नेपाली विभागमा साहित्यको विश्लेषण गर्ने नयाँ पद्धतिबारे चर्चा

समाधान संवाददाता २०७७ असोज १२ गते ९:३३

समाधान संवाददाता, पोखरा

पृथ्वीनारायण क्याम्पस, नेपाली विभागले शनिबार साहित्यको विश्लेषण गर्ने नयाँ पद्धतिबारे चर्चा गरेको छ ।

भर्चुअल कार्यक्रममा त्रिवि नेपाली केन्द्रीय विभागका पूर्व अध्यक्ष प्राडा देवी गौतमले ‘पाठमा निहितार्थता विश्लेषण’ शीर्षकको गोष्ठीपत्र प्रस्तुत गरे।

Advertisement

साहित्यको एउटा पाठमा निहित अर्थको पहिचान कसरी गर्न सकिन्छ भन्ने विषयमा गोष्ठीपत्र केन्द्रित थियो ।

कुनै पनि पाठको विश्लेषण गर्दा कोशीय अर्थलाई मात्र आधार नबनाई त्यसको सन्दर्भगत अर्थको पनि खोजी गर्नुपर्दछ भन्ने कुरामा गोष्ठीपत्रको सार थियो ।

Advertisement

पाठभित्र निहित रेखा, चित्र, रड, शान, ध्वनिको व्याख्या गरेर मात्रै त्यस पाठको सही विश्लेषण गर्न सकिन्छ । पाठको निहितार्थताको विश्लेषणका लागि लेखक र पाठकको संज्ञानको सन्दर्भलाई आधार बनाउनुपर्दछ ।

एउटा समाज र संस्कृतिमा आधारित पाठ अर्को समाज र संस्कृतिका मानिसका लागि बुझ्न नसकिने भनेकै त्यसको सन्दर्भगत अर्थकै कारणले हो ।

एउटा पाठमा निहित अर्थको विश्लेषणका निम्ति संकेत निर्मिति, पाठसंसार निर्मिति, क्रियाकलाप निर्मिति, सामाजिक तथा सांस्कृतिक निर्मिति, राजनीतिक निर्मिति र सम्बन्धगत निर्मिति गरी छवटा निर्मितिलाई आधार बनाउनुपर्दछ भन्ने धारणा प्रस्तुत गरिएको थियोे ।

गोष्ठीपत्रमा केन्द्रित भएर डा.लक्ष्मीशरण अधिकारी, डा.यमनाथ तिमिल्सिना, डा.पुण्य शर्मा, नारायण न्यौपानेले जिज्ञासा प्रकट गर्नुका साथै छलफल गरेका थिए ।

पृथ्वीनारायण क्याम्पसका पोखराका सहायक क्याम्पस प्रमुख डा.वीरबहादुर कार्कीले नेपाली विभागले गरेका प्राज्ञिक गतिविधि उदाहरणीय रहेको बताए ।

विभागीय प्रमुख प्राडा कुसुमाकर न्यौपानेको अध्यक्षतामा सम्पन्न यस कार्यक्रमको उद्घोषण शोभाकान्त गौतमले गरेका थिए भने डा.वासुदेव भण्डारीले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए ।

निर्मल साप्कोटाले प्रतिवेदकको जिम्मेवारी लिएका थिए । प्राज्ञिक गतिविधि गर्ने क्रममा नेपाली विभागले गरेको यो छैटौं गोष्ठी हो ।

तपाईको प्रतिक्रिया