पोखरा फुड्सभित्र सल्कँदै कोरोना

समाधान संवाददाता २०७७ भदौ २३ गते २०:४४

समाधान संवाददाता, पोखरा

पोखरा औद्योगिक क्षेत्रभित्रको पोखरा फुड्स प्रालिमा कार्यरत ७५ भन्दा बढी कामदारमा कोरोना पुष्टि भएको छ । सोमबार र मंगलबार गरेर उद्योगका ४९ कामदारमा कोरोना पोजेटिभ देखिएको छ । मंगलबार मात्रै २४ कामदार संक्रमित बनेका छन् ।

बिस्कुट उत्पादक उक्त कम्पनीमा झन्डै साढे २ सय कर्मचारी छन् । तर कर्मचारीको व्यवस्थापन र उद्योगको अवस्थाबारे उद्योग सञ्चालक बोल्न मान्दैनन् ।

Advertisement

औद्योगिक क्षेत्रभित्र संक्रमितको संख्या उकालो लागिरहेको र त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा मंगलबार स्वास्थ्य सरोकारवाला र औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगका प्रतिनिधिबीच छलफल भएको थियो ।

‘पोखरा फुड्समा पछिल्लो समय पोजेटिभ केस बढेको छ । त्यहाँ संक्रमण नदेखिएकालाई कसरी जोगाउने । सम्पर्कमा आएकाहरुको परीक्षण कहिले गर्ने भन्ने विषयमा छलफल भयो,’ बैठकका एक सहभागीले समाधानसँग भने, ‘कतिले आफैं आएर स्वाब परीक्षण गराउनुभएको छ । त्यसैले ठ्याक्क कति संक्रमित हुनुभयो थाहा भएन ।’

Advertisement

एकैदिन थपिए ६० संक्रमित

गण्डकी प्रदेशमा मंगलबार ६० जनामा कोरोना पोजेटिभ देखिएको छ । पोखरा र चितवनमा गरिएको परीक्षणमा ५ जिल्लाका ६० जनामा कोरोना पोजेटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माका अनुसार कास्कीका ३२, गोरखाका १०, बागलुङका ९, नवलपुरका ६ र तनहुँका ३ जनामा पोजेटिभ देखिएको हो । योसहित प्रदेशमा कोरोना संक्रमितको संख्या २६ सय ६० पुगेको छ । तीमध्ये १८ सय ४ संक्रमित निको भएका छन् ।

गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ । मृत्यु हुनेमा कास्कीका ७, गोरखाका ४, तनहुँका ३, स्याङ्जा र नवलपुरका २/२, म्याग्दी, लमजुङ र बागलुङका १/१ संक्रमितको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया