पर्यटन

मुस्ताङमा छन् लोभलाग्दा सुटिङ स्पट

सुन्दरकुमार थकाली २०७८ माघ १२ गते ११:५८


जोमसोम—

पछिल्लो समय मुस्ताङ जिल्ला चलचित्र हबको रुपमा विकास हुन थालेको छ । मुस्ताङको रमणीय भूगोल र यहाका विभिन्न मनमोहक प्राकृतिक सौन्दर्यताले स्वदेशी तथा विदेशी चलचित्र निर्माता, निर्दैशकहरुको ध्यान मुस्ताङतर्फ मोडिन थालेको हो ।


दुई दशकअघि हिमाली जिल्ला मुस्ताङको गन्तब्य अहिलेको जस्तो सहज पटक्कै थिएन । २०६०सालको सेरोफेरोमा जब नेपाली सेनाले मुस्ताङ र म्याग्दीको सडक ट्र्याक खोल्यो ,त्यसपछि मुस्ताङको दुरी छोटिन पुग्यो । भारतीय नाकाबन्दीपछि सरकारले २०७४ सालदेखि उत्तरी कोरलानाकासम्मको पहुचमार्ग बिस्तार गर्ने उद्देश्यले सडक स्तरोन्नति गर्न थालेपछि मुस्ताङ यात्रा झनै सहज बन्दै गईरहेको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत मुस्ताङको थासाङ —३ लेतेदेखि घरपझोङ—२ मार्फासम्म कालोपत्रे सडक विस्तार भईसकेको छ ।

Advertisement

जोमसोम—कागबेनी सडकको कालोपत्रे विस्तारको काम पनि सुरु हुन थालेको छ । तर,कागबेनी—मुक्तिनाथ सडक भने ४ वर्षअघिनै कालोपत्रे भईसकेको छ ।कालिगण्डकी करिडोर अन्तर्गत जोमसोम—कोरला ग्राभेल सडक अन्तिम चरणमा छ भने बेनी—जोमसोम सडकको भौतिक प्रगती ६५ प्रतिशत छ । मुस्ताङ आउने पर्यटकलाई म्याग्दी खण्डमा केही असहज र सास्ती ब्यवहोर्न परेपनि मुस्ताङ खण्डको सडक समृद्ध बन्दै गइंरहेकाले पर्यटकलाई सम्पूर्ण थकान चटक्कै बिर्सन बाध्य गराईदिन्छ । अबको केही वर्षपछि बेनी—जोमसोम—कोरला सडक स्तरोन्नति पुरा भई झनै सडक गन्तब्य सहज बन्ने पक्का छ ।

मुस्ताङमा सडक यातायात सहज बन्दै जान थालेपछि पछिल्लो एक दशक यता करिव दुई दर्जन नेपाली चलचित्र छायांकन भईसकेका छन् भने दर्जनौ म्युजिक भिडियो र मुस्ताङ चिनाउने डकुमेन्टी फिल्महरु छायांकन भइसकेका छन् । यस्तै ,केही विदेशी पर्यटकले पनि अंगे्रजी फिल्म र डकुमेन्टी सुटिङ गरिसकेका छन् । मुस्ताङमा एकपछि अर्को गरी चलचित्रहरुको छायांकन हुन थालेपछि यहाको पर्यटन ब्यवसायले गति लिन थालेको छ ।हिमाली जिल्ला मुस्ताङमा नेपाली चलचित्र कबड्डीको चार वटा शृखंला छायांकन भईसकेका छन् । जसममध्ये ३ वटाको प्रर्दशन भइसकेको छ भने कबड्डी फाइनल म्याचको अन्तिम भाग गत कार्तिकमा छायांकन सकिएको थियो ।

Advertisement

विश्वब्यापी माहामारीको रुपमा फैलिएको कोरोना जोखिम अघि मुस्ताङमा कान्छी,ब्याच नं. १६ ,जेरी,ड्रिम्स,सम्हालिन्छ कहिले मन,भकुन्डो,चचहुई,प्रेमगीत,रुद्र,हिम्मत २,छिरिङ,आमा खन्डो र चिनो लगायतका नेपाली कथानक चलतित्र छायांकन भईसकेका छन् ।यस्तै,मुस्ताङमा भारतीय चलचित्र क्षेत्रका महानायक अमिताभ बच्चनको खुदा गवाह चलचित्र छायांकन भईसकेको थियो । खुदा गवाहको प्रर्दशनपछि मुस्ताङमा भारतीय पर्यटकको संख्या वृद्धि भएको थियो । यस्तै,कोरोना कहरको क्रममा गत वर्ष भारतीय चलचित्र तिरीमाली छायांकन भईरहेको बेला स्थानीय प्रशासनले कोरोना संक्रमण जोखिम भन्दै छायांकनका क्रममा रोक लगाईएको थियो ।

