पोउवा संघमा चरम राजनीति, पूर्वअध्यक्षलाई दिइएन सिफारिस

समाधान संवाददाता २०७७ पुष १६ गते १४:११

समाधान संवाददाता, पोखरा

निजी क्षेत्रको छाता र साझा संगठन मानिएको पोखरा उद्योग वाणिज्य संघ चरम राजनीति र गुटबन्दीको शिकार भएको छ । राजनीतिक आस्थाकै कारण अहिलेको कार्यसमिति पूर्व अध्यक्षहरुको अपमान गर्नसमेत पछि परेन ।

राजनीतिक आस्थाका आधारमा नेकपा निकट संघका पूर्वअध्यक्ष सञ्जीवबहादुर कोइरालाले पोखरा उद्योग बाणिज्य संघको ‘पूर्व अध्यक्ष भएको’ सिफारिससमेत पाएनन् ।

Advertisement

२०५९ देखि संघको कार्यसमितिमा प्रवेश गरेका कोइराला महासचिव हुँदै २०६९ सालमा संघको अध्यक्ष निर्वाचित भएका थिए । अहिले उनले सोही व्यहोराको चिठी माग्दा संघको कार्यसमितिमा ठूलो विवाद भयो ।

संघका अध्यक्ष नेकपा निकटका व्यवासायी दामु अधिकारी छन् भने अन्य पदाधिकारी र अधिकांश सदस्य नेपाली कांग्रेस निकट छन् । दामु सिफारिस दिने पक्षमा थिए । तर, सिफारिस नदिने पक्षको नेतृत्व महासचिव अर्जुन पोखरेलले गरेका थिए ।

Advertisement

पोखरेलले वरिष्ठ उपाध्यक्ष नारायण कोइरालासहित बहुमतको साथ लिएर सिफारिस नदिने अडान राखे । अधिकांशले पोखरेललाई साथ दिए र कोइरालाले सिफारिस पाएनन् ।

कोइरालालाई सिफारिस नदिनुको कारण उनलाई गण्डकी प्रदेश उद्योग वाणिज्य संघको अध्यक्ष बन्नबाट रोक्नु थियो । पोखरा उद्योग वाणिज्य संघले सिफारिस नदिएमा कोइराला अध्यक्षमा उठ्नै पाउदैनन् भन्ने बुझेका पोखरेल पक्षधरले कुनै पनि हालतमा सिफारिस नदिने अडान लिएका थिए ।

संघ गण्डकीमा पहिलो कार्यकालमा पनि अध्यक्ष रहेका कोइराला पोखरा उद्योग वाणिज्य संघले सिफारिस नदिए पनि पुस ११ गतेको दोस्रो अधिवेशनबाट अध्यक्षमा निर्वाचित भइसकेका छन् ।

पोउवासंघका पूर्वअध्यक्ष एवं गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापा र निवर्तमान अध्यक्ष विश्वशंखर पालिखे सिफारिस दिनुपर्ने पक्षमा थिए । ‘माननीय थापा र निर्वतमान अध्यक्ष पालिखेले निकै सम्झाउने कोसिस गर्नु भयो तर महासचिव र उनको टिमले मान्दै मानेन,’ कोइरालाले समाधानसँग भने ।

आफ्नै मातृ संस्थाले सामान्य सिफारिस दिन पनि प्रतिशोध साँध्ला भन्ने आफूले नचिताएको कोइरालाले बताए । संघले सिफारिस नदिए पनि आफू निर्वाचित भइसकेको तर यस्तो गलत र प्रतिशोधपूर्ण व्यवहारले संस्थाको गरिमा र मर्यादा गिरेको उनको भनाइ छ ।

‘म पोखरा उद्योग वाणिज्य संघको निर्वाचित अध्यक्ष हुँ । अधिवेशनको निर्वाचन समितिले विजयी भएपछि दिएको प्रमाणपत्र मसँगै छ,’ कोइरालाले भने, ‘तैपनि आफैले योगदान गरेर बनाएको संस्थामा खराब मान्छे हावी भएर यो पूर्वअध्यक्ष हो भन्ने यथार्थ पनि स्वीकार गर्दैनन् होला भन्ने सोचेकै थिइनँ ।’

सधैं एउटै व्यक्तिले एउटै पद खाइरहने परिपाटी हटाएर अरु संघलाई पनि साथ दिन सिफारिस गर्न नसकिएको महासचिव अर्जुन पोखरेलले बताए ।

संघको सिफारिसमा अध्यक्ष दामु अधिकारी केन्द्रीय सदस्य बनिसकेको अवस्थामा फेरि कोइरालालाई सिफारिस गरेर जता पनि हडप्ने काम ठीक नभएको उनको भनाइ छ ।

‘उहाँले एक कार्यकाल अध्यक्ष खाइसक्नु भयो । फेरि पनि उहाँलाई नै अध्यक्ष बनाउनुभन्दा अर्को संघलाई पालो दिनुपर्छ भन्ने हाम्रो मान्यता हो,’ महासचिव पोखरेलले भने, ‘यसले संघको मर्यादा र गरिमा घटाउँछ जस्तो लाग्दैन ।’

यो घटनाले पूर्व अध्यक्ष विश्वशंकर पालिखेले भने पोखरा उद्योग वाणिज्य संघमा अग्रजको सम्मान र आफ्नै घरलाई माया गर्ने परिपाटी अन्त्य गरेको बताए ।

‘अहिलेको कार्यसमिति सदस्यले अग्रजको सम्मान गर्ने भन्ने गरेको भए पनि पूर्वअध्यक्षले सिफारिस माग्दा अरु कुनै पूर्व अध्यक्षको दाबी नहुँदा सिफारिस गर्नैपर्ने थियो,’ पालिखेले भने, ‘आन्तरिक कलहले पूर्व अध्यक्षमाथि ठूलो अपमान भएको छ ।’

भोलि यही नियति उनीहरुले पनि खेप्नुपर्ने अवस्थाको सुरुआत गर्ने दुखद् भएको उनको भनाइ छ । यसले इतिहासमै दुखद नजीर बसेको पूर्व अध्यक्षहरुले बताएका छन् ।

कार्यसमितिमा आफू अल्पमतमा रहेको र बहुमतमा हुने साथीहरुले सिफारिस गर्न नमानेको अध्यक्ष दामु अधिकारीले बताए । ‘आफ्नै पूर्वअध्यक्षलाई सिफारिस गर्दिनँ भन्न मिल्दैन भन्ने मत थियो । तर, झगडा नै हुने अवस्था आएपछि मेरो केही लागेन,’ अधिकारीले भने ।

तपाईको प्रतिक्रिया