नव क्रान्तिको स्वरूप तथा मार्गचित्र

समाधान संवाददाता २०७८ चैत ३० गते २०:१७

डा सञ्जय कोइराला
इतिहासमा कैयौं क्रान्ति भए । अनेकन क्रान्तिपश्चात हामी हालको आधुनिक युगमा प्रवेश गरेका छौं । संसारमा भएका विभिन्न किसिमका क्रान्तिलाई विश्लेषण गर्दा विभिन्न राज्यहरुमा भएका क्रान्तिहरुको स्वरुपमा केही न केही समानता देखिन्छ । फरकमात्र कालखण्डमा देखिएको छ । व्यवहारवादीहरुले मानवीय व्यवहारमा एक किसिमको क्रमिकता देखेको हुनाले नै राजनीतिक अध्ययनलाई वैज्ञानिक ढंगले विश्लेषण गर्नुपर्ने धारणा राखी अनेक सिद्धान्त प्रतिपादन गरेका छन् । हामी पश्चिमी सभ्यताको पछि लागिरहँदै गर्दा उनीहरुले इतिहासमा भोगेको, देखेको कुराहरुका साथसाथै नयाँ युगले देखाएको परिवर्तनको बीच रुमल्लिएको स्थिति रहेको छ ।

विश्वमा जति पनि राजनीतिक क्रान्ति भएका छन्, सबै सफल भएका भने छैनन् । माक्र्सवादलाई आफ्नो भूगोल अनुरुप परिमार्जन गरी लेनिनले बोल्चेविक क्रान्ति गरी रुसलाई सम्वृद्धितर्फ अघि बढाए । त्यस्तै माक्र्सवाद र लेनिनवादलाई आफ्नो अनुकूल परिमार्जन गरी माओले चीनमा क्रान्ति गरे । क्रान्ति सफल भयो तर माओ आफैंले डेलिभरी गर्न सकेनन् । नेपालमा पनि माओवादको नाम लिएर क्रान्ति गरेको माओवादीले ऐतिहासिक ढंगले क्रान्तिलाई निष्कर्षमा त पु¥याए तर जब सत्तामा पुगे, जनताले सोचेअनुरूप केही गर्न सकेनन् । यसो किन भयो त भनेर विश्लेषण गरेर पुनः जनतामाझ स्पस्ट मार्गचित्र लिएर आउनुपर्नेमा अहिले आफैं सत्ताको लोभमा फसेर पुरातन राजनीतिमै अल्झिन पुगेको छ माओवादी । अब फेरि यो देशको परिवर्तनको आसमा रहेका जनतालाई कसले बाटो देखाउला त ? यही जिज्ञासामा हाम्रो आशा पनि रहेको छ ।

हामी अहिले जुन अवस्थामा छौँ, अब यो अवस्थाबाट सुधारका लागि धेरै ठूलो क्रान्तिको आवश्यकता छैन । हामीले लोकतन्त्र प्राप्त गरिसकेका छौँ र यो नै अबको हाम्रो परिवर्तनको उद्गम हो । अब हामीलाई ठूलो राजनीतिक परिवर्तनको आवश्यकता छैन, आवश्यकता छ त मात्र एउटा बौद्धिक क्रान्ति को, जसले हालसम्मको उपलब्धिलाई जनभावना अनुसार संस्थागत गर्न सकोस् । लोकतन्त्रकै माध्यमबाट अब जुनसुकै परिवर्तन पनि सम्भव छन्, आवश्यकता छ त मात्र एक सार्थक प्रयासको । र, त्यसलाई नेतृत्व दिन सक्ने एक युगपुरुषको, जसलाई अहिलेसम्म हामीले धेरै जनामा खोज्ने प्रयास गरे पनि सार्थक हुन सकेको छैन ।

Advertisement

जनताले नै प्रत्यक्ष रुपमा कार्यकारी चुन्न पाउनुपर्छ र आवश्यक देखिएमा फिर्ता बोलाउन सक्ने व्यवस्था लागु गर्नुपर्छ ।

यो कुनै क्षणभरमै सम्भव हुने प्रक्रिया होइन, आजको भोलि या भोलिको पर्सि नै देखिने परिवर्तन हैन । यसको लागि सबैभन्दा ठूलो शक्ति भनेको समय हो र समयलाई प्रतीक्षा गर्न धैर्यको ठूलो आवश्यकता रहन्छ । इतिहासलाई केलाएर हेर्दा अब हाम्रो देशमा एउटा बौद्धिक क्रान्तिको आवश्यकता छ र यो विस्तारै सतहमा प्रस्फुटित हँुदै गएको छ । विभिन्न क्षेत्र, बिषय, पेशामा रहेका बौद्धिक व्यक्तित्वहरु विस्तारै राजनीतिमा चासो लिएर सहभागिताको पनि प्रयास गर्दै छन् । जुन एकदमै सकारात्मक प्रयास हो । अहिले चलिरहेको अटेरी अभियान एउटा सार्थक प्रयास हो र यसका लागि केही समय लाग्छ र धैर्यको ठूलो आवश्यकता रहनेछ । वर्तमान राजनीतिक गतिविधिबाट विरक्त भएर जुन अभियान सुरु हुँदै छ, यसलाई एउटा निस्कर्षमा पु¥याउन एउटा असल नेतृत्वको खाँचो रहेको छ ।

Advertisement

समाज र राष्ट्रको स्थापना मानव सुरक्षा र कल्याणका लागि भएको हो । सामाजिक मूल्य, मान्यताहरु सम्बन्धित मानवहरुको हितका लागि हुनु पर्छ । त्यही हितलाई संस्थागत गर्नु राजनीतिको प्रमुख उद्देश्य हो । यहाँ जुन हितको कुरा हुँदै छ यो रुसोले भनेको जेनेरल विल जस्तै सामाजिक हित हो । अहिले जे भइरहेको छ, त्यो व्यक्तिगत या स्वार्थ समूहगत हितका लागि भइरहेको छ । जुन राजनीतिको अनर्थ हो । यसो किन भइरहेको छ त भन्ने कुरा बुझ्नु एकदमै जरुरी रहेको छ । यसो हुनुमा स्वयम् हामी नै जिम्मेवार रहेका छौं । जुन कुराले हाम्रो जन्मदेखि मृत्यु्सम्म प्रत्यक्ष असर गर्छ, हामी त्यही कुराप्रति अनिच्छा देखाइरहेका छौँ । अधिकांश मानिसको यसप्रति रहेको घृणा नै ती समूहहरुका लागि बरदान सावित भइरहेको छ । जसले गर्दा केही सिमित व्यक्तिका अनुसार नै अधिकांश हामी परिचालित छौं ।

अब सोच्ने बेला भएको छ र बिस्तारै हामीमा सचेतना जागिरहेको पनि छ । राज्य र सरकार भनेको जनताको हित र सुरक्षाका लागि हो । जनताको तिर्ने करबाट सञ्चालन हुने राज्य संयन्त्र जनताप्रति उत्तरदायी हुनुपर्छ, नभए बनाउनुपर्छ । अहिले हाम्रो देशमा राज्यको तिनै संयन्त्रहरु स्वार्थगत रुपमा कार्य गरिरहेका छन्, व्यक्तिगत, समूहगत या पार्टीगत, व्यवस्थापकीय होस् प्रशासन होस् या न्यायालय जहाँ त्यही एफडब्लु रिग्सको साला मोडेलमा व्याख्या गरे जस्तै औपचारिकता, भ्रष्टाचार, परिवारवाद, आफन्तवाद जस्ता विकास विरोधी तत्वहरु हावी भइरहेका छन् ।

जनताले चुनेका, जनताको सेवा गर्न प्रतिस्पर्धाबाट आएका, जनतालाई न्याय दिने भनी जनताको करबाट सञ्चालित राज्यका यी अंग जनताका लागि होइन, जनताको बिरुद्धमा काम गरिरहेका छन् । जनताको रगत, पसिनाबाट संकलित राज्यको ढुकुटी आफ्नो स्वार्थ पूर्तिमा प्रयोग गर्ने मात्र होइन, अझै तिनै जनातालाई नै दुःख दिएर अझै जनतालाई नै चुस्ने काममा अभ्यस्त छन् । जनताले पाउनुपर्ने नैसर्गिक अधिकारमा पनि यहाँ भ्रस्टाचार भइरहेको छ ।

यस्तो भइरहेको थाहा हुँदाहँुदै पनि हामी यही संयन्त्रलाई मौन समर्थन पनि गरिरहेका छौँ । आफ्नो अधिकारको चेतना हामीमा आउनु जरुरी छ । राजनीति भनेको ढुंगामुढा गरेर, पढाइ छाडेर, होहल्ला गरेर, गुन्डागर्दी गरेर, ठेक्कापट्टा गरेर, छलकपट गरेरमात्र जान्ने भन्ने मानसिकता त्यागेर हरेक विधाका दक्ष र योग्य जनशक्तिले पनि चासो दिएर सके परिवर्तनमा प्रत्यक्ष, नभए पनि अप्रत्यक्ष सहभागी भएर एउटा बौद्धिक आन्दोलन गर्नु पर्छ । भएन भनेर, गरेनन् भनेर अरुलाई दोष दिएरमात्र हुँदैन । आफूले गर्नुपर्ने कर्तव्य पनि निभाउनु जरुरी छ । ५ वर्षमा प्रयोग गर्न पाउने आफ्नो अधिकार पनि प्रयोग नगर्ने अनि उसले गरेन भनेर गाली गर्ने अधिकार हामीलाई कदापि छैन । अब हामीले हाम्रा प्रतिनिधि छान्दा हाम्रा होइन, राम्रा रोजौं । जसले देश विकासका लागि स्पष्ट मार्गचित्र दिन सक्छ, उसैलाई छानौं ।