मुस्ताङमा थकाली कलासंस्कृतिलाई तयार पारिएको कबड्डी नामक चलचित्रले थासाङको नाउरिकोटलाई चिनाउन ठुलो भूमिका खेल्यो । २०७० सालमा निर्देशक रामबाबु गुरुङले निर्देशन गरेको यस चलचित्रले यहाका भुगोल,मौलिकता र स्थानीय रहनसहनलाई आम दर्शक माझ उजागर गरिदियो । थासाङ—२ का वडाध्यक्ष नरप्रसाद ज्वाहारचनले थासाङ क्षेत्रको परिचय चलचित्र कबड्डीले पस्किएको बताए । उनले कबड्डीको प्रर्दशनपछि नाउरिकोट भ्रमण गर्ने पर्यटक वृद्धि भएको जानकारी दिए ।समुन्द्री सतहदेखि २ हजार मिटर अग्लो उचाईमा अवस्थित नाउरिकोट गाउ आफैमा मनमोहक छ ।वरिपरी निलगिरि र धौलागिरि हिमालको दृष्यावलोकन गर्न सकिने नाउकोटा गाउ सडक संञ्जालले जोडिएकाले चलचित्रकर्मीलाई यहा पुगेर छायांकन गर्न सक्ने अवस्था रहेको छ ।नाउरिकोट गाउबाट खर्कको चरनक्षेत्रमा चरिरहेका याकचौरी र वन्यजन्तुको क्रिडा अवलोकन गर्न सकिन्छ । यस्तै नाउरिकोटबाट कालिगण्डकी नदीको सौन्दर्यताले पर्यटकलाई मोहित पारिदिन्छ ।मुस्ताङको थासाङमा ३ वटा स—साना तालहरु छन् । थासाङ —२ मा भुतर्छो ताल र सेकुङ ताल छन् । यी दुबै ताल समुन्द्री सतहदेखि २७ सय२५ मिटरको उचाईमा छन् । तालमा निलगिरि हिमालको प्रतिबिम्ब देख्न सकिन्छ ।यस्तै थासाङ—५ को टिटी गाउमा टिटी ताल छ । यो ताल पनि २५ सय मिटर अग्लो उचाईमा छ । ताल हेर्न स्वदेशी तथा बिदेशी पर्यटक उल्लेख्य उपस्थिती रहने गर्छल ।थासाङमा कवि भूपी शेरचनको गाउ टुकुचेमा कबड्डी लगायत अन्य नेपाली चलचित्र छायांकन भईसकेको वडाध्यक्ष हिराचनले बताए ।


मुस्ताङको घरपझोङ गाउपालिका पनि चलचित्रल छायांकनका हिसाबले महत्वपूर्ण छ ।घरपझोङ गाउपालिका भित्र पर्यटकी गन्तब्य ढुम्बाताल,कुछप तेरङ्गा गुम्बा,स्नोलियो पार्ट,यारुझो भ्यू टावर,घरपझोङ किल्ला,झोनाधाङ पार्क र स्याउको राधधानी मार्फा गाउ छन् । सदियौं पुरानो माटोलले निर्मित परम्परागत एकआपसमा जोडिएका घरहरुको मौलिकताले चलचित्रकर्मी यहासम्म आउन बाध्य हुन्छन् ।चलचित्र चिनो,प्रेमगीत,जेरी,छिरिङ र कान्छी लगायतका चलचित्रको प्रर्दशनपछि ढुम्बातालको चर्चा झनै चुलिएको मुस्ताङ उद्योग बाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचनले जानकारी दिए ।चलचित्र छायांकनकै माध्यमले मुस्ताङको पर्यटकीय क्रेज बढेको अध्यक्ष तुलाचनको भनाई छ ।बर्सेनि भदौ,असोज महिनामा लटरम्म स्याउ बगैचा स्याउले ढाकिदा मार्फा गाउको सौन्दर्यतानै बेग्लै हुने गर्छ । बेनी—जोमसोम मुख्य सडकको भित्री भागमा एक आपसमा मिलेको बस्ती हो मार्फा गाउ । साघुरो गल्ली परम्परागत पुराना घरले सांस्कृतिक धरोहरलाई जिवन्त तुल्याउछ । यही मार्फाको गल्ली भित्रै थुप्रै नेपाली चलचित्र छायांकन भईसकेको स्थानीय दिपक लालचनले जानकारी दिए । उनका अनुसार मार्फाको साधुरो गल्ली भित्र जेरी फिल्म छायांकन भएकाले त्यहाको भित्री गल्लीलाई जेरी गल्ली नामाकरण गरिएको उनले बताए । मार्फामा ६ वटा डिस्टिलरी ,गुम्बा र वागवानी कषि फार्म छ ।घरपझोङको ठिनीमा सामुदायिक होमस्टे छन् । पर्यटक तथा चलचित्रकर्मी त्यहा पुगेर सस्कृतिमा रमाउने गर्छन । ठिनीको स्नोलियो पार्ट र यारुझो भ्यु टावरमा सडक पुगेकाले चलचित्रकर्मीलाई छायांकनमा सहज भईसकेको छ । सदरमुकाम जोमसोमको बीचमा कालिगण्डकी नदीको प्रवाहले घरपझोङको सौन्दर्यतालाई झनै घनिभुत बनाईदिएको छ ।


