मनाङ जाने सडकमा अझै गाडी चल्न सकेन

समाधान संवाददाता २०७८ भदौ २० गते ११:१४

पोखरा- जेठको अन्तिम र असारमा आएको बाढी पहिरोले मनाङमा ठूलो क्षति पु¥यायो । सदरमुकाम चामे बजार नै जोखिममा रह्यो । सम्भवत इतिहासमै मनाङमा यसपालि सबैभन्दा ठूलो पानी परेको थियो । एकातिर स्थानीय बासिन्दाका घरबास उठ्यो, अर्कातिर विकासका धेरै पूर्वाधार बगे । सदरमुकाममै मस्र्याङ्दी नदीमाथिको पुल बग्यो ।


मनाङमा भएको क्षति हेरेरै सरकारले विपद संकटग्रस्त जिल्ला घोषणा पनि गरेको थियो । त्यसको अर्थ त्यहाँ छिटो राहत लैजाने र छिटोछिटो पूर्वाधार निर्माण गर्ने भन्ने थियो । मनाङ जाने एकमात्रै सडक बेसिसहर चामे सडक बाढीले धेरैतिर ध्वस्तै पारेको थियो, त्यसलाई छिटो मर्मत गर्नुपर्ने थियो ।


विपद संकटग्रस्त जिल्ला घोषित भएकैले बेसिसहर चामे सडक मर्मतका लागि डुम्रे—बेसिसहर—चामे सडक योजना कार्यालयले सडक मर्मतका लागि ७ दिने म्यादको सूचना जारी गरी टेन्डर गरेको थियो । योजना कार्यालयले उक्त सडक मर्मतका लागि १ करोड ९२ लाख रुपैयाँ खर्च हुने स्टिमेट तयार पारेको थियो । सोही अनुसार ठेक्का आह्वान भएको थियो । तर साउन अन्तिममा निकालिएको सूचनामा उत्तरगया कन्स्ट्रक्सनले ५५ प्रतिशत घटेर भ्याटसहित ९१ लाख रुपैयाँमा टेन्डर हाल्यो र जिम्मेवारी उसैले पायो ।

Advertisement


असोजसम्म मर्मत सक्नुपर्ने गरी ठेकेदारसँग सम्झौता भएको थियो । तर अहिलेसम्म ठेकेदार कम्पनीले माखो मार्न नसकेको मनाङका स्थानीय बासिन्दा बताउँछन् । मनाङको नासों गाउँपालिकाको वडा नम्बर ३ मा पर्ने खोत्रोदेखि तिमाङसम्मको सडक खण्ड सबैभन्दा धेरै क्षतिग्रस्त भएको डुम्रे—बेसिसहर—चामे सडक योजना कार्यालयका इन्जिनियर सुरज महर्जन बताउँछन् । तर ठेकेदारले त्यहाँ कत्ति पनि काम नगरेको वडाध्यक्ष मीनबहादुर गुरुङले सुनाए । ‘खनेजस्तो त ग¥या छ, तर ठेकेदारबाट पटक्कै काम भएन,’ वडाध्यक्ष मीनबहादुरले भने, ‘खोत्रो भन्ने ठाउँ त छिचोल्ला जस्तो छैन, अन्त कसरी काम होला खै ?’


सडक ध्वस्त भएकाले बेसिसहरबाट मनाङसम्म यातायातका साधन चल्न पाएका छैनन् । मनाङमा खाद्यान्न लगायत सामान स्थानीयले लैजान पाएका छैनन् । ‘खच्चड र मान्छेलाई बोकाएर सामान ल्याउनुपरेको छ,’ नासों गाउँपालिका अध्यक्ष चन्द्र घलेले भने, ‘खच्चड र मान्छे हिँड्न पनि गाह्रो छ, सडक मर्मतको काम ढिलो भइरहेको छ ।’
सडक मर्मत बेलामा नहुने हो भने स्थानीय बासिन्दाका लागि खाद्य संकट हुने जोखिम पनि छ ।

Advertisement

सडक मर्मतका लागि ठेक्का लगाएपछि काम भए नभएको कुनै निकाय र सरोकारवालाले नहेरेको स्थानीय गुनासो गर्छन् । एक स्थानीयले भने, ‘मनाङमा बाढी आयो भनेर मुख्यमन्त्री हेर्न आए, प्रचण्डदेखि ठुल्ठूला नेताहरु आए तर अहिलेसम्म किन बाटो नबनेको भनेर कसैले सोध्दैनन्, सडक छिटो बनाउनप¥यो भन्ने कसैलाई वास्तै छैन ।’


मनाङका संघीय सांसद पोल्देनछोपाल गुरुङ पहिलाको सरकारले बजेट विनियोजन गरी योजना बनाएको तर यसपालिको सरकारबाट मनाङलाई वास्ता नगरिएको बताउँछन् । लोबिडिङमा ठेक्का हालेर काम नगर्ने प्रवृत्तिको सिकार बेसिसहर—चामे सडक भएको उनले सुनाए । भौगोलिक हिसाबमा निकै कठिन गाउँमा मर्मतका लागि गम्भीर भएर लाग्नुपर्नेमा त्यस्तो नभएको उनको भनाइ छ ।


डुम्रे—बेसिसहर—चामे सडक योजना कार्यालयका इन्जिनियर सुरज महर्जनले ठेकेदारको ढिलासुस्तीप्रति आफूहरु गम्भीर भएको बताउँछन् । ठेकेदार कम्पनीलाई छिटो काम गर्न ताकेता गर्दै पत्राचार गरेको जानकारी महर्जनले दिए । ‘काम नगर्ने हो भने ढिला गर्ने हो भने ठेक्का तोड्न सक्छौं, कारबाही गर्छाैं भनेका छौं,’ उनले भने ।

तपाईको प्रतिक्रिया