छ । बुबा, ठूलो बुबा र सानो बुबाले घरमा हुने कार्यमा रामायण पढ्दा तबला, मादल, हार्मोनियम तथा यस्तै बाजा बजाउँथे । कान्छो बुबा रामचन्द्रविक्रम राणा संगीत प्रशिक्षक थिए । राणा घरको यो सांगीतिक वातावरणले नै आफू पनि संगीतप्रतिको यात्रामा सानैदेखि जोडिन पुगेको अनुभव बाबा राणा सुनाउँछन् ।

Advertisement

पुष्प नेपाली, नारायणगोपाल, बच्चुकैलाश, तारादेवी र अरुणा लामाका गीत उनले ती गीतका गायकगायिका नचिन्दैदेखि गुन्गुनाउने गरेको सुनाउँछन् । बाल्यकालमा गुनगुनाएका गीतमा स्मरणमा भएसम्म पुष्प नेपालीको ‘शीतल माथि नि शीतल भो नि, लौ लौ बरको छायाँले ।’ तारादेवीको ‘जुन निदाउन तारा निदाउन’, नारायणगोपालको ‘तिम्रो जस्तो मुटु मेरो पनि, तिमी जस्तो माया मेरो पनि’ हुन् ।

झ्यालमा झुण्डिएको एउटा सानो रेडियोमा कति धेरै मान्छेले मिलेर गीत गाए होलान् भन्ने बालापनको सोचबाट गीतसंगीतप्रतिको धुनमा उनी लाग्न थालेकी हुन् । बुबा कर्णेल धनविक्रम र आमा भीमकुमारी राणाकी छोरी उनको जन्म पाल्पा जिल्ला तानसेनको सिल्खान टोलमा भएको हो ।

जन्मिएको एक वर्षमै पोखरा आएकी राणा पोखरा– १ मिरुवामा हुर्किइन् । पोखराको माटोबाट संगीतको सुगन्ध चारैतिर छर्न सफल उनी कालजयी गीतका सर्जक हुन् । कर्णेल पितालाई भेट्न पोखराको विजयपुरको सैनिक क्याम्पमा जाँदा बुबाको कोठामा झ्यालमा झुण्डाएर राखिएको रेडियो खोलेर ‘लर्के जोवन गएन माया नलाइ भएन, चौतारीमा मायालु नबसी भएन ।’ गीत गाउँदै नाचेको उनलाई अझै स्मरणमा आउँछ । उनको पहिलो रेकर्ड भएको गीत ‘डम डम डम्फु बजेको तालैमा’ हो । विसं २०२८ मा रेडियो नेपालमा जाने अवसर मिलेसँगै उनको संगीत साधनाले गोरेटो बाटो पहिल्यायो । पछि त्यही गोरेटोले उनलाई नेपाली संगीत क्षेत्रको राजमार्गमै पुर्‍यायो ।

अहिले पनि संगीत साधनामै व्यस्त राणा, उमेरले ७ दशक ढल्कदा पनि उनको संगीतप्रतिको ऊर्जा र उत्साहमा कमी आएको छैन । ‘मेरो रगतको नशा नशामा गीत संगीत बगेको छ, मलाई गीतका लयमा डुबुल्की मार्दा मानसिकरुपमा शान्तिको अनुभूति हुन्छ, म गाउँछु अझै ।’ हार्मोनियम बजाउँदै उनले भनिन् । जीवनका उत्तराद्र्धहरुमा पनि अब गीत संगीतमै जीवन गुजार्ने सोच छ उनको ।

पोखरा महानगरपालिका वडा नं १ बागबजार निवासी राणा वरिष्ठ गायक स्व सरोजगोपाल बज्राचार्यकी पत्नी हुुनुहुुन्छ । गायिका भएर नै आफ्नो जीवन साथीका रुपमा गायक सरोजगोपाललाई रोज्नुभएको हो ? प्रश्नमा उनले हाँस्दै जवाफ दिइन् – ‘होइन । उहाँसँगको भेट एउटा संयोग थियो, कतिपय अवस्थामा सँगसँगै गीत गाउँथ्यौँ, तर उहाँको स्वरलेभन्दा पनि स्वभावले मेरो मन जित्यो ।’

जीवनका सुरुआती दिनहरुलाई सम्झँदै उनले भनिन्, ‘उहाँसँग कहिले र कसरी भेट भयो भन्ने नै थाहा पाइन, यसमा पोखराका ‘प्रोग्राम अर्गनाइजर’ (कार्यक्रम आयोजक) को भूमिका छ । मेरा बुबाले पनि कतिपय क्याम्पमा हुने सांगीतिक कार्यक्रममा बाबा सरोजलाई बोलाउ भन्नुहुन्थ्यो । तत्कालीन समयमा हुने सांगीतिक कार्यक्रममा हामी सँगैसँगै हुन्थ्यौं । उनलाई कहिले कुन सालमा भेटेँ त्यति सम्झना छैन ।’

सरोजगोपालले एकपटक हाइस्कुलमा शान्ति शाह, बच्चुकैलाशको ‘कल्पना गगन, मुस्कुराउने चन्द्रवदन, कहिले होला त्यो दिन जब होला मिठो मिलन’ भन्ने गीत गाएको भने राणाको मस्तिष्कमा अझै ताजा छ । राणाले २५ वर्षको उमेरमा सरोजगोपालबाट प्रेम प्रस्ताव आएको र त्यससँगै प्रेमिल गोरेटोबाट संगीत क्षेत्रको यो जोडी बनेको अनुभव सुनाइन् । ‘उहाँले प्रेम प्रस्ताव राख्ने बेलासम्म मैले प्रेमकाबारे सोचेको रहेनछु, उहाँको प्रस्तावपछि बल्ल प्रेमको अनुभूति गरें ।’

विवाहका सन्दर्भमा उनले भनिन्, ‘प्रेम प्रस्तावको एक/दुई वर्षमै विवाह भयो । हाम्रो अन्तरजातीय विवाह थियो । विरोध त त्यति भएन, बुबाले फरकफरक जातका तीन वटा श्रीमती बिहे गर्नुभएको थियो, तर बुबाको आफूले रोजेको केटासँग विवाह गराउने चाहाना रहेको पछि थाहा पाएँ ।’

बिहे गरेर भागेर जाँदा विजयपुर खोला तरेर पारी पुगेपछि रोकिएको पल अझै सम्झनुहुन्छ । सरोज गोपालको एउटा गीत पनि छ ‘देउराली उकाली चढेर, विजयपुर खोला तरेर’ राणा सम्झन्छिन् । ‘हामी विजयपुर खोला तरेर नजिक एक होटलमा बस्यौं र १५ दिन पछि फर्केर पोखरा आयौं । सरोजको साथी करोडौं मुटुको गीतका रचनाकार नवराज कार्कीले अभिभावकीय जिम्मेवारी पूरा गर्दै हाम्रा लागि कोठा भाडामा लिएर एक महिना पुग्ने रासनसहित व्यवस्था गर्नुभएको रहेछ ।’

तत्कालीन समयमा राणा महिला प्रशिक्षण केन्द्रमा सांस्कृतिक प्रवन्धकको रुपमा कार्यरत थिइन् भने सरोजगोपाल पुरुष प्रशिक्षण केन्द्र (नगर प्रशिक्षण केन्द्र) मा । दुवैले २१ वर्षको जागिरे जीवन उपादान लिएर छोडे । सरोजगोपालले पछि नेपाल टिभी र रेडियो नेपालमा पनि पाँच वर्ष काम गरे ।

पतिलाई सम्झँदै राणाले भनिन्, ‘धेरै खुसी साट्न बाँकी नै थियो, सांगीतिक सहयात्रामा सँगसँगै निकै दूरिको यात्रा पार गरौँला भन्ने थियो, मलाई छोडेर एक्लै जानुभयो,’ राणाले भावुक हुँदै भनिन्, ‘बाँकी दिनहरु संगीत साधनामा रमेर उहाँकै यादमा बिताउँछु ।’ राणाले सरोजगोपालको निधनपछि उहाँको सम्झनामा ‘सपना मेरो अधुरै भयो, खोज्दा खोज्दै हराएँ म’ भन्ने आधुनिक गीत रेकर्ड गराइसक्नुभएको छ ।

सरोजगोपालका ८० भन्दाबढी गीत रेडियो नेपालमा रेकर्ड छन् तर उनकोे जीवनकालमा एल्बम भने निकाल्न पाएनन् । सरोजगोपालको गीत रेकर्डको एक प्रसंगमा उनले भनिन्, ‘२०७१ सालतिर हो ‘लुम्लेको कविता गाउँ’ भन्ने एक कार्यक्रममा विम्ब कवि रमेश श्रेष्ठसँग ‘अब उकाली पनि उक्लन्छु, देउराली पनि झर्छु, नक्कली भगाइलान्छु भन्ने रेकर्ड गर्छु’ भन्नुभएको थियो तर दुर्भाग्य त्यसको एक महिनामा उनको निधन भयो ।

सरोजगोपालको ६४ वर्षको उमेरमा विसं २०७१ साउन २९ गते निधन भएको हो । नेपाली लोक गायनको क्षेत्रका प्रतिभाशाली गायक तथा संगीतकार बज्राचार्यसँग परम्परागत लोक संगीत र ठेट गीतलाई आधुनिकतासँग जोड्न सक्ने कला पाइन्थ्यो ।

विसं २०६४ जेठ ४ गते संगीत प्रशिक्षण केन्द्र पोखराको आयोजनामा ‘सरोजगोपाल र बाबा राण युगल साँझ’ को आयोजना गरिएको थियो । जसमा सरोज र बाबाले झण्डै दुई दर्जनभन्दा बढी गीत गाएका थिए । राणाका ‘साइको घर कहाँ हो कहाँ,’ ‘बिर्सिजाने निष्ठुरी’, ‘हे आमा जन्मायौ किन’, ‘करौडौं मुटुहरुको’ बहुचर्चित गीत छन् भने उनले लोक, आधुनिक, राष्ट्रिय गीत, भजन आदि गरेर २ सयभन्दा बढी गीत रेकर्ड गराइसकेकी छन् । उनका ‘भिजेको परेली’ एल्बम र ‘सांस्कतिक ज्ञान’ तथा ‘गाउँदा गाउँदै यहाँसम्म’ प्रकाशित कृति हुन् ।

राणाको संगीतप्रतिको रुचि देखेर तत्कालीन रानी ऐश्वर्या राज्यलक्ष्मी शाहले बरोडामा सांगीतिक अध्ययनका लागि वृत्तिसमेत प्रदान गरेकी छन् । तर दुई वर्षकी छोरी भएकाले बाबा राणाले त्यो अवसर गुमाइन् । राणाले रेडियो नेपालबाट आयोजना गरिएको राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगितामा नवोदित गायिकातर्फ २०२९ सालमा प्रथम भई स्वर्ण पदक प्राप्त गरेकी छन् । तत्कालीन समय रानी ऐश्वर्या र राजा वीरेन्द्रबाट नगद पुरस्कार पनि प्राप्त गर्न सफल भएकी छन् । नेपाली गीत संगीतको उन्नयनका लागि योगदान पुर्‍याएबापत उनलाई १ दर्जनभन्दा बढी संघसंस्थाबाट सम्मान एवं पुरस्कार प्राप्त भएको छ ।

राणाका एक छोरा र एक छोरी छन् । उनी आफ्नै निवास पोखरा–१ बगरमा छोरा बुहारी र नाति नातिनीको साथमा संगीत साधनामै लागिरहेकी छन् । हार्मोनियम बजाउँदै सरोजगोपालका तस्बिर र सम्मानले भरिएको कोठामा उनले हरेक दिन उनलाई सम्झँदै सांगीतिक शब्दबाट श्रद्धाञ्जलि अर्पण गर्दै आएकी छन् ।

तपाईको प्रतिक्रिया