मेरो विचारमा देश विकासका लागि तलका केही उपाय अबलम्बन जरुरी छ ।
१. संघीयता हाम्रो जस्तो सानो देशका लागि किमार्थ आवश्यक छैन । यो राजनीतिक भागबन्डामा सबैलाई भाग पुग्ने गरी कोटा बढाउने कार्यका लागि मात्र ल्याइएको हो । यो विदेशी इसारामा देशलाई टुक्रयाउन सहज हुने उद्देश्यले लादिएको व्यवस्था हो । जनमत संग्रहद्वारा संघीयता र धर्म निरपेक्षताको फैसला जनताले नै गर्न पाउनु पर्छ । हाम्रो जस्तो सानो मुलुकले यो व्यवस्था धन्न नसकिने लगभग अहिलेको अर्थतन्त्रले पुष्टि गरिसकेको अवस्था छ ।
२. भूगोल र जनसंख्याको हिसाबले हेर्दा हामी कहाँ भएको प्रत्यक्ष र समानुपातिकको ठूलो संख्याका संघीय र प्रदेश सांसद देशलाई आवश्यक छैन । यो संख्यामा भारी कटौती गरिनु पर्छ ।
३. प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था हुनुपर्छ । जनताले नै प्रत्यक्ष रुपमा कार्यकारी चुन्न पाउनुपर्छ र आवश्यक देखिएमा फिर्ता बोलाउन सक्ने व्यवस्था लागु गर्नुपर्छ ।
४. शिक्षामा आमूल परिवर्तन, शिक्षामा राजनीतिकरण न्यूनीकरण गरेर राजनीतिक नियुक्ति सबै भंग गरी पुनः एकपल्ट सबै शिक्षकको परीक्षा लिने, विद्यार्थीको संख्या न्यून भएका विद्यालयलाई समायोजन गर्ने र निरीक्षण प्रणाली मजबुत बनाउने, शिक्षकको तलब, भत्ता समयसापेक्ष गरी सम्मानजनक बनाउने ।
५. स्वास्थ्य क्षेत्रमा पनि शिक्षामा जस्तै आमूल परिवर्तन जरुरी छ । सरकारी स्वास्थ्य संस्थाहरु नै पूर्ण सुविधायुक्त हुनुपर्छ ।
६. सबै सरकारी संस्थामा पनि आमूल परिवर्तन, प्रविधि मैत्री, जनताप्रति उत्तरदायी, राजनैतिक हस्तक्षेप न्यूनीकरण जरुरी छ ।
७. सुरक्षा र न्याय प्रणालीमा राजनीतिक हस्तक्षेप बन्द गरी राजनीतिक व्यक्तित्वलाई पनि उनीहरुको भय हुने वातावरण बनाउनुपर्छ ।
८. जनताले तिरेको करले जनतालाई सरकारी सुविधा सहजरुपमा उपलब्ध गराउने, आफैं कर तिर्न मन लाग्ने अवस्था सिर्जना गर्नुपर्छ ।
९. आधारभूत शिक्षा र स्वास्थ्यको जिम्मेवारी सरकारले नै लिनुपर्छ ।
१०. सबै विकास, निर्माणका कार्यमा जनताले आफ्नै लागि हो भन्ने सोचेर आफैंले निरीक्षण गरी निर्माण व्यवसायीलाई उत्तरदायी बनाउनु जरुरी छ ।
११. कानुन र संविधान भन्दा माथि कसैलाई जान नदिने ।
१२. जनप्रतिनिधिको अनावश्यक सेवा, सुविधा कटौती गर्ने ।

अब कोही पनि भोट माग्न आउँदा उल्लिखित बुँदामा प्रतिबद्धता गर्न लगाऔं । एकपल्ट अवसर दिऊँ, पुरातनवादी सोच छोडौं, परिवर्तनलाई अंगालौं । भएन, गरेनन् भनेर नबसौं, परिवर्तन गर्न अघि बढौं ।

नाक, कान, घाँटी रोग विशेषज्ञ डा कोइराला राजनीतिशास्त्रमा स्नातकोत्तर गर्दै छन् ।

तपाईको प्रतिक्रिया