चलचित्र छायांकन हबको कुरा गर्दा मुस्ताङको वारागुङ मुक्तिक्षेत्र पनि प्रख्यात छ ।मुस्ताङमा छायांकन गर्न आएका निर्माता निर्दैशकको मुख्य प्वाईन्ट कागबेनी—मुक्तिनाथ सडकको माथि पहाडमा पर्छ ।चारैतिरको भुगोल र कालिगण्डकी नदी र मुक्तिनाथ खोलको दृष्यले कागबेनी डाडो चलचित्र हबको केन्द्र बनेको हो ।पछिल्लो समय पालिकाले सेर्थाङ सेल्फी पार्क समेत निर्माण गरेको छ ।चलचित्रको पर्दामा यहाको दृष्य लोभलाग्दो देखिन मुक्तिनाथका पर्यटन ब्यवसायी सुरज गुरुङले उल्लेख गरे ।उनका अनुसार मुक्तिक्षेत्रको झोङ,पुडाक,छेङ्गुर ,रानीपौवा र कागबेनी लगायतमा दर्जनौ चलचित्र छायांकन भईसकेको जानकारी दिए ।


यस्तै,पछिल्लो समय उपल्लो मुस्ताङमा पनि नेपाली चलचित्र छायांकन हुन थालेको छ । जेरी र सम्हालिन्छ कहिले मन लगायतका चलचित्र उपल्लो मुस्ताङमा छायांकन भएको हो । उपल्लो मुस्ताङमा अध्यागमन विभागले विदेशी पर्यटकलाई ५ सय डलर रोयल्टी लिने भएकाले विदेशी चलचित्र न्युन मात्र छायांकन भएको छ । उपल्लो मुस्ताङमा ड्रोन क्यामेरा उडाउन पूर्व अनुमती लिनु पर्ने हुन्छ । भौगोलिक रुपमाले बिकट मानिएको उपल्लो मुस्ताङको लोमान्थाङमा मुस्ताङी राजाको दरबार ,पर्खालले घेरिएको लोमान्थाङ बजार,कोरलानाका,छोसेर गुफा,लोघेकर गुम्बा,चराङ गुफा ,लुरी गुम्बा,चराङ गुम्बा,चिउसी गुफा आदी छन् ।

हिन्दुहरुको महत्वपूर्ण धार्मिक गन्तब्य दामोदरकुण्ड सडक स्तरोन्नति भईरहेकाले केही वर्षपछि त्यहा समेत चलचित्र छायांकन सकिने संम्भावना छ ।मुस्ताङको मौलिक कलासंस्कृति र यहाको भौगोलिक सौन्दर्यताले स्वदेशी तथा विदेशी चलचित्रकर्मी मुस्ताङ आउने क्रम बढ्दो छ । कोरोना कहरको अवस्था सुन्यमा रहेमा पर्यटकको साथै चलचित्रकर्मी मुस्ताङ आउने विश्वाश गरिएको छ ।

कोरोना कहर अघि सन् २०२१ मा थासाङको कोवाङमा तय गरिएको चलचित्र फेस्टिबल कोरोना कहरले स्थगित गरिएको छ । सो महोत्सवका लागि स्थानीय स्तरमा छलफल गर्न कलिउडकर्मीका साथै पूर्व पर्यटनमन्त्री योगेश भट्टराई मुस्ताङ आएका थिए । महोत्सवमा हलिउड,बलिउड र कलिउड चलचित्र हस्तीहरुलाई मुस्ताङ आमन्त्रण गर्ने योजना थियो ।

फोटो क्याप्सन ः
१ं)पर्यटकीय गाउ नाउरिकोट
२)उपल्लो मुस्ताङको लोमान्थाङमा तिजी मेला हेर्दै पर्यटक
३)चलचित्र चचहुईको छायांकनका क्रममा सडकमै खान पकाउने तयारी गरिदै ।
४)मुस्ताङको ढुम्बातालमा भारतीय चलचित्र तिरीमालीको छायांकन गरिदै
५)फिल्म महोत्सवको योजनासहित विदेशी टोली मुस्ताङमा

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया