प्रधानमन्त्रीको ताप्लेजुङ भ्रमण स्थगित

समाधान संवाददाता २०७७ मंसिर २ गते ११:२७

काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओली चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सीमा निरीक्षणसहितको कार्यक्रमका लागि ताप्लेजुङ जाने कार्यक्रम स्थगित भएको छ।

यही मंसिर ५ गते बिहान प्रधानमन्त्री ताप्लेजुङ जाने कार्यक्रम तय भएको थियो।

Advertisement

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईँले हाललाई त्यो कार्यक्रम स्थगित भएको जानकारी आफूलाई प्रधानमन्त्रीको सचिवालयबाट आएको दिए।

‘प्रधानमन्त्री ताप्लेजुङ आउने भएपछि सुरक्षा व्यवस्था मिलाएका थियौँ,’ चापागाइँले भने, ‘प्रधानमन्त्रीको सचिवालयबाट ताप्लेजुङको कार्यक्रममा आउने समय स्थगन भएको जानकारी आयो।’

Advertisement

जिल्लाको उत्तरी क्षेत्र र तिब्बतको सीमा क्षेत्र टिपताला भञ्ज्याङको निरीक्षण तथा फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सामा निर्माण गरिएको स्वास्थ्य एकाइ कार्यालय उद्घाटनको कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली ५ गते ताप्लेजुङ आउने तयारी भएको थियो।

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा हिमालको फेदी तथा तीन हजार ५०० मिटरमा अवस्थित घुन्सा गाउँमा प्रधानमन्त्री ओली आउने खबरले खुशीका साथ स्थानीयले स्वागतद्वार समेत निर्माण गरेका थिए।

‘गाउँ सरसफाइसहित कार्यक्रमस्थल सजावटको काम समेत सकेका थियौँ, तर अहिले प्रधानमन्त्री नआउने खबर आयो,’ घुन्सा गाउँका स्थानीय टासीतेन्जी शेर्पाले भने।

प्रधानमन्त्री ओलीसमक्ष घुन्सावासीले घुन्सा गाउँको विकास निर्माण तथा राज्यबाट थप सेवा सुविधाको मागपत्रसमेत तयारी गरिसकेका थिए।

तपाईको प्रतिक्रिया