विदेशी भूमि हैन, स्वदेशकै माटाेमा बग्छ अब पसिना

समाधान संवाददाता २०७७ जेठ ८ गते ६:२०


भरत कोइराला
पोखरा, ८ जेठ

रोजीरोटीका लागि युवा विदेशिन थालेपछि गाउँको खेतीयोय जमिन बाँझिएको छ । खेती गर्नुभन्दा बेसाहा भित्र्याउन सजिलो हुने भएकाले दोकानकै नजिक बसाइँ सर्ने पनि कम छैनन् । घरबारी झाडिएको छ तर धनिया र खुर्सानीका लागि पनि भारतीय उत्पादनमा भर पर्नुपर्छ ।


स्याङ्जाको फेदीखोला गाउँपालिका अध्यक्षमा चुनिएर आएपछि घनश्याम सुवेदीको मुख्य लक्ष्य थियो, बाँझो जमिनलाई हराभरा बनाउने । अनि कृषिमा परनिर्भरता घटाउने । त्यही अनुसार सुरुदेखि नै काम गर्दा पनि कृषिमा लक्ष्य हासिल गर्न कठिन थियो । फेदीखोलाको लक्ष्य पूरा गर्न अहिले कोभिड १९ गतिलो बहाना बनेको छ ।

Advertisement

पालिकाभित्र बाँझो रहेको जग्गामा खेती गर्ने किसानलाई अनुदानको कार्यक्रम ल्याएको छ । खेतीयोग्य जमिन बाँझै राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्न किसानलाई कृषि पेसाप्रति आकर्षित गर्ने उद्देश्यले अनुदानको नीति लिएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताए ।
सुवेदीकै भनाइमा गाउँपालिकाभर अहिले खेतीयोग्य २ हजार ७ सय रोपनी जग्गा बाँझो छ ।


विदेशमा रहेकामध्ये स्याङ्जाकाे फेदीखाेलाका ४ सय २४ जनाले गाउँ फर्केर उद्यम गर्न अनलाइनमार्फत् आवेदन दिएका छन्

Advertisement

पहिलो चरणमा १ हजार ७ सय रोपनी जग्गालाई यो अभियानमा समेट्ने लक्ष्य पालिकाकाको छ । ‘खेतीयोग्य जमीन बाँझो हुन नदिन सके पालिकालाई खाद्यान्नमा आत्मनिर्भर बनाउन अनुदानको कार्यक्रम ल्याएका हौं । त्यसो त पालिका अहिलेसम्म कुखुराको मासु र अन्डामा मात्र आत्मनिर्भर छ,’ अध्यक्ष सुवेदीले भने, ‘खाद्यान्न ६ महिनाका लागि मात्र पुग्छ । तरकारीको उत्पादन अहिले विस्तारै बढ्दैछ । बेमौसमी तरकारी खेतीका किसान आकर्षित भइरहेका छन् ।’

अनुदानका बारेमा फेदीखाेला गापाले निकालेकाे सूचना


२ वर्षदेखि बाँझो रहेको आफ्नै जग्गामा धानखेती गर्ने किसानलाई पालिकाले रोपनीको ४ हजार रुपैयाँ अनुदान दिने भएको छ । आफ्नै जग्गामा कोदोखेती गर्नेलाई प्रतिरोपनी २ हजार र भाडामा लिएर धानखेती गर्नेलाई ५ हजार अनुदान दिइने छ । दलहन वा तरकारी खेती गर्नेलाई २ हजार ५ सय अनुदान दिइने गाउँपालिकाले जनाएको छ ।

अनुदानका लागि लालपुर्जा, नागरिकताको प्रतिलिपि, लालपुर्जाको प्रतिलिपी र लिज र भाडामा लिएको भए सम्झौता पत्र र लिनेदिनेको नागरिकताको प्रतिलिपी पेस गर्नुपर्नेछ ।

