तीजको रहर आयो बरिलै…का गीतकार चेतन कार्की रहेनन्

समाधान संवाददाता २०७८ जेठ २ गते १२:०५

७ दिनअघि अस्पताल भर्ना भएका साहित्यकार तथा फिल्म निर्देशक चेतन कार्कीको निधन भएको छ । कार्कीको सैनिक अस्पतालमा उपचार हुँदा हुँदै आइतबार बिहान साढे १० बजे निधन भएको फिल्म निर्देशक प्रकाश सायमीले पुष्टि गरेका छन् ।

विसं १९९५ कात्तिक २२ गते स्याङ्जाको बहाँटारी, थुमआरुखर्कमा जन्मिएका उनले ‘विश्वास’, ‘भुमरी’ र ‘पहिलो प्रेम’ जस्ता फिल्म निर्देशन गरेका थिए ।

उनले लेखेका ‘तिजको रहर आयो बरिलै’, ‘छोरीको जन्म हारेको हर्क’ र ‘बैनीको दया छ भने’लगायतका गीत लोकप्रिय छन् । उनका गीतहरु नारायण गोपाल, तारा देवी, अरुणा लामा, प्रकाश श्रेष्ठ, किरण प्रधानसहितले गाएका छन् ।

Advertisement

उनका ‘आत्मा बेचेको छैन’, ‘ढलेको गिलास’, ‘हनिमुन(उपन्यास)’, ‘बसिबियाँलो(कथासंग्रह), ‘माया पिरतीको कथा’, ‘जुन निदाउन थाल्यो(गीत संग्रह’, ‘कल्पना टुट चुकी है (हिन्दी कविता)’, ‘दिल गिजर के टुकडे (हिन्दी उर्दू कविता)’ प्रकाशित छन् ।

कार्कीको साहित्यिक रचनाकर्मको सुरुवात र प्रकाशन स्कूले जीवनमा भारतको देहरादूनमा हिन्दीमा कविता लेखेर भएको थियो । सन् १९५२ मा । उनलाई आफ्ना लाहुरे पिताले ४ वर्षको उमेरमै दाजुसँग देहरादून लगेर गोर्खा मिलिट्री स्कूलमा भर्ना गरिदिएका थिए । उनी त्यतिबेला गोर्खा मिलिट्री स्कूलमा नौ कक्षामा पढ्थे ।

Advertisement

कार्कीले पुलिसमा डीएसपी पद पाउने प्रलोभन पाएका थिए । तर, पाएनन् । त्रिचन्द्रमा लेक्चररको पनि आश्वासन पाए, त्यो पनि उनलाई जुरेन । अन्ततः पोखरामा मत्स्य विभागमा काम गर्न पुगे । उनले त्यहाँ ६ वर्ष ४ महिना जागिर खाए । त्यसपछि त्यहाँ राजीनामा दिएर नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरे ।

पोखरामा चेतन कार्की र भूपि शेरचनको दोस्ती निकै जमेको थियो । तर, परिचय भने आकस्मिक रुपमा भएको थियो । चेतन आफ्ना एकजना मित्र, जो वीरगञ्ज चिनी कारखानामा टेक्निसियन थिए, लाई विदा गर्न पोखरा एयरपोर्ट पुगेका थिए, त्यति नै बेला सुटेड–बुटेड एक आकर्षक व्यक्तित्व भएका व्यक्ति क्राइभेन चुरोट ओठमा राखेर त्यहाँ झुल्किए । ती व्यक्ति र चेतनका साथी पूर्वपरिचित रहेछन् । उनले परिचय गराइदिए । ती सुटेड बुटेड अरु कोही नभई भूपि शेरचन थिए, जोसँग चेतनको गहिरो मित्रता भयो ।
नेपाली चलचित्र क्षेत्रमा करिब ५० चलचित्रमा चेतनले कथा, पटकथा, सम्वाद, निर्देशन, प्राविधिक सल्लाह तथा गीत लेखनमा संलग्न भए ।

संगीता प्रधान रानाले गाएको भूमरी चलचित्रको गीत ‘पिरतीको के चलन यो, मीठो–मीठो छ जलन यो’ सधैं याद आइरहने गीत हो भन्थे चेतन । सिन्दूर, जीवन रेखा, कान्छी, माया प्रिती जस्ता चलचित्रहरुलाई पछिसम्म सबैले याद गर्नेछन् भन्ने उनको विश्वास थियो ।
बिरामी पर्नुअघिसम्म ८७ वर्षीय नृत्य निर्देशक भैरवबहादुर थापाले ६३ वर्ष लगाएर तयार पारेको नृत्यको लिपिको किताबको हिन्दी र अंग्रेजीमा अनुवाद कार्यमा लागिरहेका थिए । उनले विद्यार्थी जीवनमा जतिजना गुरु व्यहोरे, तिनको विशेषता लेख्ने उनको मनसुवा थियो । चेतनले ८२ वर्षको उमेरमा आएर गुरु महिमा लेख्ने इच्छा प्रकट गरेका थिए । तर उनको इच्छा अपुरै रह्यो ।

उनले विसं २०२५ सालमा फिल्म ‘परिवर्तन’को पटकथा संवाद लेखनबाट नेपाली फिल्ममा पाइला चालेका थिए । उनका श्रीमती र दुई छोरा छन् ।

तपाईको प्रतिक्रिया