कोरोनाः सतर्क बनौं, हल्ला नचलाऔं

चीनको हुबेई प्रान्तबाट सुरु भएको नोवेल कोरोना भाइरसबाट धेरै आतंकित बनेका छन् । यसबाट अहिलेसम्म चीनमै ४ सय जनाभन्दा बढीको मृत्यु भइसकेको छ । ७ हजारभन्दा बेसीमा भाइरसको संक्रमण देखा परेको छ । विश्वका २० हाराहारी देशमा यो भाइरस देखा परेको छ । नेपालमा चीनबाट आएका १ जनामा भाइरस देखिएको भनेर ती बिरामीको निगरानी गरिएको छ । उपचारमा राखिएको छ । कोरोना भन्ने भाइरस यसअघि पनि देखा परेको हो, तर यसपालिको चाहिँ नयाँ भएकाले नोवेल कोरोना भनिएको छ । यही भाइरसका कारण संसारभरि र खास गरी नेपालमा पनि मानिस ठूलो चिन्ता र चासो मात्रै छैन, १ किसिमको आतंक पनि मच्चिएको छ । विश्व स्वास्थ्य संगठनले पनि स्वास्थ्य आपतकाल घोषणा १७ माघमा गरेपछि झन् आतंकित बनाएको छ ।
चिकित्सकले नै बताइरहेका छन् कि कोरोना भाइरस लाग्दैमा मान्छेको मृत्यु भइहाल्दैन । मृत्युको सम्भावना ३ प्रतिशतमात्रै छ । योभन्दा ज्यादा मृत्युको सम्भावना भएको इबोला भाइरस अफ्रिकी महादेशमा फैलिँदा पनि स्वास्थ्यको आपतकाल घोषणा भएको थिएन । कोरोनाका हकमा भने त्यसो हुँदा मानिसमा संत्रास अलि बढी नै देखिएको छ । चीनमा यो रोग देखा परेका कारण आतंक सिर्जना गरी चीनलाई हतोत्साह गर्न खोजिएको आरोप पश्चिमा मुलुकमाथि लागेको छ । चीनले पत्रकार सम्मेलन गरी यस्तो आरोप लगाएको छ । सुपर पावरका रुपमा उदीयमान चीनको अर्थतन्त्रमा यो रोगको असर प्रत्यक्ष परिसकेको छ । उसको प्रगतिमा डाडे अमेरिकाले बढी कोकोहोलो मच्चाएको भन्ने आरोप पूर्णतः असत्यचाहिँ छैन । यस दृष्टिबाट समेत हेरी कोरोनाबाट अनावश्यक मात्रामा हामी नेपाली पनि त्रसित भयौं कि सोच्नुपर्छ ।
ज्वरो आउनु, सास फेर्न अप्ठेरो हुनु र छातीमा संक्रमण हुनु कोरोनो भाइरसको मुख्य लक्षण हो । रुघाखोकी जस्तै लक्षण देखिने भाइरस श्वासप्रश्वास, १ जनाले प्रयोग गरेको सामान वा रुमाल प्रयोग गर्दा, हात मिलाउँदा सर्न सक्ने चिकित्सकले बताउँदै आएका छन् । तसर्थ त्यस्तो कर्मबाट सचेत रहनुपर्छ । यसको नियन्त्रणका लागि तत्कालै पहिचान गर्ने, त्यसलाई व्यवस्थापन र निदानात्मक उपाए अपनाउने, संक्रमित व्यक्तिको नजिकका मान्छे खोजेर उनीको निगरानी गर्ने जस्ता उपाय अपनाउनुपर्नेमा चिकित्सकको सुझाव ग्रहण गरी व्यवहारमा उतार्नुपर्छ । कोरोना भाइरसको डरकै कारण चीनसँगका नेपाल सरकारले सीमा नाका बन्द गरेको छ । आगन्तुकको जाँच पनि गरिरहेको छ । पोखरा लगायत ठाउँमा सहायता कक्ष खुलेका छन् । जसरी सरकारले आफ्नो ठाउँबाट सतर्कता अपनाएको छ, व्यक्ति व्यक्तिले पनि आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्छ । तर सामाजिक सञ्जाल लगायतमा अनावश्यक हल्ला मच्चाउने खालका गलत जानकारी नराख्नु हितकर हुन्छ । हल्लाकै भरमा पोखरा जस्ता पर्यटकीय सहरमा पर्यटक आगमन गिरेको छ । यसको असर यहाँको अर्थतन्त्रमा पर्छ र सबै नेपालीको जीवनमा प्रतिबिम्बित हुन्छ । सबैलाई नोक्सान पुर्याउँछ । त्यसैले कोरोनाको भाइरसबाट बच्न चिकित्सकको सल्लाह मुताविकका काम गरौं । सचेत बनौं । तर अनावश्यक आतंकित नबनौं । अरुलाई आतंकित नपारौं ।






औषधीको जेनेरिक नाम उल्लेख गर्न नागरिक अभियानको माग
स्याङ्जाको सिडिओ कार्यालयले जग्गा प्रयोग गरेबापत श्रेष्ठलाई १ करोड रुपैयाँ क्षतिपूर्ति
कालिका बहुमुखी क्याम्पसका गौतमलाई उत्कृष्ट क्याम्पस प्रमुखको सम्मान
लेखा दिवस मनाइयो
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
मन लोभ्याउने पुनहिल
पोखरामा रातिसँगै बसेर रक्सी खाए, तेस्रो भेटमै हत्या गरे
तपाईको प्रतिक्रिया