यो योजनाका लागि पालिकाले ३५ लाख रुपैयाँ खर्च गर्दैछ । आन्तरिक स्रोत र भूमिकरबाट पाप्त रकम यसमा खर्च गरिने अध्यक्ष सुवेदीले बताए । १५ दिनका म्याद राखेर जारी गरिएको सूचना हेरेर २ दिनमा ५० जनाले अनलाइनमार्फत् आवेदन दिएसकेका छन् । अध्यक्ष सुवेदीले भने, ‘सम्भाव्यता अध्ययन गरेर नै यो कार्यक्रम ल्याएका हौं, पक्कै सफल हुन्छौं ।’

साढे ४ सय युवा विदेशबाट फर्किंदै

वैदेशिक रोजगारीमा गएका युवालाई पालिकामै फर्काउन पनि फेदीखोलाले अभियान नै चलाएको छ । विदेशबाट फर्किएका र कोरोना रोकथामपश्चात फर्किने युवाको समेत अहिले तथ्यांक संकलन लिइरहेको छ ।

विदेशबाट फर्कने युवालाई सामूहिक कृषि, पशुपालन र कुटिर उद्योगमा लाग्न प्रोत्साहन गरिने गाउँपालिकाको नीति छ । विदेशमा रहेकामध्ये हालसम्म ४ सय २४ जनाले पालिकामा फर्केर उद्यम गर्न चाहेको भन्दै अनलाइनमार्फत् आवेदन दिएका छन् । कोरोना संक्रमणकै कारण रोजगारी गुमाएका उनीहरु स्वदेश फर्कन पाएका छैनन् ।

युवालाई गाउँमै टिकाउन गाउँपालिकाले बीउ र मलमा अनुदान समेत दिन थालेको छ । विदेशबाट फर्केका र फर्कने युवालाई लक्ष्य गरी पालिकाले युवा रोजगार बैंक सञ्चालन गरेको छ ।

विदेशबाट फर्कने युवालाई व्यावसायिक कृषि र उद्यममा लाग्न यो बैंकमार्फत सहयोग गरिने सुवेदीले बताए । यसका लागि पालिकाले २ करोड रुपैयाँ लगानी गर्ने छ । युवा रोजगार बैंकमार्फत् काम गर्दा समूहमा कम्तीमा ५० प्रतिशत महिला हुनुपर्ने प्रावधान छ । यो योजनामा कम्तीमा ५ लाख रुपैयाँ बिना ब्याज र बिना धितो ऋण पालिकाले उपलब्ध गराएको छ ।

युवा रोजगार बैंक योजना अन्तर्गत १ दर्जन कृषि समूहले ६० लाख रुपैयाँ लगिसकेका छन् । आम्दानीका आधारमा ५ वर्षमा गाउँपालिकालाई उक्त रकम फिर्ता गर्ने र पालिकाले अर्को समूहमा लगानी गर्ने पालिकाको नीति छ ।

कृषि एम्बुलेन्स प्रभावकारी
कोरोना महामारीको डरले लकडाउन सुरु भएसँगै फेदीखोलाका किसानले उपज बेच्न पाएनन् । किसानको समस्यामा पालिकाले तत्काल चासो देखायो । यसका लागि कृषि एम्बुलेन्स प्रभावकारी भयो । किसानकै खेतबारीमा पुगेर पालिकाले कृषि उपज किनिदियो र बजारमा बेच्ने प्रबन्ध मिलायो ।

किसानको उपज खेतबारीमै कुहिने र उपभोक्ताले ताजा तरकारी खान नपाउने अवस्था फेदीखोलामा आउनै पाएन । चैत १९ पालिकाले थालेको यो अभियान अन्तर्गत हालसम्म साढे ३ लाख रुपैयाँको कृषि उत्पादन बिक्री गरिएको अध्यक्ष सुवेदीले बताए । पनिर, रायो, तोरीको साज, काउली, गोलभेंडा, फर्सी, बन्दा बेथेको साग, बकुल्ला सिमी लगायतका उत्पादन पालिकाले बिक्री गरिदिएको छ ।

बजारमा तरकारी अभाव हुँदा गाउँपालिकाभित्रकै पसलमा किसानसँग लिएकै मूल्यमा बिक्री गर्ने व्यवस्था मिलाइएको छ । पालिकामा नबिकेका उपज कृषि एम्बुलेन्समार्फत् पोखराको बजारमा ल्याएर बिक्री गरिएको छ ।

तपाईको प्रतिक्रिया